September 17th, 2017

‘सम्पत्ती र दायित्वको ब्यवस्थापन बैंकको मुख्य चुनौती’

भुपेन्द्र पाण्डे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । २०६२ माघ देखि राष्ट्रिय वाणिज्य बैंकमा बरिष्ठ प्रवन्धक पदबाट सेवा आरम्भ गरेका चार्टड एकाउन्टेण्ट पाण्डेले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत बैंकमा बिदेशी ब्यवस्थापन रहँदैदेखि कार्य गर्दै आएका छन् । यस बीचमा उनले बैंकका धेरै महत्वपूर्ण विभागहरुमा विभागीय प्रमुख हुँदै नायब महाप्रबन्धकको जिम्मेवारी समेत पुरा गरिसकेका छन् । लामो समयदेखि उनले राष्ट्रिय वाणिज्य बैंकको उच्च ब्यवस्थापनमा रहेर बैंकको ब्यवसाय बिस्तार आक्रामक रुपमा अगाडि बढाइरहेका छन् । बैंकलाई मजबुत बनाउन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकले हासिल गरेका उपलब्धि, बैंकको पछिल्लो अवस्था र आगामी योजनाबारे उनै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेसँग बैंकिङ्ग खबर डट कमका लागि रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ:

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय अवस्था कस्तो छ ?
हामीले आर्थिक बर्ष २०७३।७४ मा १५६ अर्ब रुपैंया निक्षेप संकलन गर्ने लक्ष्य लिएकोमा तरलता समस्याको बाबजुद पनि १५४ अर्ब रुपैंया निक्षेप संकलन गर्यौँ । त्यस्तै, कर्जातर्फ १०१ अर्ब रुपैंया प्रवाह गर्ने लक्ष्य लिएकोमा १०६ अर्ब रुपैंया कर्जा प्रवाह गर्न सफल भयौँ । त्यस्तै, हामीले गत आर्थिक वर्षमा तीन अर्ब ८ करोड रुपैंया खुद मुनाफा आर्जन गरेका छौँ । हाम्रो चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । समग्रमा भन्नुपर्दा, वित्तीय हिसाबले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सबल छ ।

नेपाल राष्ट्र बैंकको पूँजी वृद्धिको योजनापछि बैंकहरुले राम्रो मूनाफा कमाएको देखियो । राष्ट्रिय वाणिज्य बैंकको कुरा गर्ने हो भने पनि अघिल्लो बर्षको तुलनामा ३० प्रतिशतभन्दा बढी नाफा कमाएको छ । के अब बैंकहरु मजवुत भएका हुन् ?
मुलुकको आर्थिक वृद्धिमा बैंक तथा वित्तीय संस्थाको ठूलो भूमिका रहन्छ । अहिले नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुपात बढेर करिब २६ खर्ब रुपैंया पुगेको छ । समग्रमा अहिले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २३.८५ खर्ब रुपैंया अर्थात जीडीपीको अनुपातमा ९१.७५ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा प्रवाह अनुपात जीडीपीको ७६.७४ प्रतिशत छ । अन्य विकसित देशहरुमा हेर्ने हो जीडीपी र कर्जा प्रवाहबीचको अनुपात झन्डै शतप्रतिशत नै हुन्छ । यस आधारमा भन्नुपर्दा, अन्य क्षेत्रको तुलनामा नेपालको बैंकिङ क्षेत्रको स्थिती सबल देखिएको छ ।

हाल कमर्सियल बैंकहरुमा केकस्ता चुनौतीहरु छन् ?
नेपालमा पूर्वाधारको विकास निर्माण हुन धेरै बाँकी छ । भूकम्पका कारण भत्किएका संरचनाहरु समेत अझै निर्माण हुन सकेका छैनन् । नेपालमा अहिलेसम्म ठूलाठूला सडक सञ्जालहरु छैनन्, वैकल्पिक ठूला विमानस्थल छैन्, ठूला ठूला होटलहरु स्थापना हुने क्रममा छन् । यद्यपि, पूर्वाधार विकास गर्ने स्कोप धेरै छ । हामी कमर्शीयल बैंकहरुको निक्षेपको मुख्य अंश अल्पकालिन प्रकृतिका हुने हुंदा दीर्घकालिन लगानी गर्दा सोच्नुपर्ने अवस्था छ । अहिले जलविद्युत् कम्पनीहरु नै १५–१६ बर्षको योजना लिएर आइरहँदा बैंकहरु एक वर्षको सेभिङ र एकदेखि दुई वर्षको फिक्स डिपोजिट कोषले लगानी गरिरहेका छन् । म त भन्छु, सम्पत्ती र दायित्वको ब्यवस्थापन नै कमर्सियल बैंकको मुख्य चुनौती हो । अर्को चुनौती भनेको बैंकहरु बीच भईरहेको तीब्र प्रतिष्पर्धा पनि हो । नेपालमा बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्यालाई हाल नेपाल राष्ट्र बैंकको मर्जर सम्बन्धी नीतिका कारणले साइजमा ल्याउन भने सकेको छ । एउटै ग्राहकलाई धेरै बैंकहरुबाट कर्जाका अफर आइरहेका छन्, त्यसले गर्दा उच्च लागतको डिपोजिट लिएर कम ब्याजदरमा लगानी गर्नुपर्ने अवस्था छ ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी कतिको सुरक्षित रहेको छ ?
भनिन्छ नि ूनो रिक्स नो रिटर्नू जोखिम नलिईकन त रिटर्न नै हुँदैन । साधारणतयाः नेपालमा अहिले पनि परम्परागत बैंकिङ छ । स्थिर सम्पत्तीको धितो बिना कर्जा कारोबार गर्न बैंकहरु नगईरहेको अवस्थामा कतिपय प्राइभेट बैंकहरुले चालुपूंजी फाइनान्सिङमा स्टक र रिसियबललाई मात्र ब्याकअपको रुपमा लिन्छन र कर्जा लगानी गर्दछन् । हामीले त चालुपूंजी फाइनान्सिङमा पनि स्टक र रिसेयबलको ब्याकिङमा थप स्थिर सम्पत्ती कोल्याट्रल ब्याकअपमा निश्चित मार्जिन काटेर डिस्टेस भ्यालुको आधारमा लगानी गर्छौं,े तसर्थ एसेट्सको ब्याकिङले गर्दा कर्जाको डिफल्ट कम हुन्छ । त्यसका लागि पहिलै नै प्रोभिजन छुट्याएको हुनाले त्यति धेरै जोखिम अहिले देखिएको छैन । अहिले २८ वटै वाणिज्य बैंकहरुको औसत एनपिए २ प्रतिशत हाराहारीमा हुनुले पनि कर्जा सुरक्षित नै रहेको इंगित गर्दछ ।

बैंकिङ क्षेत्रमा धेरै प्रविधि विकास भयो, तर प्रविधिको प्रयोग न्युन मात्रै भएको पाईन्छ । किन होला ?
नेपालका बैंकहरु निकै पछि मात्रै प्रविधिमा प्रवेश गर्न थालेको पाइन्छ । जति पनि प्रविधिको विकास भएको छ, बैंकिङ कारोबार गर्न निकै सहज भएको छ । हिजो चेक काटेर बैंकमा गएर लाईन बस्नुपथ्र्यो अहिले एटिएममा पुगेर पैसा निकाल्न सकिन्छ । हिजो फण्ड ट्रान्सफर गर्न बैंकमै पुग्नु पथ्र्यो, अहिले मोवाइलबाटै हुन्छ । अहिलेको पुस्ता नै प्रविधिमैत्री भएकाले सबै काम घरमै बसीबसी हुन्छ । वाणिज्य बैंकको कुरा गर्दा अहिले हाम्रो ग्राहकसंख्या करिब २५ लाख छ । ती ग्राहकहरुको औसत उमेर ४५ देखि ५० वर्षको छ । अब हामीले नयाँ पुस्ताका ग्राहकलाई बैंकका आकर्षण गर्नका लागि मजबुत सूचना प्रविधिको विकास गर्दै प्रविधिमा आधारित बैंकिङ्गको लागि यथेष्ट लगानी गरिरहेका छौं ।

अन्य बाणिज्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकमा फरक के छन् ?
पहिलो कुरा त, हाम्रो संरचना नै फरक छ । हामी पुराना ढड्डाबाट हुर्किँर्दै आएको हुनाले हामीले आफूलाई ब्युटिफाई गर्न पट्टि लागेका छौं । सुरुमा हाम्रो वासलात नै राम्रो थिएन । खराबकर्जा नै ६० प्रतिशत भन्दा बढी थियो भने २३–२४ अर्ब रुपैंया संचीति नोक्सानी थियो । बिरामी भएर मृत्यु हुन मात्र बाँकी रहेको त्यस्तो बैंकलाई नेपाल सरकार, नेपाल राष्ट्र बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम मार्फत सुधार गरेर अहिले हामी सबल बनिसकेका छौँ । अहिले नयाँ आएका बैंकहरुले सुरुवातमा नै प्रविधिको प्रयोग गर्न थालेका छन् । हामीजस्ता पुराना बैंकहरुलाई भने पूरानै व्यवस्थालाई नयां बनाउन समय खर्चनु परेको छ । यद्यपि, हामीले अन्य कुराहरुलाई मिलाउँदै गर्दा पनि विजनेशलाई चाहिँ छोड्नु हुँदैन भनेर निक्षेप, कर्जा सबैको टार्गेट बनाएर संघर्ष गर्यौँ । हिजो हामीलाई व्यालेनसिट देखाउनै लाज लाग्ने स्थिती समेत थियो तर आज राष्ट्रिय वाणिज्य बैंकको ब्यालेनसिट खोजेर हेर्न थालिएको छ । अहिले राष्ट्रिय वाणिज्य बैंक नेपालको उत्कृट बैंकहरु मध्येमा पर्न सफल भएको छ ।

राष्ट्र बैंकले जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा २५ प्रतिशत लगानी गर्नुपर्ने नीति बनाएको छ । यी क्षेत्रहरुमा अहिले राष्ट्रिय वाणिज्य बैंकको लगानी कति प्रतिशत रहेको छ ?
यसअघि, हाईड्रो, होटल र कृषिमा गरेर २० प्रतिशत लगानी गर्नुपर्ने नीति थियो । त्यसलाई बढाएर यसपालीदेखि २५ प्रतिशत पुर्याइएको छ । जसमध्ये, १० प्रतिशत कृषिमा, ५ प्रतिशत हाइड्रोमा, ५ प्रतिशत होटलमा र ५ प्रतिशत अन्यमा भनिएको छ । राष्ट्रिय वाणिज्य बैंकको लगानीको अवस्थालाई हेर्ने हो भने हाइड्रोमा करिब ६ प्रतिशतको हाराहारीमा लगानी गरेका छौं । कृषिमा पौने ९ प्रतिशतको हाराहारीमा लगानी गरेका छौं भने होटलमा पनि ५ प्रतिशतभन्दा बढी नै लगानी गरेका छौँ भने अन्यमा पनि हाम्रो लगानी उल्लेख्य रहेको अवस्था छ । हामीले राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा तोकिए अनुसारको लगानी पुर्याउछौं ।

नयाँ संरचना अनुसार निर्माण भएका स्थानीय तहहरुमा शाखा खोल्न राष्ट्रिय वाण्ज्यि बैंकको तयारी कस्तो छ ?
हामी सरकारी बैंक भएकाले स्थानीय तहमा जानुपर्ने उत्तरदायित्व हाम्रो बढी छ । हुन त सबैजसो बैंकहरु स्थानीय तहमा जाँदैछन् । आगामी वर्षहरुमा हामी ४३–४४ वटा स्थानीय तहमा शाखा खोल्दैछौैं । शाखा खोल्ने प्रक्रिया सुरु भइसकेको छ । अहिले हाम्रो ६८ जिल्लामा शाखा कार्यालयहरु रहेका छन् आगामी दिनमा देशको ७५ वटै जिल्लमा शाखा कार्यालय विस्तार गर्ने लक्ष्य रहको छ ।

शाखा विस्तारका चुनौतीहरु के–के छन् ?
शाखा विस्तारको मूख्य चुनौती भनेको लागत हो । शाखा विस्तार गर्दा धेरै खर्च हुन्छ । शाखा विस्तार गर्दा जनशक्ति र विभिन्न अचल सम्पत्तीमा खर्च गर्नुका साथै ब्यवस्था समेत गर्नु पर्ने प्रमुख चुनौती रहेको छ । शाखा खोल्नु भन्दा पनि अटोमेसन गर्यो भने खर्च पनि कम हुन्छ, नागरिकले सुविधा पनि पाउँछन् । यसमा संचालन लागत ज्यादै कम हुन्छ । सरकारको प्राथमिकतामा भएका कारण शाखा खोल्नु पर्दछ, जसबाट ४० प्रतिशतमा रहेको बैंकिङ्ग सेवाको पंहुचलाई विस्तार गर्न सकिन्छ । उपलब्ध प्रविधि मार्फत सेवा दिने हो भने लागत कम हुनुका साथै बैकिङ्ग सेवा छिटो र सहज हुन जान्छ ।

राष्ट्रिय वाणिज्य बैंकको भावी योजनाहरु के के छन् ?
हामीले चालु आर्थिक बर्षमा शाखा विस्तारका साथै भावी दिनमा युवा पुस्तालाई लक्षित गरी बचत र कर्जाका विविध प्रोडक्टहरु, सरल कृषि कर्जा लगायतका कार्यक्रमहरु ल्याउदैछौँ । अहिले मुलुक रेमिट्यान्सले धानेको छ, सँधै रेमिट्यान्सले मात्रै धान्दैन देशलाई । अहिले निक्षेप घटेर तरलता संकट भएको नै रेमिट्यान्सको वृद्धिदर घटेर हो । यसर्थ हामी आत्मनिर्भर बन्नका लागि उत्पादनलाई प्राथमिकता दिएर लाग्नुपर्छ । कृषि र उद्योगलाई थप व्यवसायिकरण गर्नुपर्छ । सरकारले प्राथमिकतामा राखेको पूर्वाधार लगायतका क्षेत्रमा अगाडी बढ्नुपर्छ । वित्तीय पंहुचको लागि वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वलाई साथसाथै लिएर राष्ट्रिय वाणिज्य बैंक सरकारको, जनताको आफ्नै बैंक हो भनेर प्रमाणित गर्ने योजनामा छौं । अर्को कुरा बैंकको ब्यवसायलाई अन्तर्राट्रियकरण गर्नु पर्ने सोच बनाएका छौं जस अन्तर्गत भारत र चीनमा शाखा विस्तार गर्ने योजनामा छौं । यसका लागि अध्ययन गरिरहेकाछौं । अन्तमाः यस बैंकलाई विश्वास र माया गर्नुहुने ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, सरोकारवाला तथा आम सर्वसाधारण महानुभाबहरुमा विजयादशमीको हार्दिक मंमलमय शुभकामना ब्यक्त गर्दछु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]