Sunday , December 17 2017

मुलुकको अर्थतन्त्रप्रति आशावादी देखियो राष्ट्र बैंक, यस्तो छ ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ 

October 30, 2017

मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाप्रति नेपाल राष्ट्र बैंक आशावादी देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को दुई महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । 

हेर्नुहोस्, राष्ट्र बैंकको समीक्षा जस्ताको तस्तै :

आर्थिक परिदृश्य 
१. बाढी र डुवानबाट कृषि उत्पादनमा क्षति पुगेको भएता पनि धानबालीमा भएको क्षति न्यूनिकरण गर्न नेपाल सरकारबाट चालिएका कदमहरुका साथै पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेकोले कृषि क्षेत्रको वृद्धिमा सहयोग पुग्ने अपेक्षा छ । 
२. समीक्षा अवधिमा उर्जा आपूर्तिमा सुधार आएको तथा कच्चा पदार्थको आपूर्ति समेत नियमित रहेकोले उद्योगहरुको क्षमता उपयोगमा विस्तार भएको अनुमान रहेको छ । साथै, केही जलविद्युत आयोजनाको निर्माण कार्य यही आर्थिक वर्षमा सम्पन्न हुने भएकोले राष्ट्रिय प्रसारण लाइनमा थप विद्युत जडान हुने र यसबाट औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति बढ्ने देखिन्छ । 
३. समीक्षा अवधिमा होटल वेड अकुपेन्सी दरमा वृद्धि भएको र होटल वुकिङ्ग एवम् होटल तथा रेष्टुरेण्टको दर्ता उत्साहप्रद रहेकोलेपर्यटन क्षेत्रको वृद्धि सन्तोषप्रद हुने अनुमान छ । 
४. आगामी मंसीर १० र २१ गतेको लागि निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । निर्वाचनको कारणले उपभोग खर्चमा वृद्धि हुने, समग्र आन्तरिक माग बढ्ने र यसबाट उपभोक्ता एवम् लगानीकर्ताको आत्मवलमा सुधार आई आर्थिक वृद्धि गतिशिल हुने देखिन्छ । 
५. व्यवस्थापिका संसदबाट हालै अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ का साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ र कर्मचारी समायोजन विधेयक पारित भएका छन् । यी कानूनी व्यवस्थाले स्थानीयस्तरको पुँजीगत खर्च वृद्धि हुने र देशव्यापी रुपमै आर्थिक क्रियाकलापहरुमा विस्तार हुने अपेक्षा रहेको छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

६. २०७४ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत रहेकोमा सोही महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले तरकारीको मूल्यमा उच्च वृद्धि भएको कारण २०७४ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७.९ प्रतिशतको तुलनामा भने समीक्षा अवधिको मुद्रास्फीति कम हो । 

खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ७.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.७ प्रतिशत र मसलाको मूल्यमा ४.२ प्रतिशतले कमी आएको कारण समग्र खाद्य मुद्रास्फीति अघिल्लो वर्षको भन्दा न्यून रहन गएको हो । समीक्षा अवधिमा तरकारीको मूल्य ८.९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ८.८ प्रतिशतले वृद्धि भएको छ । 

गैर–खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ८.१ प्रतिशत रहेको थियो । लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
९. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, पहाडमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.५ प्रतिशत, तराईमा ७.४ प्रतिशत, पहाडमा १०.३ प्रतिशत र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१०. २०७४ भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.१ प्रतिशत रहेको छ । २०७४ वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ७.९ प्रतिशत र ४.३ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.६ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.६ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ७.९ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.९ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
१२. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ५.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १५.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ३.७ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः १०.६ प्रतिशत, ५.८ प्रतिशत र ०.८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २.८ प्रतिशत, ६.३ प्रतिशत र २.१ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१३. आर्थिक बर्ष २०७४/७५ को प्रथम दुई महिनामा कुल वस्तु निर्यात ३ प्रतिशतले बढेर रु. १३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ ३.३ प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ४४.६ प्रतिशत र अन्य मुलुकतर्फ ९.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पशु आहार, धागो, तयारी पोशाक, पिना, वनस्पती घ्यू लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैची, उनी गलैचा, जि.आई. पाइप, टूथपेष्ट लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

१४. समीक्षा अवधिमा कुल वस्तु आयात ११ प्रतिशतले बढेर रु. १६५ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ८.१ प्रतिशत, चीनबाटको आयात २६.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १०.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, सुन, सिमेन्ट, सञ्चारका साधन तथा पूर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपूर्जा, खाने तेल, चाँदी, सेनीटरी वेयर्स, विद्युतीय सामाग्री लगायतका वस्तुहरुको आयात घटेको छ । 
१५. भन्सार नाकाका आधारमा बीरगञ्ज भन्सार, सुख्खा बन्दरगहा भन्सार, भैरहवा भन्सार, कृष्णनगर भन्सार र कैलाली भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ भने अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र कन्चनपुर भन्सारबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१६. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ११.८ प्रतिशतले बढी रु. १५१ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४८.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१७. आर्थिक वर्ष २०७४/७५ को दुई महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा वार्षिक बिन्दुगत आधारमा कुनै परिवर्तन नभएको तर आयात मूल्य सूचकाङ्कमा ४.४ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ४.२ प्रतिशतले हृास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात २२.५ प्रतिशतले बढेकोथियो । पेट्रोलियम पदार्थ, टायर, एसिड लिड व्याट्री, सवारी साधन, बिस्कुट लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएको कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
१८. समीक्षा अवधिमा कुल सेवा आयमा ४.५ प्रतिशत र कुल सेवा खर्च ९.२ प्रतिशतले बढेको कारण खुद सेवा आय घाटा रु. ६ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ५ अर्ब ३१ करोडले घाटामा रहेको थियो । 
१९. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा ८.२ प्रतिशतले वृद्धि भई रु. ८ अर्ब ११ करोड पुगेको छ । अघिल्लो बर्ष यस्तो आय ३३.१ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
२०. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढी रु. ११५ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.४ प्रतिशतले वृद्धि भई रु. १३० अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३.७ प्रतिशतले बढेको थियो । 
२१. वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुन श्रमस्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
२२. अघिल्लो वर्षको पहिलो दुई महिनामा रु. ११ अर्ब १२ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. १७ अर्ब ८८ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पहिलो दुई महिनामा रु. ३ अर्ब ५० करोडले घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ५ अर्ब ८७ करोडले घाटामा रहेको छ । 
२३. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. १ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ५ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. १ अर्ब ५४ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. २ अर्ब १९ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२४. २०७४ असार मसान्तमा रु. १०७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ भदौ मसान्तमा रु. १०७९ अर्ब ९७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ भदौ मसान्तमा ०.४ प्रतिशतले कमी आई रु. ९२३ अर्ब ९८ करोड पुगेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब २६ करोड रहेकोमा २०७४ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भई रु. १५५ अर्ब ९९ करोड पुगेको छ । २०७४ भदौमसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२५. आर्थिक वर्ष २०७४/७५ को पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९४.६ प्रतिशत र ४०.९ प्रतिशत ठ रहेका छन्। २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.३ प्रतिशत र ४१.७ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२६. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४५.२६ रहेकोमा २०७४ भदौ मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५६.१८ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ भदौमसान्तमा प्रति आउन्स अमेरिकी डलर १३०८.३५ रहेकोमा २०७४ भदौ मसान्तमा १.१ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३२२.८५ पुगेको छ । 

विनिमय दर 
२७. २०७४ असार मसान्तको तुलनामा २०७४ भदौ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.१ प्रतिशतले अवमूल्यन भएको थियो । २०७४ भदौमसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०२.२२ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 

२८. आर्थिक वर्ष २०७४/७५ को दुई महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. १९ अर्ब १८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ४५ अर्ब ६२ करोड रहेको थियो ।  

सरकारी खर्च 
२९. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. ७२ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. ३१ अर्ब ५५ करोड पुगेको थियो । 
३०. समीक्षा अवधिमा चालू खर्च रु. ७० अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २९ अर्ब ५८ करोड मात्र रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च २० प्रतिशतले बढेर रु. १ अर्ब ५५ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. १ अर्ब २९ करोड भएको थियो । 

सरकारी राजस्व 
३१. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन १०.३ प्रतिशतले वृद्धि भई रु. ८८ अर्ब ७९ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ५१.६ प्रतिशतले वृद्धि भई रु. ८० अर्ब ४७ करोड पुगेको थियो । समीक्षा महिनामा राजस्व संकलन लक्ष्यभन्दा कम रहेको छ । नेपाल सरकारको राजस्व संकलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहदैं आएको छ । 

सरकारको नगद मौज्दात 
३२. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ भदौमसान्तसम्ममा सरकारी ढुकुटीमा रु. २५८ अर्ब ३८ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

३३. आर्थिक वर्ष २०७४/७५ को दुई महिनामा विस्तृत मुद्राप्रदाय १.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौ मसान्तमा विस्तृत ढ मुद्राप्रदाय १५.९ प्रतिशतले बढेको छ । 
३४. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. ५ अर्ब ८७ करोड (०.६ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ३ अर्ब ५० करोड (०.४ प्रतिशत) ले घटेको थियो । 
३५. समीक्षा अवधिमा सञ्चित मुद्रा १३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ६.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौ मसान्तमा सञ्चित मुद्रा ११ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३६. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ०.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौ मसान्तमा यस्तो कर्जा १८.५ प्रतिशतले बढेको छ । 
३७. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ भदौ मसान्तमा १६.८ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.४ प्रतिशतले बढेको छ । 
३९. २०७४ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.३ प्रतिशत, ३५.६ प्रतिशत र ४३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ४३.९ प्रतिशत र ३०.१ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.८ प्रतिशत, विकास बैंकहरुको ४.८ प्रतिशत र वित्त कम्पनीहरुको १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ । 
४१. समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ३.० प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ३.३ प्रतिशत, सेवा ज्ञण् उद्योगतर्फको कर्जा २.८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ । 
४२। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.६ प्रतिशत र १५.२ प्रतिशत रहेको थियो । 
४३. २०७४ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत (रु. ४८ अर्ब २३ करोड) छ । 
४४. समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा १५.९ प्रतिशत (१० अर्ब २७ करोड) ले बढी रु. ७४ अर्ब ८० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९.२ प्रतिशतले बढेको थियो । 
४५. समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । त्यसैगरी समीक्षा अवधिमा रु. १ करोड ५० लाख सम्मको व्यक्तिगत आवासीय कर्जा ३.८ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा ०.४ प्रतिशतले घटेको छ । 

तरलता व्यवस्थापन 
४६. आर्थिक वर्ष २०७४/७५ को दुई महिनासम्ममा यस बैंकले रु. १०४ अर्ब ९० करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप बोलकबोलमार्फत् रु. ३५ अर्ब १५ करोड, रिभर्स रिपोमार्फत् (टर्नओभरको आधारमा) रु. ६९ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोलमार्फत्रु. ३१ अर्ब ५० करोड (९० दिने र १४ दिने निक्षेप बोल–कबोल), रिभर्स रिपोमार्फत् रु. ५३ अर्ब ५५ करोड गरी कुल रु. ८५ अर्ब ५ करोड तरलता प्रशोचन भएको थियो । 
४७. आर्थिक वर्ष २०७४/७५ को दुई महिनासम्ममा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ५३ करोड १२ लाख खुद खरिद गरी रु. ४६ अर्ब ५४ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५३ करोड ७५ लाख खुद खरिद भई रु. ५७ अर्ब ५० करोड खुद तरलता प्रवाह भएको थियो । 
४८. समीक्षा अवधिमा अमेरिकी डलर ६६ करोड बिक्री गरी रु. ६७ अर्ब ६६ करोड बराबरको भा.रु. खरिद भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ६४ करोड र युरो ७ करोड ५० लाख बिक्री गरी रु. ७७ अर्ब ४७ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४९. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ भदौ मसान्तसम्ममा साधारण पुनरकर्जा रु. ६ अर्ब ४६ करोड र निर्यात कर्जा रु. ६८ करोड १३ लाख गरी कुल रु. ७ अर्ब १४ करोड पुनरकर्जा लगानीमा रहेको छ । 
५०. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधि सम्ममा रु. ९० करोड ४७ लाख उपयोगमा रहेको छ । 

अन्तर–बैंक कारोबार 
५१. आर्थिक वर्ष २०७४/७५ को दोस्रो महिनामा वाणिज्य बैंकहरूले रु. ९३ अर्ब ९३ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ७ अर्ब ८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. १६७ अर्ब ७९ करोड र रु. ४५ अर्ब ५९ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५२. २०७३ भदौमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.०५ प्रतिशत रहेकोमा २०७४ भदौमा ०.४८ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७३ भदौको २.५६ प्रतिशतको तुलनामा २०७४ भदौमा ०.३९ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ भदौको ६.२३ प्रतिशतको तुलनामा २०७४ भदौमा १०.१३ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ भदौ मसान्तसम्म कुल १५१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ३९ संस्था कायम भएका छन् । 

पूँजी बजार 
५४. नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास आई २०७४ भदौ मसान्तमा १५३०.३ विन्दुमा झरेको छ । २०७३ भदौ मसान्तमा उक्त सूचकाङ्क ५१.८ प्रतिशतले वृद्धि भई १८१५.२ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ विन्दु कायम भएको थियो । 
५५. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ११.४ प्रतिशतले ह्रास आई २०७४ भदौ मसान्तमा रु. १,७७५ अर्ब ५९ करोड कायम भएको छ । बजार पूँजीकरण अनुपात २०७३ भदौ मसान्तमा ६२.६ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ६८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८९.१ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८४.२ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.३ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.६ प्रतिशत, होटलहरूको १.८ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ७.० प्रतिशत रहेको छ । 
५६. आर्थिक वर्ष २०७४÷७५ को दोस्रो महिनामा कुल शेयर कारोबार रकममा ४२.६ प्रतिशतले ह्रास आई रु. १३ अर्ब ५७ करोड हुन पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कारोबार रकम ९३.२ प्रतिशतको उल्लेख्य वृद्धि भई रु. २३ अर्ब ६२ करोड पुगेको थियो । 
५७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ भदौ मसान्तमा १९६ रहेको छ । २०७३ भदौ मसान्तमा यस्तो संख्या २२७ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १५१ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । 
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा ४०.६ प्रतिशतले वृद्धि भई २०७४ भदौ मसान्तमा रु. २९५ अर्ब २८ करोड पुगेको छ । समीक्षा अवधिमा रु. १ अर्ब १० करोड बराबरको साधारण शेयर, रु. १३ अर्ब ७४ करोड बराबरको हकप्रद शेयर, रु. ४३ करोड ज्ञद्द बराबरको बोनस शेयर र रु. ७ अर्ब बराबरको सरकारी ऋणपत्र गरी कुल रु. २२ अर्ब २८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । स्रोत : नेपाल राष्ट्र बैंक
 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *