fbpx

राष्ट्र बैंकको समीक्षामा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ 

September 22, 2017

(आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनाको तथ्याङ्कमा आधारित) 

समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य 
१. चालु आर्थिक वर्षको साउन महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले कृषिजन्य वस्तुहरुको उत्पादनमा ठूलो क्षति पुगेको सुरु आंकलनभन्दा क्षति कम रहने अनुमान छ । सो वर्षाका कारण तराईका अधिकांश जिल्लाहरुमा कृषि पुर्वाधार लगायतका सम्पत्तिमा क्षति पुगेको छ । तथापि मनसुन समयमै सुरु भएको, पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेको, कृषिजन्य उत्पादनका साधनहरुको उपलब्धता सहज रहेको तथा बाढीको क्षतिबाट उत्पन्न हुने असर न्यूनीकरण गर्न नेपाल सरकारबाट पहल भइरहेकोले कृषि क्षेत्रमा पर्ने असर न्यूनीकरण हुने अपेक्षा गरिएको छ । 
२. उर्जा आपूर्तिमा सुधार, आपूर्ति व्यवस्थामा सहजता एवम् प्रत्यक्ष वैदेशिक लगानीमा भएको वृद्धिले अपेक्षा अनुरुप औद्योगिक क्षेत्रको वृद्धिदर हासिल गर्न सहयोग पुग्ने अनुमान छ । स्थानीय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न भएकाले यसबाट पनि औद्योगिक वातावरणमा सुधार भएको छ । 
३. पर्यटक स्तरीय होटलहरुको बेड अकुपेन्सी दरमा गत अवधिको तुलनामा उल्लेख्य सुधार भई करीव ७५ प्रतिशत पुगेको तथा पर्यटकीय सिजन शुरु हुनु अगावै त्यस्ता होटेलहरुको बुकिङ्ग दर ५० प्रतिशत पुगिसकेकाले उक्त क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने अपेक्षा रहेको छ । 
४. आर्थिक वर्ष २०७४÷७५ को बजेटले स्थानीय तहलाई रु. २२५ अर्ब वित्तीय हस्तान्तरण गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको र स्थानीय तहलाई ठूलो रकम वित्तीय हस्तान्तरण गरिएकाले यसबाट चालु आर्थिक वर्षमा पुँजीगत खर्च वृद्धि हुने अपेक्षा गरिएको छ । पछिल्लो समयमा विकसित यो परिस्थितिले आगामी दिनमा देशव्यापी रुपमा आर्थिक गतिविधिहरु चलायमान बन्ने र फराकिलो आधारसहितको समावेशी आर्थिक वृद्धि हासिल हुने अपेक्षा छ । 
५. समीक्षा महिनामा सरकारी राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ । बस्तु निर्यात घटेको कारण व्यापार घाटा बढ्न गएको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै ऋणात्मक रहेका छन् । यी परिस्थितिहरुले निरन्तरता पाएमा समष्टिगत आर्थिक व्यस्थापन चुनौतीपूर्ण हुने देखिन्छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 
२०७४ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत रहेकोमा २०७४ साउन महिनामा केही न्यून भई वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.६ प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । 

खाद्य मुद्रास्फीति 
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.३ प्रतिशत, तरकारीको मूल्यमा ११.७ प्रतिशत, मसलाको मूल्यमा ३.५ प्रतिशत र फलफूलको मूल्यमा १.४ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.६ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा २.२ प्रतिशत र काठमाडौं उपत्यकामा १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.१ प्रतिशत, तराईमा ८.५ प्रतिशत, पहाडमा १०.९ प्रतिशत र काठमाडौं उपत्यकामा ७ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
२०७४ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत र भारतको ३.४ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ८.६ प्रतिशत र ५.१ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.५ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
समीक्षा अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ३.८ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.६ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४.६ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ४.४ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः १०.६ प्रतिशत, ५.८ प्रतिशत र ४.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २.८ प्रतिशत, ८.९ प्रतिशत र २.१ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 
आर्थिक बर्ष २०७४/७५ को पहिलो महिनामा कुल वस्तु निर्यात ३.९ प्रतिशतले घटेर रु. ६ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १०.१ प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ११.३ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जस्तापाता, धागो, तयारी पोशाक, पिना द्ध लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैचा, पोलिष्टर धागो, टूथपेष्ट, अलैँची लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
समीक्षा अवधिमा कुल वस्तु आयात ९.३ प्रतिशतले बढेर रु. ७७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ९ प्रतिशत, चीनबाट भएको आयात १४.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ७.१ प्रतिशतले बढेको छ । समग्रमा पेट्रोलियम पदार्थ, सुन, सिमेन्ट, हटरोल सिट ईन क्वाईल, हवाइजहाजका पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, मेशिन तथा पार्टस्, विजुलीका सामान, कोल्ड रोल्ड सिट ईन क्वाईल, कृषि उपकरण, लगायतका वस्तुहरुको आयात घटेको छ । 
भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विरगञ्ज भन्सार, सुख्खा वन्दरगाह, र कैलाली भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ । आयाततर्फ, वीरगञ्ज भन्सार, सुख्खा वन्दरगाह, विराटनगर भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, नेपालगञ्ज भन्सार, कृष्णनगर भन्सार, कैलाली भन्सार र जलेश्वरबाट भएको आयातमा वृद्धि भएको छ । 
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.७ प्रतिशतले बढी रु. ७० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ०.५ प्रतिशतले वृद्धि भएको तर आयात मूल्य सूचकाङ्कमा ५ प्रतिशतले वृद्धि आएकोले व्यापारको सर्तमा ४.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात २२ प्रतिशतले बढेको थियो । यार्सागुम्बा, ऊनी गलैँचा, चिया, एक्रेलिक यार्न, घिउको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने सवारी साधन, एसिड लिड व्याट्री, ल्यापटप, प्रिन्टर, तामाको तार, जस्ताको मूल्यमा वृद्धि भएको कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
समीक्षा अवधिमा कुल सेवा आयमा २०.१ प्रतिशत र कुल सेवा खर्च ८.४ प्रतिशतले बढेको कारण खुद सेवा आय घाटा रु. २ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ३ अर्ब २१ करोडले घाटामा रहेको थियो । 
सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १७.८ प्रतिशतले वृद्धि भई रु. ४ अर्ब २६ करोड पुगेको छ । अघिल्लो बर्ष यस्तो आय ४९.४ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भई रु. ५५ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा २.५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.९ प्रतिशतले वृद्धि भई रु. ६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २.५ प्रतिशतले घटेको थियो । 
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रम स्वीकृति बाहेक)मा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएकोछ । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
अघिल्लो वर्षको पहिलो महिनामा रु. २ अर्ब ३२ करोडले घाटामा रहेको चालू खाता व्यापार घाटा बढेको कारण समीक्षा अवधिमा रु. ५ अर्ब ४३ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पहिलो महिनामा रु. २ अर्ब ११ करोडले घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ३ अर्ब २९ करोडले घाटामा रहेको छ । 

विदेशी विनिमय सञ्चिति 
कुल विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तको रु. १०७९ अर्ब ५२ करोडबाट ०.१ प्रतिशतले कमी आई २०७४ साउन मसान्तमा रु. १०७८ अर्ब ८४ करोड रहेकोछ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ साउन मसान्तमा ०.९ प्रतिशतले कमी आई रु. ९१९ अर्ब ४ करोड रहेकोछ । अर्कोतिर, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब २६ करोड रहेकोमा २०७४ साउन मसान्तमा ५ प्रतिशतले वृद्धि भई रु. १५९ अर्ब ८० करोड पुगेको छ । २०७४ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.३ प्रतिशत रहेको छ । ठ 

सञ्चिति पर्याप्तता सूचकहरू 
आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.२ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, १००.१ प्रतिशत र ४१.३ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.३ प्रतिशत र ४१.७ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ साउन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४८.२७ रहेकोमा २०७४ साउन मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५०.३९ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ साउन मसान्तमा प्रति आउन्स अमेरिकी डलर १३४४ रहेकोमा २०७४ साउन मसान्तमा ५.३ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२७२.७५ पुगेको छ । 

विनिमय दर 
२०७४ असार मसान्तको तुलनामा २०७४ साउन मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर रहेको थियो । २०७४ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०२.२९ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो ।

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ७४ अर्ब १ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ५२ अर्ब ४ करोड रहेको थियो ।  

सरकारी खर्च 
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. १८ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २ अर्ब ३१ करोड पुगेको थियो । 
समीक्षा अवधिमा चालू खर्च रु. १८ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २ अर्ब ३० करोड मात्र रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु. ११ करोड ५३ लाख भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. १० लाख भएको थियो । 

सरकारी राजस्व 
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ११.५ प्रतिशतले वृद्धि भई रु. ४५ अर्ब ७९ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ३६ प्रतिशतले वृद्धि भई रु. ४१ अर्ब ७ करोड पुगेको थियो । समीक्षा महिनामा राजस्व संकलन लक्ष्यभन्दा कम रहेको छ । नेपाल सरकारको राजस्व संकलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहदैं आएको छ । 

सरकारको नगद मौज्दात 
स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ श्रावण मसान्तसम्ममा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. २२८ अर्ब ९४ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक तथा वित्तीय स्थिति 
मुद्राप्रदाय 
आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा विस्तृत मुद्राप्रदाय १६.३ प्रतिशतले बढेको छ । 
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. ३ अर्ब २९ करोड (०.३ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २ अर्ब ११ करोड (०.२ प्रतिशत) ले घटेको थियो । 
समीक्षा अवधिमा सञ्चित मुद्रा १०.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ४.८ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा उक्त मुद्रा १२.६ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा यस्तो कर्जा १८.८ प्रतिशतले बढेको छ । 
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ साउन मसान्तमा १७.९ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.३ प्रतिशतले बढेको छ । 
२०७४ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३५.३ प्रतिशत र ४३.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ४३.८ प्रतिशत र ३०.५ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशत, विकास बैंकहरुको २.९ प्रतिशत र वित्त कम्पनीहरुको ०.३ प्रतिशतलेबढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १.६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ०.३ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा ०.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतलेबढेको छ । 
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५ प्रतिशत रहेको थियो । 
२०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत (रु. ४८ अर्ब ३ करोड) छ । 
समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६.६ प्रतिशत (४ अर्ब २८ करोड) ले बढी रु. ६८ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.७ प्रतिशतले बढेको थियो । 
समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.१ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । यसैगरी समीक्षा अवधिमा रु. १ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा १.९ प्रतिशत र रियल स्टेट कर्जा ०.९ प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा यस बैंकले रु. ७३ अर्ब ५० करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्पmत् रु. २७ अर्ब ७५ करोड, रिभर्स रिपोमार्पmत् (टर्नओभरको आधारमा) रु. ४५ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोलमार्फत् रु. ५ अर्ब र रिभर्स रिपोमार्पmत् रु. २७ अर्ब ४५ करोड गरी कुल रु. ३२ अर्ब ४५ करोड तरलता प्रशोचन भएको थियो । 
आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १८ करोड ६८ लाख खुद खरिद गरी रु. १९ अर्ब १४ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २२ करोड ८ लाख खुद खरिद भई रु. २३ अर्ब ६३ करोड खुद तरलता प्रवाह भएको थियो । 
समीक्षा अवधिमा अमेरिकी डलर ३० करोड बिक्री गरी रु. ३० अर्ब ७७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २६ करोड र यूरो ७ करोड ५० लाख बिक्री गरी रु. ३६ अर्ब ८३ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा साधारण पुनरकर्जा रु. ७ अर्ब ३९ करोड र निर्यात पुनरकर्जा रु. १४ करोड गरी कुल रु. ७ अर्ब ५३ करोड पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण पुनरकर्जा रु. २४ करोड उपयोग भएको थियो । 
भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधिमा रु. ७५ करोड ९३ लाखको कर्जा स्वीकृत भएको छ । 

अन्तर–बैंक कारोबार 
आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा वाणिज्य बैंकहरूले रु. ३५ अर्ब ७५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ७ अर्बको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ७४ अर्ब ५३ करोड र रु. २६ अर्ब ३५ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
२०७३ साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.४४ प्रतिशत रहेकोमा २०७४ साउनमा ०.५५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ साउनको ०.८२ प्रतिशतको तुलनामा २०७४ साउनमा ०.२९ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर वृद्धि भई २०७३ साउनको ३.१६ प्रतिशतको तुलनामा २०७४ साउनमा ३.५६ प्रतिशत पुगेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ साउनको ६.१ प्रतिशतको तुलनामा २०७४ साउनमा ९.७ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/ प्राप्ति 
यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ साउन मसान्तसम्म कुल १५१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ३९ संस्था कायम भएका छन् । 

पूँजी बजार 
नेप्से सूचकाङ्कमा वार्षिक बिन्दुगत आधारमा ४.९ प्रतिशतले ह्रास आई २०७४ साउन मसान्तमा १६३२.७ विन्दुमा झरेको छ । २०७३ साउन मसान्तमा उक्त सूचकाङ्क ४८.४ प्रतिशतले वृद्धि भएको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १५८२.७ विन्दु कायम भएको थियो । 
धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १.२ प्रतिशतले वृद्धि भई २०७४ साउन मसान्तमा रु. १,९१५ अर्ब १९ करोड पुगेको छ । बजार पूँजीकरण अनुपात २०७३ साउन मसान्तमा ५८.७ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८४.२ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८५.२ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.० प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ६.५ प्रतिशत रहेको छ । 
आर्थिक वर्ष २०७४÷७५ को पहिलो महिनामा कुल शेयर कारोबार रकममा ३९.५ प्रतिशतले ह्रास आई रु. २१ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कारोबार रकम २१३.१ प्रतिशतको उल्लेख्य वृद्धि भई रु. ३५ अर्ब ७८ करोड पुगेको थियो । 
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ साउन मसान्तसम्ममा १९९ रहेको छ । २०७३ साउन मसान्तमा यस्तो संख्या २२६ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्। ज्ञघ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २०७४ साउन मसान्तमा ४०.६ प्रतिशतले वृद्धि भई रु. २९१ अर्ब ७१ करोड पुगेको छ । समीक्षा अवधिमा मा रु. १ अर्ब १० करोड बराबरको साधारण शेयर, रु. ८ अर्ब १७ करोड बराबरको हकप्रद शेयर, रु. ३९ करोड बराबरको बोनस शेयर र रु. ७ अर्ब बराबरकोसरकारी ऋणपत्र गरी कुल रु. १६ अर्ब ६६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.