May 2nd, 2016

उत्पादनशील क्षेत्रमा बैँकिङ लगानी विकर्षित हुनुका कारणहरु

Deposit your budget for investmentनेपाल राष्ट्र बैंकले ल्याएको उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति कार्यान्वयनको चरणमा रहेका बेला बैंक तथा वित्तीय संस्थाको लगानी फेरि उत्पादनशीलभन्दा अनुत्पादक क्षेत्रमा बढि देखिएको छ । बैंक तथा वित्तीय क्षेत्रका लगानी उत्पादनशील क्षेत्रबाट विकर्षित हुनुमा निक्षेपको ब्याजदर घट्नुले मुख्य भूमिका खेलेको देखिन्छ । पछिल्लो समय धेरै लगानी घरजग्गा र सेयर बजारमा बढिरहेको छ । शेयर बजारलाई नै हेर्ने हो भने यसले हरेक दिन नयाँ रेकर्ड बनाईरहेको छ । उपत्यकामा घरजग्गाको कारोबार उचाईमा छ । 

बैंकिङ प्रणालीमा तरलता बढेसँगै सेयर र घरजग्गाको कारोबार बढेको बैंक तथा वित्तिय क्षेत्रका जानकारहरु बताउँछन् । पछिल्लो समय सिमेन्ट बानखहेक अन्य क्षेत्रमा लगानी नबढेर लगानीकर्ताले सहजै फाइदा हुने सेयर बजार र घरजग्गामा लगानी बढेको देखिन्छ ।
  
राष्ट्र बैंकको तथ्याङकले पनि पछिल्लो ५ वर्षमा एक करोडभन्दा बढीका आवासीय घरमा बैंक तथा वित्तीय संस्थाको कर्जा अत्यधिक बढेको देखाउँछ । आर्थिक वर्ष २०६८÷६९ को फागुन महिनासम्ममा एक करोडभन्दा तलको आवासीय घरकर्जामा ४७ अर्ब ३८ करोड कर्जा गएकोमा आर्थिक वर्ष २०७२÷७३ को फागुन मसान्तमा यो क्षेत्रमा बैंक संस्थाले १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका राष्ट्र बैंकको प्रतिवेदनमा छ ।
 
तर बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा रियलस्टेटमा भने बढेको छैन । अहिले रियलस्टेटमा ९७ अर्ब कर्जा गएको छ । जबकी ५ वर्ष अगाडि  बैंक तथा वित्तीय संस्थाले रियलस्टेटमा ९४ अर्ब कर्जा प्रवाह गरेका थिए । 

यस्तै सेयर धितोमा राखेर दिइने कर्जा बढेर ३२ अर्ब ७० करोड पुगेको छ । ५ वर्ष अगाडि १० अर्ब ५२ करोड पुगेको थियो । बैंक तथा वित्तीय संस्थामा अहिले तरलता केही असहज भएपनि तत्कालै ब्याजदर बढ्ने सम्भावना देखिँदैन । यसले गर्दा आगामी दिनमा अझै घरजग्गा सेयरको कारोबार बढ्न सक्ने सम्भावनालाई देखाउँछ । तर, यसमा जोखिम पनि बढी हुने भएकोले बैंक तथा वित्तीय संस्था सजग हुन आवश्यक रहेको जानकारहरु बताउँछन् । 

राष्ट्र बैंकले २०६६ सालमा बैंक तथा वित्तीय संस्थाको अत्याधिक लगानी घरजग्गामा भएपछि त्यसमा सीमा तोकिदिएको थियो भने सेयर कर्जामा पनि कडाइ गरेको थियो । यसका कारण घरजग्गा व्यवसाय ओरालो लाग्यो भने सेयर बजार ओरालिने क्रममा पनि सुरु भयो । तर पछिल्लो ४ वर्षदेखि सेयर बजार र घरजग्गाको कारोबार बढ्न थालेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा जग्गाको कारोबारमा ह्वात्तै वृद्धि भएको छ । यस्तै अवस्था सेयर बजारमा पनि छ । घरजग्गा र सेयर बजारको कारोबार बढ्नु राम्रो भएपनि यसबाट समग्र अर्थतन्त्रले लाभ लिन नसक्ने र सीमित व्यक्तिले मात्र कमाउने भएकोले यसको कारोबार बढ्दैमा अर्थतन्त्रमा सुधार नआउने अर्थविदहरु बताउँछन् । घरजग्गा र सेयर बजारको हरेक दिनको नयाँ रेकर्डले पुनः अर्कोको संकट आउन सक्ने विश्लेषणहरु हुन थालिसकेको छ । बजारमा हरेक चार पाँचवर्षमा घरजग्गा र सेयर कारोबार बढ्ने र घट्ने गरेको इतिहास छ । अहिले मन्दीपछि घरजग्गा र सेयर कारोबार बढेको हुनाले अहिले यसमा भएको कारोबार अझै बढ्ने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]