October 17th, 2017

प्रतिष्पर्धामा नयाँ लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स पनि संचालनको अन्तिम तयारीमा 

बैंकिङ खबर । नेपाली बीमा बजारमा थपिएका १० बीमा कम्पनीहरुबीच सञ्चालनका लागि प्रतिष्पर्धा भइरहेको छ । सञ्चालन अनुमति पत्र पाएका चार वटा जीवन बीमा कम्पनीले कारोबारको शुभारम्भ गरिसकेका छन् भने बाँकी बीमा कम्पनीहरु पनि कसले पहिले कारोबार शुभारम्भ गर्ने भनेर प्रतिष्पर्धा गरिरहेका छन् । नयाँ बीमा कम्पनीहरुबीच देखिएको प्रतिष्पर्धाले नेपाली बीमा बजारमा नयाँ तरंग ल्याउने बीमा बिज्ञहरु बताउँछन् । नयाँ बीमा कम्पनीहरु कारोबार शुभारम्भदेखि लिएर व्यवसाय बढोत्तरीमा समेत हुने प्रतिष्पर्धाले बीमामा नागरिकको पहुँच वृद्धि हुने ती विज्ञहरुको भनाई छ । 

कुन–कुन कम्पनीले शुरु गरे कारोबार ? 
भर्खरै मात्र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार शुरु गरेको छ । रिलायबलले गत आइतबार मात्रै राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरी कारोबार शुभारम्भ गरेको हो । यसअघि नै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन कारोबार शुभारम्भ गरेका थिए । थपिएका नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गतेदेखि नै कारोबार सुरु गरिसकेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा रहेको छ भने कम्पको अध्यक्षमा डा. रामहरि अर्याल रहेका छन् । 

केहि समयअघि कारोबार शुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँको कमलादीमा रहेको छ । कम्पनीले हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेष्डरका रूपमा अनुबन्धित समेत गरिसकेको छ । बानेश्वरमा केन्द्रीय कार्यालय रहेको युनियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल छन् भने प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण छन् । कारोबार सञ्चालनको अनुमति पाएको २ दिनमै विधिवत रूपमा कारोबार सञ्चालन गरेको युनियन लाइफले बीमा गर्ने अभियानसमेत थालिसकेको छ । युनियनले प्रारम्भिक चरणमा २५ शाखामार्फत सेवा प्रदान गर्नेछ भने क्रमिक रूपमा शाखा विस्तार गर्ने योजना बनाएको छ । हाल युनियनले सीमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र वैदेशिक रोजगार जीवन बीमा योजना सञ्चालन गर्ने जनाएको छ । 

अन्य पनि थपिँदै
बीमा समितिबाट संचालनको अनुमति पाएका १० जीवन बीमा कम्पनीहरुमध्ये कारोबार शुरु गर्न बाँकी रहेका कम्पनी पनि छिटै नै व्यवसाय थाल्ने तयारीमा छन् । बीमा समितिले गत जेठ पहिलो साता आइएमई, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, प्रभु, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको थियो ।

सञ्चालनको अन्तिम तयारीमा प्रभु लाईफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्सले कारोबार शुरु गर्ने अन्तिम तयारी गरेको छ । स्टार लाइफ इन्स्योरेन्सबाट नाम परिवर्तन भई बनेको प्रभु लाइफ इन्स्योरेन्सले कारोबार शुभारम्भका लागि अन्तिम तयारी गरिरहेको जनाएको छ । केहि साता पहिले यस कम्पनीको बिशेष साधारणसभाले नाम परिवर्तन गरी प्रभु लाइफ इन्स्योरेन्स राख्ने निर्णय गरेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]