September 22nd, 2017

बीमा कम्पनीको प्रतिफल : कसको लाभांश कति ?

प्रजिता बुढाथोकी/ आर्थिक वर्षको समाप्तिसँगै बीमा कम्पनीहरूले पनि लाभांश प्रस्ताव गर्ने क्रम शुरू गरेका छन् । हालसम्म ३ बीमा कम्पनीले आगामी साधारणसभामा पेश गर्न लाभांश प्रस्ताव गरेका छन् भने ५ कम्पनीले साधारण सभामार्फत लाभांश पारित गराएका छन् । लाभांश पारित गर्नेहरूमा नेपाल लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, नेशनल लाइफ र एभरेष्ट इन्स्योरेन्स छन् प्रस्ताव गर्नेहरूमा नेको इन्स्योरेन्स, एनबी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले रहेका छन् । प्रस्तावित लाभांश पारितका लागि एनबी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले असोज १० गते साधारणसभा बोलाएका छन् ।

लाभांश पारित गर्ने ५ कम्पनीले आर्थिक वर्ष २०७२/७३ को गरेका हुन् भने प्रस्ताव गर्ने ३ कम्पनीले आव २०७२/७३ का लागि गरेका हुन् । गत आवको लाभांश प्रस्ताव गर्नेमा तीनओटै निर्जीवन बीमा कम्पनी रहेका छन् । १० जीवन बीमा कम्पनीमध्ये कुनैले पनि गत आवको लाभांश घोषणा गरेका छैनन् । अघिल्लो आवको लाभांश पारित गरे पनि ६ ओटै कम्पनीले वितरण गर्न भने बाँकी रहेको जानकारी दिएका छन् ।

पाँच वर्षको साधारणसभा संयुक्त रूपमा असार २३ गते सम्पन्न गरी २० प्रतिशत बोनस र ६ सय प्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताव पारित गरेको एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ । एभरेष्टले हकप्रदका लागि भदौ २३ गते सेबोनमा निवेदन दिएको हो ।  एभरेष्टले आव २०६८/६९ देखि २०७२/७३ सम्मको लेखापरीक्षणलाई पारित गर्दै उक्त लाभांश प्रस्तावसमेतलाई अन्तिम रूप दिएको हो । पारित बोनस शेयर अबको १ हप्तामा वितरण गर्न शुरू गर्ने कम्पनीले बताएको छ ।

साउन २७ मा अघिल्लो आवको लाभांश प्रस्ताव पारित गरेको नेशनल लाइफ इन्स्योरेन्सले उक्त बोनस वितरणको तयारी गरिरहेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बोनसका लागि नेपाल स्टक र हकप्रदका लागि धितोपत्र बोर्डसँगको प्रक्रिया अघि बढाइएको जानकारी गराए । उनले जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृतिको प्रक्रिया लामो भएकाले गत आवको लाभांश अहिले नै प्रस्ताव गर्न सक्ने अवस्थामा नरहेको बताए । नेशनलले बोनस र हकप्रदसँगै बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत पारित गरेको छ ।

त्यस्तै प्राइम लाइफले चार वर्षको साधारणसभा संयुक्त रूपमा आयोजना गरी २५ प्रतिशत बोनस र १ बराबर १ दशमलव ६० को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । प्राइमले आव २०६९/७० देखि साधारणसभा गर्न सकेको थिएन । बीमा समितिले वित्तीय विवरणलाई समयमै स्वीकृति नदिएकाले प्राइमको साधारणसभा हुन नसकेको हो । समितिले प्राइमलाई विस्तृत लेखापरीक्षणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

बीमा कम्पनीहरूले लेखा परीक्षणसहितको प्रतिवेदन आर्थिक वर्ष शुरू भएको ६ महीनाभित्र अर्थात् पुस मसान्तभित्र स्वीकृति गराई सोही समयभित्र साधारणसभा सम्पन्न गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले यसअघिको १० महीनाभित्र गर्नुपर्ने व्यवस्था हटाएर गतवर्षदेखि यो नियम लागू गरेको हो । यो आधारमा कम्पनीहरूले अबको ४ महीनाभित्र लाभांश पारित गरिसक्नुपर्ने हुन्छ । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]