October 28th, 2017

बैंकिङ प्रविधिको आवश्यकता र महत्व

भरतराज ढकाल, अध्यक्ष डेभलपमेन्ट बैंकर्स एशोसियसन – बैंकिङ शिक्षा र प्रविधिबारे सबैले जान्नु आवश्यक छ । आफ्नो कारोबार सुरक्षित गर्न र छिटो छरितो रुपमा काम गर्न प्रविधिको प्रयोग गरिन्छ । नेपालमा पनि धेरै बैंकिङ प्रविधिहरु भित्रिएका छन् । तर बैंकिङ शिक्षाको कमीका कारण प्रविधिको प्रयोग गर्ने ग्राहकहरुको संख्या एकदमै कम छ । हिजोका दिनमा हामी एउटा सामान किन्न पसल पुग्दा समय बर्वाद हुने तथा आफूले चाहेको सामान जताततै नभेटिने जस्ता समस्या थिए । अहिले ठाउँठाउँमा सुपरमार्केटहरु खुलेका छन् । जसमा पैसा होइन कार्डको प्रयोग बढेको छ । यो नै प्रविधिको विकास हो । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगले समयको बचत गरेको छ, घरमै बसेर सम्पूर्ण बैंकिङ सेवा लिने अवसर प्रदान गरेको छ । त्यसैले, हामी नयाँ युगका युवाहरुले आधुनिक बैंकिङ प्रणालीलाई बुझ्न आवश्यक छ । हिजो हामी बैंकको एउटा चेक साट्न घण्टौँसम्म लाईनमा बस्नुपर्ने अवस्था थियो । अहिले बैंकिङ प्रविधिका कारण हामी घरमै बसीबसी बैंकिङ कारोबार गर्न सक्छौँ । अहिले बैंकहरु प्रविधि लिएर जनतामा जानु पर्छ भन्ने उद्देश्यले गाउँगाउँमा पुगेका छन् । 

जागीरमुखी हैन व्यवसायमुखी बन्नुपर्छ
मुलुकमा अहिले अधिकांश खाद्यान्न बाहिरी मुलुकबाट आयात गरिन्छ । हाम्रो नेपाल कृषि प्रधान देश भएर पनि हामी कृषिजन्य सामान धेरैजसो बाहिरी मुलुकबाटै आयात गर्छौँ । अर्को कुरा हामी युवा वर्गहरुमा जोश, जाँगर र शक्ति छ । तर हामी जागिरलाई प्राथमिकतामा राखेर भौतारिरहेका छौं । अहिले कुनै ब्याचलर, मास्टर्स अध्ययन गरेका बिद्यार्थीलाई के गर्ने सोच छ भनेर सोध्ने हो भने बैंकमा जागिर खाने वा विदेश जाने सोच छ भन्ने उत्तर सहजै पाउन सकिन्छ । हामीले जागिरका बेफाइदाका बारेमा बुझ्न सकेका छैनौँ । ठूलो पदको जागिर पाउने हो भने राम्रै आम्दानी होला र केही गरिएला । नत्र, सानोतिनो जागीर खाएर सफल हुन सकिँदैन । त्यसका लागि स्वरोजगार बन्नुपर्छ । जागीर भनेको आफ्नै लागि मात्रै हो । हामीले कुनै व्यवसाय गर्यौँ भने हाम्रो परिवार तथा आगामी पुस्ताका साथै समाज र राष्ट्रलाई नै सहयोग पुग्छ । यसकारण उद्यमशिलताको बाटोमा हामी लाग्नु जरुरी छ । हाम्रो नेपालमा सक्षम मान्छे जागिर खान्छ, असक्षम मान्छे जागिर नभेटेर व्यवसायतिर लाग्छ, यो ठुलो कमजोरी हो । अब पढेका युवा पुस्ता नै उद्यमशिलतातिर लाग्नुपर्छ । युवाहरु आफैँले रोजगारी सिर्जना गरी आफ्नै मुलुकको विकासमा योगदान पुर्याउने विषयमा सोच्नु आवश्यक छ । 

पैसा हातमा हैन खातामा हुनुपर्छ
अहिले मुलुकको कूल ग्राहस्थ उत्पादनको एक तिहाई रेमिट्यान्सले धानेको तथ्यांकले देखाएको छ । त्यो एक तिहाई तथ्यांक पनि आधिकारिक माध्यमबाट आएको रेमिट्यान्स मात्रै हो । अनौपचारिक ढंगबाट धेरै रकम भित्रिने गरेको तथ्यांकहरु पनि आइरहेका छन् । नेपालको व्यापार घाटा दिनप्रतिदिन बढिरहेको छ । युवाहरु विलासी जिवन विताउन चाहान्छन् । वैदेशिक रोजगारीमा पनि धेरै समस्या देखिन थालेको छ । भोलि वैदेशिक रोजगारी ठप्प हुने हो भने र  हामीले स्वदेशमै स्वरोजगार बन्न नसक्ने हो भने नराम्रो स्थिती आउन सक्छ । यस्तो अवस्थाले मुलुक अगाडी बढ्न सक्दैन । हाम्रो देशमा स्रोत र साधनहरुको कमी छैन । स्वदेशमै बसेर यहीँ भएका स्रोत र साधनको परिचालन गरेर नै मुलुक समृद्ध बन्न सक्छ ।

मैले ६६ सालमा रेमिट्यान्सबारे अध्ययन गरेको थिए । त्यो समयमा कमाएको पैसा एक रुपैयाँ पनि बचत भएको थिएन । एउटा मान्छे विदेश जानका लागि जब पासपोर्ट बनाउँछ, तबदेखि उसको परिवार निष्कृय बन्न थाल्छ । छोराले कमाएर पाल्छ भन्ने सोचले परिवारलाई विलासी बनाउँछ र विदेश गएर कमाएको सबै रकम खर्च हुन्छ । त्यसैले, मैले सधै भन्ने गरेको छु, पैसा हातमा होइन खातामा हुनुपर्छ 

पहिले हाम्रो खाद्यान्न सन्तुलन थियो । विगतमा हामीले धान निर्यात गरेको पनि इतिहास छ । तर अहिले धान उत्पादन कम हुन्छ । खेतियोग्य जमीनमा घर बनाइन्छ । कृषिजन्य उत्पादनहरुको आयात यतिसम्म बढेको छ कि, नेपाल कृषिप्रधान देश हो भन्न पनि लाजमर्दो हुने स्थिती आएको छ । यसकारण हामी उत्पादनमुखि हुनै पर्छ । युवाहरुले यो कुरालाई मनन गरेर अगाडी बढ्न जरुरी छ ।   बैंक तथा वित्तीय संस्थाले उद्यमका लागि वित्तीय स्रोत जुटाइदिने मात्रै हो । उद्यमको लागि योजना बनाउने, सुरु गर्ने, व्यवसाय बढाउने, बजार खोज्ने लगायतका काम व्यक्ति आफैँले गर्नुपर्छ । बैंक वित्तले मात्र नभएर जनताले पनि मुलुकको हितमा सोच्नुपर्छ । उद्यम तथा व्यवसाय गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिनुपर्छ । 

हरेक नेपालीको बैंक खाता हुनुपर्छ
हरेक नेपालीको बैंक खाता हुनु जरुरी छ । खाता भएपछि बचत गर्ने बानीको विकास हुन्छ र फजुल खर्च कम हुँदै जान्छ । यसो गर्दा, पछि बैंकबाट कर्जा लिनुपर्यो भने पनि पहिल्यैदेखि कारोबार गरिरहेको आधारमा प्राथमिकतामा पर्दछ । बैंक खाता मात्र भएर पनि हुँदैन, सबैले बैंकिङ प्रविधिहरुको प्रयोग गर्दै जानुपर्छ । प्रविधिको प्रयोग गर्नाले बैंकको लागत खर्च कम हुनुको साथै सर्वसाधारणलाई पनि कर्जा तथा अन्य बैंकिङ सर्भिस चार्ज न्युन हुन जान्छ । यसकारण पनि प्रविधिको प्रयोगलाई जोड दिन जरुरी छ । मिडिया इन्टरनेसनलले आयोजना गरेको बैंकिङ सम्बन्धि कार्यक्रममा व्यक्त बीचारमा आधारित


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]