September 19th, 2017

नेपालमा बैंकिङ प्रविधिको प्रयोग

कुसुम लामा । प्रभु एउटा फाइनान्स कम्पनीबाट शुरु भएर विकास बैंक हुँदै वाणिज्य बैंक बनेको हो । यो यात्रामा हामी धेरै विस्तारित भइसकेका छौँ र धेरै कुरा बुझिसकेका पनि छौँ । फाइनान्स कम्पनी छँदा र अहिले वाणिज्य बैंक भइसक्दा धेरै फरक भएको पाएका छौँ । 

फाइनान्स कम्पनी र वाणिज्य बैंक
फाइनान्स कम्पनीका ग्राहकहरु वाणिज्य बैंकको तुलनामा कम हुन्छन् । जतिजति ग्राहकको संख्या तथा व्यवसाय बढ्दै गयो, त्यतित्यति प्रविधिको आवश्यकता महशूस हुँदै जान्छ । किनकि, वाणिज्य बैंकहरुले मुलुकभित्र मात्र नभएर अन्तर्राष्ट्रिय कम्पनीहरुसँग समेत कारोबार गर्नुपर्ने हुन्छ । वाणिज्य बैंकहरुका ग्राहक र बैंकले दिने सेवा धेरै हुन्छन् । ग्राहकहरुले र समग्र मुलुकले पनि वाणिज्य बैंकहरुबाट धेरै अपेक्षा गरेका हुन्छन् । त्यसैले, वाणिज्य बैंकहरुप्रति धेरै जिम्मेवारी हुन्छ र सोहीअनुरुप प्रविधिको पनि आवश्यकता हुन्छ ।

बैंकिङ प्रविधिहरु
नेपालका बैंकहरुमा सीबीएस अर्थात कोर बैंकिङ सफ्टवेरको प्रयोग धेरै हुने गरेको छ । बैंकहरुले डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेट कार्ड लगायतका कार्डहरु निकाल्छन् । यो कार्डहरु निकाल्ने सफ्टवेयर भनेको स्वीच हो । हालसम्म विदेशी कम्पनीको स्वीच प्रयोग गर्ने प्रचलन रहेकोमा विस्तारै नेपालकै बैंकहरु आफ्नै स्वीच राख्न सक्षम हुँदै गएका छन् ।  

बैंकिङ सफ्टवेरको प्रयोग
अहिले बैंकिङ कम्युनिकेसन इन्टरनेट र इन्ट्रानेटबाट हुन्छ । इन्टरनेट प्राय केवल नेटबाट एउटा ब्रान्चबाट अर्को ब्रान्चमा गएको हुन्छ । इन्ट्रानेट एकदमै सुरक्षित हुन्छ । प्रायः बैंकमा इन्ट्रानेटको प्रयोग धेरै गरिन्छ । तर यो धेरै महंगो पर्छ । अहिले इन्टरनेटबाटै सुरक्षित राख्न विभिन्न सेक्युरिटि सफ्टवेयरहरु आएका छन् । यसले लागत घटाउँछ र केबलको आवश्यकता नपर्ने भएकाले सहज पनि हुन्छ । 

डिजिटल फाइनान्सको आवश्यकता
अहिले नेपालमा डिजिटल फाइनान्सको आवश्यकता महशूस गरिएको छ । बैंकहरुले ग्राहकहरुलाई सहज बनाउन डिजिटल फाइनान्सियल सर्भिस दिन थालेका छन् । यद्यपि, डिजिटल सेवा दिने भनेर सुरु गर्दैमा ग्राहकको आकर्षण हुँदैन । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले यसबारे जनचेतना जगाउनुपर्छ । डिजिटल फाइनान्सका सेवा सुविधाको बारेमा जानकारी गराउनुपर्छ । यसले पेपरलेस ट्रान्जेक्सनको विकास गर्छ, जुन आजको आवश्यकता हो । 

टेक्नोलोजीमा अगाडी ‘प्रभु बैंक’
प्रभु बैंक आफैँले प्रभु टेक्नोलोजीमार्फत थुप्रै बैंकिङ प्रविधिहरु ल्याएको छ । अहिले नेपालका बैंकहरुले क्लाउड बेसको सफ्टवेयरहरु प्रयोग गरिरहेका छन् । यो सफट्वेरको प्रयोग गर्दा आफूले छुट्टै सरभर राख्न पाइँदैन भने सानो कोठामा एउटा डेडिकेटेड कम्प्युटर राखेर २४सै घण्टा अन गर्नुपर्छ । त्यो डेडिकेटेड कम्प्युटर विग्रिएको अवस्थामा डेडिकेटेक आईटीको आवश्यकता पर्दछ, जसको नेपालमा सहज उपलब्धता छैन । प्रभुले यस्ता सफ्टवेरहरु चार सय वटा सहकारी संस्थाहरुलाई निःशूल्क दिएको छ । 

यसबाहेक, हामीले अन्य कार्डको सफ्टवेयर पनि चलाएका छौं । पहिले बैंकहरुले एससीटी मार्फत कार्डको प्रयोग गर्दै आएका थिए । अहिले बैंकहरु आ–आफ्नै स्वीचबाट कार्ड प्रयोग गरिरहेका छन् । प्रभुले पनि आफ्नै स्वीच राखेर ‘रुपया’ सुरु गरेको छ । प्रभु बैंकले रेमिट्यान्स कार्ड पनि चलाई रहेको छ । विदेशमा बसेको मान्छेले उक्त कार्डको प्रयोग गरी रेमिट्यान्स पठाउन सक्छन् । यसरी पठाएको पैसाको सर्भिस चार्ज समेत प्रभु आफैँले व्यहोर्ने गरेको छ । प्रिपेड कार्डहरुमा को–ब्राण्डिङ गरेर पनि हामीले कार्डहरु निकालेका छौं । 

यसबाहेक, अहिले हामीले बसको टिकट, बिद्युत्को विल, पानीको विल तिर्ने प्रविधि बनाएका छौँ । तर, यसलाई कसरी बजारीकरण गर्ने भन्ने समस्या छ । सिकाउन र मोटिभेसन गर्नका लागि भनेर अहिले हामीले यो सेवा निःशूल्क दिइरहेका छौँ । हामीले प्रभु मेनेजमेन्टबाट विभिन्न तालिमहरु समेत दिने गरेका छौँ ।

हामीले अहिले ई–शिक्षा नामक सफ्टवेयर ल्याएका छौं । यो कलेजहरुमा निशुल्क वितरण गर्दैछौँ । यो एपबाट अविभावकले आफ्नो बच्चा स्कूल गयो कि गएन, होमवर्क गर्यो कि गरेन थाहा पाउन सकिन्छ । विद्यार्थी तथा शिक्षककका लागि पनि छुट्टै एप हुन्छ, जसको माध्यमबाट विद्यालयको फि तिर्न स्कूल पुग्नु पर्दैन, घरमै बसेर तिर्न सकिन्छ । यसरी, सम्पूर्ण कारोबारहरु बैंकिङ च्यानलबाटै हुनुपर्छ भनेर प्रभु मेनेजमेन्टले नयाँनयाँ प्रविधि ल्याइरहेको छ ।  

इन्डियाबाट मनि ट्रान्सफर सुविधा
प्रभु मेनेजमेन्टले इन्डियाबाट नेपाली नागरिकतालाई मान्यता दिएर पैसा ट्रान्सफर गर्ने व्यवस्था पनि मिलाएको छ । इन्डियामा प्रभु मनि ट्रान्सफरगइसके पछि मात्रै यो व्यवस्था लागु भएको हो । यसबाट राष्ट्र बैंकलाई धेरै सहयोग पुगेको छ भन्ने मलाई लागेको छ । अहिले हाम्रो भारतमा दुई हजार जति एजेण्टहरु पुगिसकेका छन् । बिशेष गरेर सुदुरपश्चिम तिरका मान्छेहरु काठमाडौँमा काम नपाइने भएपछि भारत पस्ने गरेका छन् । यद्यपि, भारतबाट पैसा ल्याउने क्रममा सुरक्षाको समस्या थियो । प्रभुले नागरिकतालाई मान्यता दिएर पैसा ट्रान्सफर गर्ने व्यवस्था पनि मिलाएपछि सहज भएको छ । 

रेमिट्यान्स र हुण्डी फरक छन्
अहिले वास्तवमा नेपालीहरुले हुण्डी र रेमिट्यान्सबीचको फरक नै बुझेका छैनन् । हुण्नी र रेमिट्यान्स एउटै हो भन्ने सोचाई कतिपयमा रहेको छ । जसरी पठाएपछि पैसा घर नै पुग्ने हो, अझ हुण्डीबाट बठाउँदा सर्भिस चार्ज लाग्दैन भन्ने मानसिकता धेरै नेपालीमा रहेको छ । तर, हुण्डी र रेमिट्यान्स फरक कुरा हुन् । हुण्डी अवैधानिक हो । त्यसैले, यो असुरक्षित छ । त्यस्तै, हुण्डी कारोबारबाट मुलुकलाई पनि घाटा हुन्छ । यो कुरा सबै नेपाली नागरिकले बुझ्नु जरुरी छ । सबै आर्थिक कारोबारलाई बैंकिङ च्यानलमा ल्याउने प्रयासलाई सफल पार्नु जरुरी छ । 

प्रभु बैंक मात्र नभएर अहिले सबै बैंकहरुले प्रविधि भित्राइरहेका छन् । त्यसैले, प्रविधि सम्बन्धी जानकारी सबैले लिनुपर्छ । सहरभन्दा पनि ग्रामीण भेगलाई प्राथमिकता दिएर बैंकिङ प्रविधिको विकास गरिएको छ । ग्रामीण भेगका जनताले पनि समान रुपमा बैंकको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले बैंकिङ प्रविधिको विकास गरिएको छ । यद्यपि, वित्तीय चेतनाको अभावमा बैंकिङ प्रविधिको प्रयोग अन्यन्तै न्यून हुने गरेको छ । (प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामाद्धारा मिडिया इन्टरनेशनलद्धारा आयोजित कार्यक्रममा व्यक्त गरिएका विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]