September 22nd, 2017

यस्ता छन्, साताभरका उत्कृष्ट बैंकिङ खबरहरु

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता व्यवस्थापिका संसदले सहकारी विधेयक पारित गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

सहकारी विधेयक पारित
सहकारी विधेयक—२०७४ व्यवस्थापिका संसदबाट पारित भयो । सहकारी तथा गरिवी निवारणमन्त्री अम्बिका बस्नेतले पेश गरेको विधेयक संसदले सर्वसम्मत पारित गरेको हो । विधेयकमा सहकारी कसुरलाई पनि बैंकिङ कसुरसरह परिभाषित गरिएको छ । अब विधेयकलाई राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनको रूपमा कार्यान्यनमा आउनेछ ।

१० प्रतिशत नगद फिर्ता योजना
बैंकिङ कार्डबाट भुक्तानी गर्ने बानीको विकास गराउन विभिन्न बैंकहरु मिलेर नयाँ योजना ल्याए । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध रहेका बैंकहरुले आफ्नो भिसा कार्डका ग्राहकहरुलाई सिधै कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता दिने योजना घोषणा गरिएको हो । नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गरी १० वटा बैंकले संयुक्त रुपमा अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरेर यस्तो योजना ल्याएका हुन् । यस योजनाबाट सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड, एनसीसी बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका भिसा कार्ड ग्राहकहरु लाभान्वित हुनेछन् । यी बैंकहरुले ग्राहकहरुमा एटिएमबाट मात्र पैसा नझिकी सिधै बिक्रि केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको विकास गराउन यस्तो योजना ल्याएको बताएका छन् । यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वा क्रेडिट कार्डमार्फत नेपालभित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रि केन्द्रहरुबाट सर–सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १०५ नगद आ–आफ्नो खातामा फिर्ता पाउने छन् । साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा रु ५००सम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्डबाहकले प्रत्येक दिन रु १००० सम्म मात्र नगद फिर्ता पाउनेछन् ।

गोरखामा नक्कली नोट
साताको सोमबार गोरखा सदरमुकामको एक पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्यो । सोमबार दोलखामा एक हजार रुपैयाँको नक्कली नोट भेटिएको जिल्ला प्रशासन कार्यालय गोरखाले पुष्टि गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार फेला परेका दुई भन्दा बढी नक्कली नोटमा एउटै च २५, ४३६१३३ नम्बर उल्लेख छ । ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको स्थानीय व्यापारीले बताएका छन् ।  नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको भेटिएको नक्कली नोटमा नभएको स्थानीयले बताएका छन् ।  गोरखा नगरपालिका–७ बतासेका व्यापारी प्रकाश रोकाको पसलमा, नयाँ बजारस्थित ओमशंकर स्टोरमा,  नयाँबजारकै जनमुखी सहकारीमा पनि  एक हजार रुपैयाँकै नक्कली नोट फेला परेको थियो । नक्कली नोटको बिगबिगी बढेपछि व्यापारी र जनतालाई चनाखो रहन, नोट राम्रोसँग हेरेर मात्रै लेनदेन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । नक्कली नोटको कारोबार गर्नेको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ ।

अन्य
सिद्धार्थ बैंक लिमिटेडले इलामको इलाम बजार र फिक्कलको फिक्कल बजारमा नयाँ शाखा विस्तार गर्यो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत श्रावण महिनामा नेपालका तराई जिल्लाहरुमा आएको बाढी र डुबानले पुर्याएको क्षतिबाट प्रभावित जनताहरुलाई राहतका रुपमा भौतिक सहयोग स्वरुप डेभलपमेन्ट बैंकर्स एशोसियसन बैंकले पाँच लाख रुपैयाँ नगद सहयोग गर्यो ।
कञ्चन डेभलपमेण्ट बैंक लिमिटेड आफ्नो स्थापनाकालको आठ बर्ष पुरा गरि नवौं बर्षमा प्रवेश गर्यो ।
एनआईसी एशिया बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेडबीच जेएएनबीआई कोर्स सञ्चालन सम्बन्धी सम्झौता भयो ।
प्रभुसँग दशैँतिहार र छठ उमंग, हर्षले सबैजना दंग अन्तर्गत पहिलो साताका विजेताहरुको नामावली घोषणा गरियो ।
हिमालयन बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग रकम प्रदान गर्यो ।
सनराइज बैंक लिमिटेडले सुरक्षित घर कर्जा अन्तर्गत आफ्नो मृतक ग्राहकका परिवारलाई बीमा रकम भुक्तानी गर्यो ।
ग्लोबल आइएमई बैंक थानकोट शाखाले थानकोट चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु तथा क्षेत्रका बासिन्दाको उपस्थितीमा बैंंकिङ्ग सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]