September 19th, 2017

मुलुकको आर्थिक विकास र बैंकिङ करिअर

प्रवीण न्यौपाने । नेपाल एक औधोगिक सम्भाव्यता बोकेको मुलुक हो । दुई ठूलो अर्थतन्त्र भएका मुलुकहरुका बीच रहेको नेपाल बैंकिङ माध्यमबाट विश्वसामु अब्बल हुन सक्छ । यी दुई देशसँग समानन्तर सम्बधलाई निरन्तरता दिएमा र आर्थिक तथा राजनीतिक हिसाबले कसैलाई काखा र कसैलाई पाखाको नीति नलिएमा विस्तारै मुलुकको आर्थिक विकास हुनेछ । त्यसैले, नेपालले यो बाटोमा सँधै हिँडिरहनु बुद्धिमानी हुन्छ । यो सबै कुरा बैंकिङ माध्यमबाट मात्रै सम्भव हुन्छ । 

नेपालको सबै भन्दा धेरै ब्यापार घाटा यीनै दुई छिमेकी मुलुकसँग भएको छ । नेपालले यीदुई ठुला देशसँग ब्यापार घाटालाई सकेसम्म न्युनिकरण गर्नुको विकल्प छैन । नेपाले बर्षेनि ब्यापार घाटाको बजेटमात्र पस्किरहेको छ । बैकिङ क्षेत्रले नै यो ब्यापार घाटालाई न्युनिकरण गराउन सहयोग गर्दछ । संसदीय समितिको निर्देशनमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हरेक गाउँपालिका वा नगरपालिकामा अनिवार्य रुपमा आफ्नो शाखा बिस्तार गर्न निर्देशन दिएको छ । बैंकहरु पनि स्थानीय तहमा जान तत्पर देखिएका छन् । तर, स्थानीय साधन स्रोतको अभावले केहि कठिनाई देखिएको छ । 

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई गाउँगाउँमा जान प्रोत्साहित गरेपनि धेरै आरोह र अबरोह झल्नुपर्ने देखिन्छ । भनिन्छ नि, म ताक्छु मुडो बन्चारो ताक्छ घुडो । यस्तै भइरहेको छ अहिले बैंकिङ क्षेत्रमा । बैंक तथा वित्तीय संस्था कसरी नाफा कमाउने भन्ने दाउमा छन् भने नेपाल राष्ट्र बैंकले चाहिँ त्यहि अनुसारको कसिलो नियमले बाँधिरहेको छ । कहिले सिसिडि रेसियो त कहिले केको बाहनामा बजारलाई  बैंक तथा वित्तीय संस्थाले तताइरहेको छ । 

नेपालमा पर्याप्त संख्यामा बैंक तथा वित्तीय संस्थाहरु भएर पनि खासमा जुन अनुपातमा आर्थिक वृद्धि हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । राष्ट्र बैंकले पहिलेको तुलनामा बैंकहरुको निगरानीलाई थप कडा बनाउँदै लगेको छ । नेपालमा अहिले संचालनमा रहेको बैंक तथा वित्तीय संस्थाहरुलाई दीर्घकालसम्म टिक्न गाह्रो छ । यो बजारले यति धेरै वित्तीय संस्थालाई धान्न सक्दैन । यद्यपि, विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास गर्ने हो भने, यो पनि सम्भव छ । 

अहिले नेपालमा बैंकिङ क्षेत्र युवाहरुका लागि हट केक बनेको छ । यहाँ जति धेरै आकर्षण छ, त्यति नै धेरै चुनौति पनि छ । धेरै युवा बैदेशिक रोजगारीको शिलशिलामा बिदेश हानिएका छन् । त्यहि बिदेशिएका युवाको भरमा नेपाल र नेपालको अर्थ ब्यबस्थाले घिटिघिटि सास फेरेको छ । वि.सं. २०४२ मा वैदेशिक रोजगार ऐन जारी भए पश्चात् नेपालमा वैदेशिक रोजगारी सम्बन्धी नीतिगत तथा संस्थागत प्रयास थालनी भएको देखिन्छ । वैदेशिक रोजगारीको महत्वलाई आत्मसात् गरी आठौँ योजना (२०४९–५४) देखि वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूको खोजी गर्ने प्रक्रियालाई महत्व दिन थालिएको हो । वि.सं. २०५४ फागुन १ गतेदेखि सर्वसाधारण नेपालीलाई जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानी बनाउने सुविधा सुरु गरे पश्चात् ग्रामीण क्षेत्रका नेपाली समेत वैदेशिक रोजगारमा जाने क्रम तीब्र बन्यो ।   

नेपालमा धेरै बैंकहरुले चालू आर्थिक वर्षमा आफ्नो सेवा तथा शाखा विस्तारमा उल्लेख्य प्रगति हासिल गर्नेछन् । त्यसैले, यो वर्ष बैंकिङ करिअरमा धेरैले भविष्य बनाउने निश्चित छ । तर, बैंकिङ क्षेत्रमा प्रवेश गर्न जति सहज छ, टिकिरहन उत्तिकै गाह्रो छ । बैंकिङ करिअर बाहिरबाट सहज देखिएपछि वास्तवमा निकै चुनौतिपूर्ण छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको विभिन्न निर्देशनलाई पालना गर्दै अघि बढ्नुपर्ने हुन्छ । 

हामी सबै मिलि नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनुपर्छ । सबैको साथ र सहयोग विना मुलुकको आर्थिक समृद्धि सम्भव छैन । त्यसैले, हामीहरुले आआफ्नो स्थानबाट यथाशक्य सहयोग गरेर मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ । (लेखक गण्डकी विकास बैंकको महाराजगञ्ज शाखामा कार्यरत छन् ।)               


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]