September 25th, 2017

दशैँंको दक्षिणाबाट सुरु गर्नुहोस् बैंकिङ खाता

नेपालीहरुको महान् चाड दशैँँ नजिकिएको छ । दशैँँ भन्नेवित्तिकै मान्छेहरुले धेरै खर्च गरेर, खसी काटेर, मादक पदार्थ सेवन, जुवातास खेलेर तथा विभिन्न रमाइलो गरेर मनाउनुपर्छ भन्ने नेपालीहरुको मानसिकता छ । जसरी हुन्छ धेरै खर्च गरेर दशैँँमा रमाईलो गर्नु पर्छ भन्ने मानसिकताका कारण कतिपय मान्छेहरु ऋणको जोखिम बोक्न बाध्य भएका छन् । इतिहासलाई हेर्ने हो भने दशैँँ मनाउन लिएको कर्जा तिर्न नसकेर घरबार विहिन भएको उदाहरण पनि हामी माझ छन् । दशैँँमा धेरथोर जे भएपनि दक्षिणा लिने दिने समेत हुन्छ । मान्यजनबाट टिका आशिर्वाद ग्रहणसँगै दक्षिणा समेत लिने÷दिने प्रचलन भएपनि त्यो दक्षिणाको सदुपयोग भएको पाइँदैन । दशैँमा कसैले मादक पदार्थ तथा अन्य खाद्य वस्तुमा खर्च गर्ने गर्छन् भने कतिपयले त जुवा तासमा नै उडाउने समेत गर्ने गरेका छन् । दशैँमा पाएको दक्षिणालाई बचत गर्न सके भोली त्यो बचतले आफैँलाई ठूलो सहयोग पुग्छ भन्ने आम मानिसमा चेतना हुँदैन । चेतनाका कमीकै कारण मानिसहरुले बचतलाई प्राथमिकता दिएका छैनन् । यस बर्षको दशैँमा पाएको दक्षिणालाई के गर्ने ? भन्ने बिषयमा बैंकिङ खबरका रोयल आचार्यले केहि बैंकरहरुको सुझावलाई लिएर तयार पारिएको रिपोर्ट यहाँ प्रस्तुत गरिन्छ :

‘आजको बचत भविष्यको सारथी हो’
लिला प्रकाश सिटौला, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक लिमिटेड

आम सर्वसाधारणले बैंकिङ कन्सेप्ट दिमागमा राख्नुपर्छ । बैंकिङ कन्सेप्ट दिमागमा राखेर आम्दानी भएको रकम सिधै बैंक खातामा लगेर जम्मा गर्नुपर्छ । तपाईँ हामीले गरेको बचतले भोलिका दिनमा हामीलाई अप्ठेरो परेको बेला काम लाग्नुका साथै राष्ट्रलाई समेत मद्दत पुग्छ । दशैँ आउँदैछ, दशैँमा मामाघर, माइत, काका, ठूला लगायतबाट दक्षिणा पाइन्छ । दशैँमा पाएको दक्षिणालाई सदुपयोग गर्नुपर्छ । जताततै बैंकका शाखा छन् । हाम्रै कृषि विकास बैंकको शाखा पनि धेरै ठाउँमा छन् । दशैँको दक्षिणालाई सित्तैमा पाएको भनेर मादक पदार्थ सेवन गर्ने, जुवा तास खेल्ने काम गर्नुहुँदैन । दशैँमा पाएको दक्षिणा (नोट) लाई सुरक्षित राखेर नखुम्चाई, नच्याती बैंकमा लगेर बचत गर्नुपर्छ । तपाईँ हामीले गरेको बचतले देश निर्माणमा अप्रत्यक्ष रुपले सहयोग पुर्याइराखेको हुन्छ । बचतले देश र आफ्नै हितका लागि काम गर्ने हुँदा दशैँको दक्षिणालाई बैंकमा पुर्याएर बचत गर्नुहोस् । आजको बचत भविष्यको सारथी बन्नेछ ।

‘दशैँको दक्षिणा विलासितामा खर्च नगरौं’
सिए भुपेन्द्र पाण्डे, डेपुटी सिइओ, राष्ट्रिय वाणिज्य बैंक

सानो सानो पैसाले धेरै बचत भएको देखिन्छ । आज एउटा बच्चा जन्मेको दिनदेखि दिनको सय रुपैयाँका दरले बचत गर्यौँ भने भोलि त्यो बच्चा ठूलो भएपछि उच्च शिक्षाका लागि पर्याप्त खर्च हुन्छ । हामीले हाम्रो मानसिकतालाई बचत तिर लैजानु जरुरी छ । हामीले विलासीतालाई मात्रै ध्यान दिँदा हाम्रो पैसा सबै बाहिर जान्छ । दशैँ तिहारमा कमाएको थोरै पैसाले कुनै ठूलो काम बन्दैन । नेपाली सस्कृतिमा त्यो पैसालाई जाँड रक्सी तथा जुवातासमा खर्च गर्ने गरिन्छ । मादक पदार्थ एवं जुवातासमा खर्च नगरी बरु त्यो पैसा बाढी पीडितलाई सहयोग गर्नु राम्रो हुन्छ । जसले गर्दा ती बाढीपीडितले पनि राम्रोसँग दशैँ मनाउन पाउनेछन् ।

‘कमाएर होइन बचत गरेर धनि भइन्छ’
भरतराज ढकाल, प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक

चाडपर्वको बेला बिशेष गरेर सबैले अत्याधिक खर्च गर्ने गरेको पाइन्छ । सक्नेले त गर्छन्, तर नसक्नेले समेत अरुले खर्च गरेको देखेर ऋण लिएर पनि खर्च गर्ने गर्छन् । अब हामीले खर्चलाई घटाउनुपर्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले पनि सचेतना फैलाउनुपर्छ । फजुल खर्च गर्नुुहुँदैन । पाठ्यक्रममा नै वित्तीय साक्षरतासम्बन्धी पुस्तक समावेश गरिनुपर्छ । म मेरो चिनजान र नजिकका मान्छेहरुलाई फजुल गर्न गर्नुहुँदैन भन्दै आएको छु । वास्तवमा कमाएर होइन बचत गरेर धनि भइन्छ । यसबारे सबैले बुझ्नुपर्छ । म यस मिडियाको माध्यमबाट पनि आम सर्वसाधारणलाई फजुल खर्च नगरौँ, आवश्यक मात्रै खर्च गरेर बचतमा ध्यान दिनुस् भन्न चाहान्छु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]