September 14th, 2017

नेपालमा वित्तीय साक्षरता १८ प्रतिशत मात्रै

वित्तीय क्षेत्रसम्बन्धी चेतना बढाउने संस्थागत व्यवस्था नभएका कारण नेपालमा वित्तीय साक्षरताको अवस्था कमजोर रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले बताएका छन् । नेपालको १८ प्रतिशत जनसंख्या मात्रै वित्तीय रुपमा साक्षर रहेको वल्र्ड बैंकको सवेक्षणले देखाएको उनले बताए ।

अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने विभिन्न मुलुकहरुमा वित्तीय साक्षरताको अवस्था १३ प्रतिशतदेखि ७१ प्रतिशतसम्म रहेको छ । सबैभन्दा थोरै जनसंख्या वित्तीय रुपमा साक्षर रहेको मुलुक यमन हो, जहाँ १३ प्रतिशत जनसंख्या मात्रै वित्तीय रुपमा साक्षर रहेको विश्व बैंकको तथ्यांक छ । त्यस्तै, डेनमार्क र स्वीडेनमा विश्वकै सबैभन्दा धेरै ७१ प्रतिशत जनसंख्या वित्तीय रुपमा साक्षर रहेको पाइएको छ । त्यस्तै, छिमेकी मुलुक भारतका २४ प्रतिशत जनता वित्तीय रुपमा साक्षर छन् भने विश्वकै शक्तिशाली मुलुक अमेरिकामा वित्तीय साक्षरता ५७ प्रतिशत जनसंख्यामा छ । आर्थिक सूचकहरुको बारेमा जानकारी भए नभएको आधारमा वित्तीय साक्षरताको मापन गर्ने गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले जानकारी दिए । 

प्रचारप्रसारको अभावमा बैंकिङ चेतनाको विस्तार हुन नसकेको थापाको भनाइ छ । राजनीतिक पार्टीहरुले आमसभा गरेर राजनीतिक मुद्धामा प्रशिक्षण दिएका कारण मुलुकमा राजनीतिक चेतना बढीहरेको बताउँदै उनले बैंकिङ चेतना अभिवृद्धका लागि पनि यसरी नै कार्यक्रमहरु गरिनु आवश्यक रहेको बताए । 

वित्तीय साक्षरता अभिवृद्धि नभएसम्म वित्तीय पहुँचको विस्तार र वित्तीय क्षेत्रको विकास नहुने थापा बताउँछन् । विश्व समुदायसँग आवद्ध हुनका लागि पनि वित्तीय चेतना अभिवृद्ध गर्नु जरुरी रहेको उनको भनाइ छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]