September 20th, 2017

भारतीय मुथुट फाइनान्सले नेपालको बैंकिङमा लगानी गर्ने

रुपा कोइराला । भारतीय वित्तीय कम्पनी मुथुट फाइनान्सले नेपालको बैंकिङमा लगानी गर्ने भएको छ । कम्पनीले नेपालमा बैंक खोल्ने योजना सार्वजनिक गरेको छ । मुथुट फाइनान्सका अध्यक्ष एम.जे. जर्जले नेपाल सरकारले लगानीका लागि सहजता गरिदिए मुथुटले बैंकको अवधारणा नेपाल भित्र्याउने बताए । नेपाल सरकारले सस्तो मूल्यमा लिजमा जग्गा उपलब्ध गराएमा मुथुटले नेपालमा बैंकले खोल्ने जर्जले बताए । यस विषयमा मुथुटले संचालक समितिमिा छलफल गरेर छिटै निर्णय गर्ने भएको छ । 

युनाइटेड फाइनान्समा रणनीतिक साझेदार
मुथुट फाइनान्स नेपालमा चौधरी ग्रुपको लगानीमा संचालित युनाइटेड फाइनान्स कम्पनीमा रणनीतिक साझेदार बन्ने भएको छ । फाइनान्सले युनाइटेडमा २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । मुथूट फाइनान्सले युनाइटेडको २० प्रतिशतभन्दा केही बढि संस्थापक सेयर खरीद गर्ने छ । दुई कम्पनीबीच एमओयु सम्झौता भइसकेको युनाइटेड फाइनान्सले जनाएको छ । रणनीतिक साझेदार भित्रयाउने प्रस्ताव दुवै कम्पनीका नियामक निकायबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ । 

भारत–नेपाल मनि ट्रान्सफर सर्भिसमा फाइनान्सले प्रभु बैंकसँग मिलेर समेत सहकार्य गरिरहेको छ । 

मुथुट कम्पनी के हो ? कहाँ कहाँ छ लगानी ?
यस फाइनान्सका फाउन्डर श्री एम जर्ज मुथुटले सन् १९३९ मा भारतमा गोल्ड लोनको अवधारण भित्र्याएका थिए । आफ्ना पिता निनन मठाई मुथुटले १८८७ मा स्थापना गरेको ट्रेडिङ विजनेसलाई एम जर्जले गोल्ड लोन विजनेसको रुपमा विकास गरेका हुन् । हाल लोन पोर्टफोलियोको आधारमा मुथुट फाइनान्स भारतकै सबैभन्दा ठूलो गोल्ड फाइनान्सिङ कम्पनी बनेको छ । भारतको गैरबैंकिङ वित्तीय संस्थामध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको मुथुटले मुलुकभर २९ वटा राज्यमा शाखा विस्तार गरिसकेको छ । भारतको कोची प्रदेशमा प्रधान कार्यालय रहेको फाइनान्सले भारतीय बजारमा १८ वटा विविध क्षेत्रमा भारतका ४५ हजार शाखा मार्फत लगानी गर्दै आएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई गोल्ड लोन, मनि ट्रान्सफर, विदेशी विनिमय, हाउसिङ फाइनान्स, ट्राभल सर्भिस, बीमा, एटिएम, माइक्रोफाइनान्स लगायतका सेवा दिँदै आएको छ । फाइनान्सले २४ हजारभन्दा बढी कर्मचारीमार्फत मुलुकभरका ७० लाख ग्राहकलाई सेवा दिइरहेको छ । एक दिनमा एक लाख ३० हजारभन्दा बढी ग्राहकलाई सेवा दिने गरेको कम्पनीको दाबी छ । सुन धितोमा राखेर कर्जा उपलब्ध गराउँदै आएको मुथुटले १४९ टन सुनका गहना धितोमा राखेको जनाएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]