November 3rd, 2017

‘हलोदेखि हाइड्रोसम्म’का योजनाकारले कस्तो बनाउलान् ‘सेञ्चुरी बैंक’ ?  

रोयल आचार्य/बैंकिङ खबर – ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका योजनाकार अनिल केशरी शाहले अब सेञ्चुरी कमर्शीयल बैंकको नेतृत्व गर्ने भएका छन् । हाल मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शाहले सेञ्चुरी बैंकमा जाने औपचारिक सहमति भइसकेको बैंकिङ खबरलाई बताए । ‘सेञ्चुरी कमर्शीयल बैंकमा जानका लागि औपचारिक सहमति भइसकेको छ’ बैंकिङ खबरसँग कुरा गर्दै बैंकर शाहले भने– ‘बैंक तथा वित्तीय संस्था ऐन अनुसार २ कार्यकाल भन्दा बढी एउटै बैंकमा काम गर्न नपाइने भएकाले म मेगा छाडेर सेञ्चुरी जाँदैछु ।’ मेगा बैंकलाई सहि दिशामा हिडाउनका लागि बैंकको टिम दह्रो भएको समेत उनले प्रतिक्रिया दिए । 

कस्तो बनाउलान् सेञ्चुरी बैंक ?  
आगामी पुस १७ गतेदेखि सेञ्चुरी बैंकमा कार्यभार सम्हाल्ने शाहले बताए । आगामी पौष दोस्रो साता मेगा बैंक छाड्ने शाहले तयारी गरेका छन् । सेञ्चुरी बैंकको विहीबार बसेको संचालक समितिले शाहलाई नयाँ सिईओ नियुक्त गर्ने औपचारिक निर्णय समेत गरिसकेको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमल्सिनाले राजिनामा गरेपछि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका शाहले त्यहाँ दुई कार्यकाल पुरा गरेपछि सेञ्चुरी जान लागेका हुन् ।

सेञ्चुरी बैंकलाई अघि बढाउने लक्ष्य
सेञ्चुरी कमर्शीयल बैंकमा जाने औपचारिक सहमति गरिसकेका बैंकर शाहले नेतृत्व सम्हालीसकेपछि सेञ्चुरीलाई कसरी अगाडी बढाउछन् त ? भन्ने चासोको बिषय बनेको छ । सेञ्चुरीलाई कसरी अघि बढाउने भन्ने बिषयमा योजना बनाउन बाँकी रहेको बैंकर शाहले बताए । ‘सेञ्चुरी बैंकलाई अघि बढाउन कस्ता योजना बनाउनु भएको छ ?’ भन्ने बैंकिङ खबरको प्रश्नमा बैंकर शाहले भने– ‘सेञ्चुरीलाई कसरी अघि बढाउने भन्ने योजना अहिले बनाएको छैन, सेञ्चुरीमा गएपछि त्यहाँको टिमसँग छलफल गरेर सबैको राय सुझाव लिएर योजना बनाउँछु ।’ 

मेगा बैंकमा छँदा के गर्न भ्याए, के गर्न भ्याएनन् ?
मेगा बैंकमा छँदा आफूले धेरै काम गरेको र केहि काम बीचमै छाडेर जानुपर्ने बाध्यता आइपरेको बैंकर शाहले बताए । ‘हलोदेखि हाइड्रोसम्म भन्ने नारासहित सबै नेपालीको बैंक बन्ने लक्ष्य लिएर मेगा बैंकको स्थापना भएको थियो’ बैंकिङ खबरसँग बैंकर शाहले भने ‘आजका दिनसम्म आइपुग्दा त्यो लक्ष्य पुरा भएको जस्तो मलाई लाग्छ । साना–साना उद्योग धन्दादेखि लिएर ठुला ठुला उद्योगसम्ममा हामीले लगानी गरेका छौँ ।’ 
शाखा, एटिमएम, ब्रान्चलेन्स बैंकिङ र रेमिट्यान्सको नेटवर्क हेर्दा नेपालको अधिकांश स्थानमा मेगा बैंकको पहुँच पुगिसकेको बताउँदै शाहले टुरिमज डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया लगायतका काम बिचमै छाडेर जानु परेको बताए । 

बैंकिङ क्षेत्रमा अनिल शाह
नेपालका सेलिब्रेटी बैंकर भनेर चिनिले अनिल केशरी शाह हाल मेगा बैंक नेपाल लिमिटेडका सिईओ छन् । बैंकिङ क्षेत्रका बादशाह मानिने उनी डाइनामिक व्यक्तित्वका कारण सँधै चर्चामा छन् । स्वदेशमै बसेर देशका लागि केही गरौँ भन्ने भावना भएका शाह बैंकिङ चेतना अभिवृद्धिमा पनि लागीपरेका छन् । मेगा बैंकमा हलोदेखि हाइड्रोसम्म भन्ने नारा ल्याएर पनि उनले चर्चा बटुलेका थिए । आकर्षक किसिमका नयाँनयाँ नाराहरु ल्याएका अनिल केशरी शाहले उक्त नारालाई कार्यान्वयनमा ल्याउन भने सकेको देखिँदैन । साथै, मेगा बैंकलाई अत्याधिक फाइदामा लैजान नसकेका कारण पनि पछिल्लो समय उनको आलोचना हुन थालेको छ । 

अनिल शाहको विगत
भीरकोटे राजा तारकबहादुर शाहका नाती हुन् अनिल केशरी शाह । उनकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत हुन् । उनका पिताको नाम डा. नारायण केशरी शाह हो । हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले दिल्ली युनिभर्सिटीबाट एमबिए गरेका छन् । उनले मार्के्िटङ विषयमा पनि स्नातकोत्तर गरेका छन् ।

वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए)का अध्यक्ष समेत रहेका अनिल केशरी शाहको बैंकिङ करिअर काठमाडौँस्थित कान्तिपथमा रहेको इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बाट सुरु भएको थियो । त्यहाँ उनले वित्तीय विश्लेषक भएर काम गरे । व्यवसायिक रुपमा बैंकिङ भने तत्कालिन नेपाल ग्रिण्लेज अर्थात अहिलेको नेपाल स्टान्डर्ड चार्टर्ड बैंक नेपालबाट सुरु गरेका हुन् । त्यहाँ १३ वर्ष काम गरेका उनी प्रमुख सञ्चालक अधिकृत (सिओओ) सम्म भएका थिए । त्यसपछि उनी नबिल बैंकमा महाप्रवन्धकमा रुपमा छिरे । पछि प्रमुख कार्यकारी अधिकृत भएर बाहिरिए । नबिल बैंकमा उनले छ वर्ष बिताए । केही बर्षदेखि उनी मेगा बैंक नेपालमा प्रमुख कार्यकारी अधिकृत छन् । 

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा एनबिएको वरिष्ठ उपाध्यक्ष भइसकेका थिए । नबिल छाडेर केही समय खाली भएपछि उनी एनबिएबाट वाहिरिएका थिए । बैंकिङ क्षेत्रमा नभएको प्रमुख कार्यकारी एनबिएको सदस्य नहुने विधानको व्यवस्था अन्तर्गत उनी वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै त्यहाँबाट बाहिरिएका थिए । पछि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि उनी सदस्य हुँदै फेरि वरिष्ठ उपाध्यक्ष बनेका उनी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चुनिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]