September 14th, 2017

गतिशील ‘फिनटेक’ : वित्तीय चेतनाको अभावमा फितलो

बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिको प्रयोगमा जोड दिएपनि ग्राहकहरु नै यसबारेमा जानकार नहुँदा नेपालमा बैंकिङ प्रविधिको प्रयोग बढ्न नसकेको सरोकारवालाहरुले बताएका छन् । विहीबार मिडिया इन्टरनेशनलद्धारा आयोजित सात दिने बैंकिङ ट्रेनिङको समापन कार्यक्रमका वक्ताहरुले  यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले प्रविधिको प्रयोगबारे ग्राहकहरु जानकार नहुँदा वित्तीय पहुँच विस्तारमा बाधा पुगेको बताए । पूर्वाधार तथा सुरक्षाको अभावका कारण बैंकहरुले शाखा विस्तार गर्न नसकेको दुर्गम भेगहरुमा प्रविधिमार्फत बैंकिङ पहुँच पुर्याउन सकिने बताउँदै थापाले वित्तीय साक्षरता विस्तारमा राष्ट्र बैंकले मात्र नभएर सबै बैंक तथा वित्तीय संस्थाले पनि पहल गर्नुपर्ने बताए । ‘लागत घटाउने र उत्पादकत्व बढाउने उद्देश्यले बैंकिङ क्षेत्रमा प्रविधिको विकास गर्नुपर्ने कुरामा जोड दिइँदै आइएको छ’, उनले भने, ‘यद्यपि, बैंकहरुले प्रविधिको विकास गर्दै लगेपनि उक्त प्रविधिको प्रयोग गर्ने ग्राहकको संख्या अत्यन्तै न्युन हुने गरेको छ ।’ वित्तीय पहुँचभन्दा पनि चेतनाको अभावकै कारण मुलुकमा बैंकिङ प्रविधिको प्रयोगमा वृद्धि हुन नसकेको थापाको भनाइ थियो । थापाका अनुसार, नेपालको ३४ प्रतिशत जनसंख्या बैंकिङ पहुँचभित्र रहेका छन् भने १८ प्रतिशत जनसंख्या मात्रै वित्तीय रुपमा साक्षर छन् । 

कार्यक्रममा बोल्दै डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैंकका सिईओ भरतराज ढकालले कारोबारलाई छिटो छरितो एवम् सुरक्षित बनाउनका लागि प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताए । नेपालमा बैंकहरुले समयसापेक्ष रुपमा प्रविधिको विकास गर्दै लगेको भएतापनि ग्राहकहरुको संख्या न्युन हुँदा लागत समेत उठ्न नसक्ने स्थिती रहेको उनले बताए । उनले भने, ‘सानो रकम निकाल्न वा जम्मा गर्न बैंक नै धाउनुपर्ने, बीमा, स्कुल फी, विजुली तथा पानीको बिल लगायतको भुक्तानीका लागि बैंकबाट निकालेर बुझाउनुपर्ने लगायतका झन्झट व्यहोर्नुपरेको स्थितीबाट आज हामी मोबाइलबाटै हरेक बैंकिङ कारोबार हुने स्थितीमा आइपुगिसकेका छौँ ।’ प्रविधिको प्रयोगबाट बैंक तथा वित्तीय संस्थालाई मात्र नभएर ग्राहकहरुलाई समेत वित्तीय कारोबारमा सहज भएको उनको भनाइ थियो । 

त्यस्तै, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनका सचिव एवम् लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले माइक्रोफाइनान्स क्षेत्रमा पनि प्रविधिको आवश्यकता महशूस गरिएको बताए । ‘लघुवित्तहरुको संचालन लागत बढि भएकाले व्याजदर बढी हुने गरेको छ’, उनले भने, ‘यसलाई क मगर्न डिजिटल फाइनान्सको आवश्यकता छ ।’ उनले लघुवित्तको पनि ग्राहकको संख्या पनि बढ्दै गएको र व्यवसाय विस्तार हुँदै गएको कुरालाई मध्यनजर गर्दै युके एड सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा सीबिएस मोडेलको विकास गर्न लागिएको जानकारी समेत दिए । दुर्गम भेगमा कर्मचारी व्यवस्थापन गर्न गाह्रो हुने भएकाले त्यस्ता ठाउँहरुमा प्रविधिको माध्यमबाट बैंकिङ पहुँच पुर्याउन सकिने शर्माको भनाइ थियो । 

प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामाले नेपालमा पनि थुप्रै बैंकिङ प्रविधिको विकास भइरहेको र अब यसको प्रयोगमा जोड दिनुपर्ने बताइन् । कम लागतमा धेरै जनतामाझ पुग्नको लागि बैंकिङ प्रविधि अत्यावश्यक रहेको उनले बताइन् । हाल बैंकहरुले विदेशी सफ्टवेर प्रयोग गरिरहेको जानकारी दिँदै लामाले अब बैंकहरुले आफ्नै सफ्टवेरको समेत विकास गर्न सुरु गरेको बताइन् । बैंकहरुले नयाँ नयाँ प्रविधिहरु भित्र्याउँदै आएपनि प्रयोगकर्ता न्यून रहने गरेकोप्रति प्रकाश पार्दै उनले प्रविधिको प्रयोग गर्ने तरिका र यसका फाइदाहरुका बारेमा चेतना जगाउनु आवश्यक रहेको बताइन् । 

मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् 'वित्तीय जागरण : राष्ट्रिय अभियान'का संयोजक माधव निर्दोषले बैंकमा जागीर गर्न चाहने र बैंक वित्तबारे जानकारी लिन चाहने युवा एवम् विद्यार्थीहरुलाई लक्षित गरेर आयोजित बैंकिङ ट्रेनिङ सफलतापूर्वक सम्पन्न भएको बताए । बैंकिङ खबरसँग संक्षिप्त कुरा गर्दै निर्दोषले यो ट्रेनिङ 'वित्तीय जागरण : राष्ट्रिय अभियान' अन्तर्गतकै एक कार्यक्रम रहेको जानकारी गराए । साथमा यस्तो ट्रेनिङहरु सहरमा मात्र नभएर गाउँगाउँमा समेत पुर्याउने योजना रहेको उनले बताए । 

कार्यक्रममा सात दिने तालिममा सहभागी २१ प्रशिक्षार्थीका साथै प्रशिक्षकलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा बैंक वित्तको बारेमा अत्यावश्यक जानकारी, बैंकिङ प्रविधि, वित्तीय साक्षरताको आवश्यकता, नेपालमा बैंकिङ पहुँचको अवस्था, बैंक तथा वित्तीय संस्थाहरुको नियमन
लगायतका विषयमा प्रकाश पारिएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]