November 8th, 2017

सेयरको अनलाइन कारोबार अझै अनिश्चित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन अझै समय लाग्ने भएको छ । यसअघि नेप्सेले मंगलबारदेखि अनलाइन कारोबार गर्ने घोषणा गरेको थियो ।  नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले मंगलबारदेखि नेप्सेको कारोबार प्रणाली पूर्ण स्वचालित हुने बताउँदै आएका थिए । तर, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने अनलाइन कारोबार प्रणालीका लागि अझै केही समय लाग्ने बताएका हुन् । “पहिलाको व्यवस्थापनले तोकेको समयमा नयाँ नेतृत्वले काम गरेन भन्ने नहोस्,” साउदले भने, “विगत केही महिना अनलाइन कारोबारसम्बन्धी काम हुन नसक्दा ढिला हुने भएको हो ।”


नेप्सेका आइटी प्रमुख निरञ्जन नायकले कारोबार प्रणालीलाई अनलाइन बनाउने काम भइरहेको बताए । नेप्सेको नयाँ कारोबार प्रणालीका १६ वटा मोडल रहेकाले सबैको विस्तृत अध्ययन गर्दै काम गर्दा केही ढिला भएको उनको भनाइ छ । “तदारुकताका साथ काम भइरहेको छ,” उनले भने, “अन्तर्राष्ट्रियस्तरको कारोबार प्रणाली भएकाले हाम्रोमा काम हुने सिस्टमलाई निष्क्रिय बनाउनेदेखि विस्तृत परीक्षण गर्दा समय लागेको हो ।” नेप्सेको कारोबार प्रणली अनलाइनमार्फत हुने समयावधि निश्चित गर्न नसकिने भन्दै साउदले भेन्डर कम्पनीसँग १४ महिनाका लागि भएको समयावधीको करार गरेकाले त्यो अवधिसम्ममा सञ्चालनमा आउने जानकारी दिए । दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउन अनलाइन कारोबार प्रणालीका लागि काम भइरहेको उनको भनाइ थियो ।
बाइसीओ प्राइभेट लिमिटेडसँग १४ महिनाभित्र परियोजना सम्पन्न गर्ने गरी सम्झौता भएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा परेका उजुरी तथा अदालती मुद्दाका कारणले परियोजना अगाडि बढ्न सकेको थिएन । ०७४ साल वैशाख ६ गतेबाट लागू भई १४ महिनाभित्र सो कम्पनीले नेप्सेलाई सिस्टम उपलब्ध गराउने काम सुरु भएको साउदले बताए । सो क्रममा कम्पनीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा स्वतन्त्र विज्ञसहितको एसआरएस डकुमेन्ट अध्ययन समितिको प्रतिवेदन अध्ययन गरी स्वीकृत गर्ने चरणमा पुगेका उनले बताए ।


अनलाइन सिस्टमका लागि नेप्सेले आवश्यक हार्डवेयर प्राप्त गरिसकेको छ । धितोपत्र दलालमार्फत मार्जिन कारोबार गर्ने÷गराउने सन्दर्भमा नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएस एन्ड क्लियरिङ तथा सदस्य दलालहरूबीचमा छलफल भएको उनले बताए । नेपाल धितोपत्र बोर्डबाट ‘मार्जिन कारोबारसम्बन्धी निर्देशन, २०७४’ जारी भइसकेको छ । ‘लगानीकर्तासँग नेप्से’ नामको कार्यक्रम सञ्चालन गरी सबै प्रदेशमा जनचेतनाको कार्यक्रम गर्ने योजना रहेको साउदले जानकारी दिए । कारोबार दैनिकमा प्रकाशित समाचार 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]