September 19th, 2017

उद्यमी युवालाई सहकारीको सहुलियत कर्जा

सन्तोष थापा / कुश्मा बजारका सक्रिय युवाहरुको सक्रियतामा सञ्चालित प्रतिफल बचत तथा ऋण सहकारी संस्थाले कुश्मा नगरपालिकाभित्रका विभिन्न १८ जना युवा व्यवसायी तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । विगत ६ वर्ष अघिदेखि आर्थिक कारोबार गर्दै आईरहेको सहकारीले युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सचिवालयको सहकार्यमा प्राप्त ऋण रकमबाट उक्त सहयोग प्रदान गरेको हो ।

 सहकारीले आइतबार एक कार्यक्रमको आयोजना गरी कृषि व्यवसाय, पशुपालन व्यवसाय तथा अन्य विभिन्न उद्यमशील कार्यमा सक्रिय युवाहरुलाई उक्त रकम प्रदान गरेको हो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उनीहरुलाई कर्जा स्वरुपको चेक रकम र व्यवसाय सञ्चालनका लागि व्यवसाय, सहकारी तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयको परिचयात्मक बोर्ड प्रदान गरिएको थियो ।

सहकारीका कोषाध्यक्ष केदारनाथ आचार्यले दिएको जानकारी अनुसार, सहकारीले पहिलो किस्ताको रकम स्वरुप २५ लाख रुपैँया कर्जा प्रवाहका लागि प्राप्त भएको थियो । उद्यमी तथा व्यवसायीहरुलाई उनीहरुको व्यवसायको आधारमा उक्त रकम ३ बर्ष भित्र चुक्ता गर्ने गरी १० प्रतिशत व्याजदरमा लगानी गरिएको उनले बताए । यसरी लगानी भएको कर्जा रकम उद्यमी व्यवसायीले समयमा भुक्तान गरेमा व्याज रकममा तिर्दै आएको ६० प्रतिशत रकम फिर्ता हुने सहकारीका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।

कार्यक्रममा सहभागीको तर्फबाट पशुपालक व्यवसायी परशुराम भण्डारीले धन्यवाद ज्ञापन गर्दै साना उद्यमी व्यवसायीका पक्षमा सहुलियत कर्जा प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा भण्डारीले विदेशमा पुगेर कमाएको १ सय डलर भन्दा घरपरिवारसँगै बसेर पसिना बगाएर कमाएको १ सय रुपँैया ठूलो कुरा भएको बताउँदै युवाहरुलाई आफ्नै गाउँ ठाउँमा स्वरोजगार हुन उनको आग्रह थियो ।

 कार्यक्रममा नगरप्रमुख जोशीले सहकारीहरु नाफामुलक मात्रै हुन्छन् भन्ने भ्रम प्रतिफलले चिर्न सकेको बताउँदै आगामी दिनमा समेत सेवामुलक कार्यमा लाग्न अनुरोध गर्दै नगरपालिकाको सहकार्यमा पनि यस्तै प्रकारका कार्यहरु गर्न आफु तयार रहेको बताए ।
सहकारीका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा, सहकारीका विनोद आचार्यले बोलेका थिए भने सञ्चालन सहकारीका सदस्य योगराज गिरीले गरेका थिए । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]