September 24th, 2017

फराकिलो बन्दै जीवन बीमाको क्षेत्र, तीन बीमा कम्पनी थपिए

बीमा कम्पनीहरुलाई लाइसेन्स दिन सुरु गरिएपछि हालसम्म तीन वटा जीवन बीमा कम्पनीले व्यवसाय सुरु गरेका छन् । हालै मात्र दुई वटा जीवन बीमा कम्पनीले एकैदिन कारोबारको शुभारम्भ गरे । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राजधानीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी व्यवसाय थालेका हुन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गतेदेखि नै कारोबार सुरु गरिसकेको छ । 

सन नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँको कमलादीमा रहेको छ । कम्पनीको अध्यक्षमा अनुज कायल रहेका छन् । अध्यक्ष कायलले आफूहरूले बीमितको हितलाई सधैं प्राथमिकतामा राख्ने बताएका छन् । कम्पनीले हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेष्डरका रूपमा अनुबन्धित गरेको छ । उनीहरूले कम्पनीको बजार प्रवद्र्धन र बीमाबारे चेतना अभिवृद्धिमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

त्यस्तै काठमाडौँकै बानेश्वरमा केन्द्रीय कार्यालय रहेको युनियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल छन् भने प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण छन् । कारोबार सञ्चालनको अनुमति पाएको २ दिनमै विधिवत रूपमा कारोबार सञ्चालन गरेको युनियन लाइफले शुक्रवारदेखि नै बीमा गर्ने अभियानसमेत थालिसकेको छ । युनियनले प्रारम्भिक चरणमा २५ शाखामार्फत सेवा प्रदान गर्नेछ भने क्रमिक रूपमा शाखा विस्तार गर्ने योजना बनाएको छ । हाल युनियनले सीमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र वैदेशिक रोजगार जीवन बीमा योजना सञ्चालन गर्ने जनाएको छ । 

यसअघि नै संचालनमा आइसकेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा रहेको । कम्पको अध्यक्षमा डा. रामहरि अर्याल रहेका छन् ।

अन्य पनि थपिँदै
बीमा समितिबाट संचालनको अनुमति पाएका १० जीवन बीमा कम्पनीहरुमध्ये बाँकी सात कम्पनी पनि छिटै नै व्यवसाय थाल्ने तयारीमा छन् । बीमा समितिले गत जेठ पहिलो साता आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको थियो । जसमध्ये, आइतबारदेखि ज्योति लाइफ इन्स्योरेन्सले कारोबार सुरु गर्दैछ । ज्योतिको अध्यक्ष पशुपति मुरारका र महाप्रबन्धकमा प्रकाश खत्री छन् ।

रिलायबल लाइफ इन्स्योरेन्सले पनि व्यवसाय संचालनको लागि कार्यालय, जनशक्ति लगायत अन्य पूर्वाधारहरु तयार गरिसकेको जानकारी दिँदै अब दशैँअगाडी नै व्यवसाय सुरु गर्ने बताएको थियो । यद्यपि, हालसम्म कम्पनीले व्यवसाय सुरु गर्ने मिति सार्वजनिक गरेको छैन । कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहने कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ)मा नारायणबाबु लोहनी रहेका छन् ।

यसबाहेकका कम्पनीहरुले पनि आवश्यक सबै प्रक्रिया पूरा गरि छिटै नै व्यवसाय थाल्नेछन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]