October 1st, 2017

नेपालको वित्तीय क्षेत्र सुधारका लागि डेपुटी गभर्नरका पाँच टिप्स

शिवराज श्रेष्ठ । आजको जस्तो प्रतिष्पर्धात्मक युगमा पनि नेपालका बैँकहरुले ग्रामीण भेग तथा विपन्न समुदायसम्म आफ्नो पहुँच पुर्याउन नसक्नु नेपालको वित्तीय क्षेत्रका लागि घातक कुरा हो । नेपालमा झन्डै डेढ सय बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । तर, झन्डै २० लाख नेपालीहरुलाई बैँक के हो भन्ने कुराको समेत जानकारी नभएको बताइन्छ । यसको प्रमुख कारण भनेको बैँकहरु सहर तथा सुगमकेन्द्रित हुनु नै हो । यो कुराको आभाष सम्बन्धित व्यक्ति तथा निकायलाई नभएको पनि हैन । तर पनि सहरमा बढी फाइदा हुने हुँदा बैँकहरुले ग्रामीण भेगमा शाखा खोल्न आनाकानी गर्ने गरेका छन् । यसका लागि नेपाल राष्ट्र बैँकले दुर्गम तथा ग्रामीण भेगमा शाखा खोल्न अनिवार्य समेत गरेको छ । तर पनि दुर्गम तथा पिछडिएका क्षेत्रहरुमा बैँक तथा वित्तीय संस्थाको उपस्थिती दयनिय नै पाइन्छ । यसैबिच, नेपालको बैँकिङ प्रणाली तथा विद्यमान अवस्थाको सुधार गर्न, वित्तीय स्थायित्व कायम गर्न तथा वित्तीय साक्षरता जगाउनको लागि नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले अघि सारेका पाँच सुत्रहरु यहाँ प्रस्तुत गरिन्छ :

ग्रामीण तहसम्म बैँकिङ पहुँच पुर्याउन वित्तीय सचेतना कार्यक्रम
आजभन्दा पन्ध्र बर्ष पहिले हामीले बैंकहरुको यतिसम्म विकास होला भनेर अनुमान गर्न सक्ने स्थिति थिएन । सबै बैंकहरुले स्थापना कालदेखि नै आफनो उपस्थितीलाई बलियो बनाउँदै अघि बढेका कारण नेपालमा बैंकहरुको विस्तार भएको हो । तर वर्तमान समय सुहाउँदो सेवा बैंहरुले प्रवाह गर्न सकेका छैनन् । नेपालका बैंकहरु अझै पनि परम्परागत शैलीमा नै छन् । आधुनिक बैंकिङ सेवा प्रवाह गर्न सकेका छैनन् । त्यसैले अबको बैँकिङ प्रणालीलाई आधुनिक र समय सुहाउँदो बनाउने तर्फ अग्रसर हुनुपर्छ ।  

उत्पादन स्रोत बढाउन शहरोन्मुख गाउँमा बैँकिङ लगानी
ग्रामीण तहसम्मको पुँजी संकलनको लागि भौतिक रुपमा राष्ट्र बैंक गाउँगाउँमा पुग्न सकेको छैन । उपत्यकाभन्दा बाहिर ७ वटा क्षेत्रमा हाम्रो शाखाहरु छ । ती शाखा कार्यालयहरुले ग्रामीण तहसम्म बैंकिङ सेवा सुविधा पुर्याउन योजनाहरु बनाइसकेका छन् । राष्ट्र बैंकको नीति नै शहरमुखी भन्दा ग्रामीण तहसम्म पुर्याउनु हो, गाउँ गाउँका मानिसलाई बैंकिङ सेवा सुविधा प्रदान गर्नु हो । ग्रामीण क्षेत्रका मानिससँग पैसा नभएपनि उनीहरुले बैंकिङ सेवाको लाभ लिन पाउनुपर्छ । त्यसैले अब ग्रामीण तप्काका मानिसलाई पनि बैंकहरुले सेवा दिनुपर्छ । त्यसको लागि सबैमा वित्तिय सचेतनाको आवश्यकता रहने भएकोले राष्ट्र बैंकले विभिन्न निकायसँग सहकार्य गरेर वित्तिय सचेतना फैलाउने सोच बनाएको छ । बैंकहरुले गाउँमा केहि गर्न चाहनेका लागि ऋण प्रवाह गरिदिने र लगानी पनि गरिदिने हो भने गाउँका मानिसहरु पनि आत्मनिर्भर हुन सक्छन् । शहर उन्मुख गाउँहरुमा बैंकको लागानी भएपछि त्यहाँ उत्पादनका श्रोतहरु बढ्दै जान्छन् । जसले गर्दा व्यक्ति मात्र होइन देशको अर्थतन्त्र पनि चलायमान हुुुन्छ । 

ग्रामीण भेगमा हरेक बैँकका शाखा 
दुर्गम क्षेत्रका धेरै मानिसहरुले चाहेर पनि बैंकको सेवा लिन पाएका छैनन् । कुल जनसंख्याको ४० प्रतिशत मानिस मात्र बैंकिङ सेवाको पहुँचमा छन् । प्रायः बैंकहरु शहर केन्द्रित नै छन् । गाउँगाउँमा बैंकहरुको उपस्थिति न्यून भएका कारण अझै पनि गाउँमा मानिसहरुले दिनभरको बाटो हिडेर बैंकको सेवा लिने गरेका छन् । राष्ट्र बैंकले ग्रामीण तहका मानिसलाई बैंकिङ कारोबारमा उपस्थित गराउन र वित्तिय साक्षरता बढाउनको लागि सबै बैंकहरुलाई शाखा खोल्न पनि निर्देशन पनि दिएको छ । ग्रामीण तहका मानिसले पनि स्वतन्त्र तहबाट बचत गरुन् भन्ने उद्देश्यले बैंकहरुका शाखाहरु विस्तार हुँदै गएका छन् । तरपनि ग्रामीण भेगका बैंकहरुको उपस्थिति अत्यन्तै न्यून छ ।

उत्पादनशील क्षेत्रमा कर्जा वृद्धिको योजना
देशको आर्थिक विकासलाई राष्ट्र बैंकले केन्द्रमा राखेको छ । देशको विकास र युवाहरुलाई स्वदेशमै टिकाउनको लागि उत्पादनशील क्षेत्रमा कर्जाहरु बढाउने योजना राष्ट्र बैँकले अघि सारेको छ । जसले रोजगारीको वातावरण सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्नुका साथै जनताको जीवनस्तर माथि उकास्नको लागि पनि सहयोग गर्छ । जनताले आय आर्जन गर्न थालेपछि देशको अर्थतन्त्रमा पनि परिवर्तन हुन्छ । त्यसको लागि राष्ट्र बैंकले आफ्नो कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । 

नयाँ प्रविधिको सदुपयोगमा जोड
विश्वको धेरै बैंकहरु प्रविधिमा केन्द्रित छन् । यो वर्तमान समयको आवश्यकता पनि हो । त्यसैले नयाँ प्रविधिलाई पनि हामीले आत्मसाथ गर्नु छ । तर बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको फड्कोसँगै चोरी र अपराधका घटनाहरु बढ्दै गएका छन् । नयाँ प्रविधिलाई पनि कुनै किसिमको दुरुपयोग हुन नदिई प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यस्तै, बैंकिङ जगतलाई पारदर्शी बनाउनको लागि नयाँ प्रविधिको भूमिकालाई महशुस गर्दै राष्ट्र बैंकले पनि नयाँ प्रविधिको प्रयोगमा जोड दिँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]