September 22nd, 2017

वित्तीय प्रणालीमा नगद डलरको अभाव

कृष्ण रिजाल / वित्तीय प्रणालीमा नगद डलर (क्यास डलर)को अभाव देखिएको छ । विदेशमा डलर लैजाने नेपाली र नेपाल आएर कार्डबाट नगद झिक्ने विदेशीको संख्या बढेपछि क्यास डलरको अभाव देखिएको हो । क्यास डलर अभाव देखिएपछि बैंकहरूले आयात गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंक तथा वाणिज्य बैंकहरूको विदेशमा रहेको खातामा डलर मौज्दात पर्याप्त रहेको छ । तर, बैंकहरूमा क्यास डलर भने अभाव देखिएको हो । डलर अभाव भएपछि वाणिज्य बैंकहरू आफैँले आयात गरेरै आवश्यकता पूर्ति गरिरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

वाणिज्य बैंकले डलर आयात थाले
क्यास डलर भएपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आयातको स्वीकृति दिएको छ । अहिले एनआइसी एसिया, नबिल, एनसिसीलगायत केही वाणिज्य बैंकहरूले क्यास डलर आयात गरिरहेका छन् । नबिलले आवश्यकताअनुसार हरेक साता १० हजार डलरसम्म आयात गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत शसिन जोशीले जानकारी दिए ।

विदेशमा सञ्चित डलर कति छ ? 
नेपाल राष्ट्र बैंकसँग गत असार मसान्तसम्ममा १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँबराबर विदेशी विनिमय सञ्चिति रहेको छ । यसमध्ये करिब ६० प्रतिशत रकम डलर रहेको राष्ट्र बैंकले जनाएको छ । विदेशमा सञ्चित डलर पर्याप्त भए पनि क्यास डलरको भने अभाव देखिएको कार्यकारी निर्देशक थापाले बताए । ‘विदेशमा रहेका नेपाली बैंकका खातामा पर्याप्त डलर छन्, यहाँ बैंकहरूसँग क्यास डलरको केही अभाव देखिएको छ,’ उनले भने, ‘यसले गर्दा गोजीमा पैसा भए पनि खर्च गर्न नपाएजस्तै भएको छ ।’

कसरी भयो क्यास डलर अभाव
विदेश पढ्न तथा घुम्न जाने अधिकांश नेपालीहरूले क्यास डलर बोकेर जान्छन् । यस्तो संख्या बढेपछि बजारमा क्यास डलरको केही अभाव देखिएको सिइओ जोशी बताउँछन् । ‘विदेश जाने नेपाली र नेपालमा आउने विदेशी दुवैले क्यास डलर प्रयोग गर्छन्,’ उनले भने, ‘अहिले क्यास डलरको माग बढी भएका कारण अभाव देखिएको हो ।’

नेपालमा डलर आउने स्रोत रेमिट्यान्स, निर्यातमा आउने भुक्तानीलगायत हो । तर, दुवै आउने च्यानल बैंकिङ भएका कारण सञ्चिति बढेपछि क्यास भने बढ्दैन । नेपालीहरू विदेश जाँदा २ हजार ५ सय डलरसम्म नगद डलर लिएर जान सक्छन् । अधिकांशले कार्ड प्रयोग गर्दैनन् । तर, नेपाल आउने पर्यटकले भने नगदभन्दा कार्ड नै लिएर आउँछन् । यसले गर्दा क्यास डलरको खपत बढेको हो ।

कसरी हुन्छ क्यास डलर आयात
आजभोलि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई नै क्यास डलर आयात गर्न दिने गरेको छ । बैंकहरूले विदेशमा रहेको आफ्नो खाताबाट क्यास डलर झिकेर नेपाल आयात गर्ने हुन् । ‘सामान्य भाषामा भन्नुपर्दा डलर आयात गर्ने भनेको बैंकको ग्राहकले बैंक वा एटिएमबाट पैसा झिकेजस्तै हो,’ थापा भन्छन्, ‘आफ्नो खातामा भएको डलरलाई क्यासमा नेपाल ल्याउने नै क्यास डलरको आयात हो ।’ राष्ट्र बैंकले पनि आवश्यकताअनुसार यसरी क्यास डलर आयात गर्ने गरेको उनले बताए । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]