September 18th, 2017

कर्जा प्रवाहमा माइक्रोफाइनान्समा समस्या, एकै व्यक्ति एक दर्जनको ऋणी

सुष्मा थापा – लघुवित्त क्षेत्रमा विकृति बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले लघुवित्त वित्तीय संस्थाहरुमा कर्जाको दुरुपयोग, बहुबैंकिङ, जग्गा दलालको प्रवेश लगायतका विकृतिहरु रहेको बताए । ‘वित्तीय पहुँच र वित्तीय समावेशीता विस्तारमा लघुवित्तहरुको योगदान सराहनिय छ । तर, ऋणीहरुले लघुवित्तबाट लिएको ऋणको दुरुपयोग गर्ने गरेका छन् ।’ उनले भने । 

लघुवित्तबाट लिएको कर्जाको दुरुपयोग
लघुवित्तहरुले विनाधितो सामुहिक जमानीमा कर्जा प्रवाह गर्ने गर्दछन् । ग्रामीण भेगका जनता तथा विपन्न वर्गले पनि बैंकबाट कर्जा लिएर उद्यमी बनी आफ्नो जीवनस्तर सुधार्न सकुन् भन्ने उद्देश्यले लघुवित्तहरुले सेवा दिइरहेका छन् । यसले थुप्रै महिला तथा युवाहरुलाई उद्यमी बनाएको छ । यद्यपि, यसै सहजताको फाइदा उठाएर लघुवित्तको ऋणको दुरुपयोग गर्नेहरु पनि कम छैनन् । एउटै ग्राहकले १२÷१३ वटा लघुवित्तबाट ऋण लिएर जथाभावी खर्च समेत गर्ने गरेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा भन्छन्, ‘एउटा व्यक्तिले एउटा लघुवित्तबाट कर्जा लिने र उक्त कर्जा चुक्ता गर्न अर्को लघुवित्तबाट कर्जा लिने गरेको समेत पाइएको छ ।’ यो विकृतिका कारण लघुवित्त क्षेत्र संकटमा पर्छ भन्ने चिन्ता राष्ट्र बैंकलाई रहेको थापाले बताए । उनले भने, ‘लघुवित्तहरुले अरु संस्थाबाट कर्जा लिनेलाई कर्जा दिन छोडे भने लघुवित्त क्षेत्र ढल्छ भन्ने चिन्ता राष्ट्र बैंकलाई छ ।’ 

जग्गा दलालको प्रवेश
लघुवित्त क्षेत्रहरुमा जग्गा दलालहरु प्रवेश गरेर समेत विकृति फैलाइरहेका छन् । बढी व्याज दिने प्रलोभनमा पारेर यस्ता दलालहरुले लघुवित्तहरुबाट ठूलो रकम हात पार्ने र खाइदिने गरेका छन् । लघुवित्तहरु पनि गरिबहरुलाई कर्जा दिँदा भन्दा जग्गा दलालहरुलाई कर्जा दिँदा बढी फाइदा हुने लोभमा फस्ने गरेका छन् । लघुवित्तको व्यवस्थापन र कर्मचारीहरुले आर्थिक महत्व नबुझ्दा यस्तो समस्या आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा बताउँछन् । लघुवित्तकर्मीहरुले आफूले दिने सेवाको मर्म र यसले मुलुकको अर्थतन्त्रलाई पुर्याउने फाइदाका बारेमा बुझ्नुपर्ने उनको भनाइ छ । 

लघुवित्तहरुका यस्ता अनेकौँ समस्या समाधानका लागि राष्ट्र बैंकले निरन्तर प्रयास गरिरहेपनि लघुवित्तकर्मीहरुले नबुझेको थापाको गुनासो छ । राष्ट्र बैंकले हरेक नीति नियम सोचविचार गरेर ल्याउने भएकाले बुझ्दैनबुझि विरोध गर्न नहुने उनको भनाइ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]