September 14th, 2017

दशैँमा १६ लाख मानिसलाई छ हजार गाडीले ओसार्ने, गाडी थप्न बैंक बन्यो बाधक

काठमाडौँ । दसैंको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई गन्तव्यसम्म पुर्याउने भएका छन् । दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थप गर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरावस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो। यसका अलावा दशैँमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन्। 
 
यो वर्ष मात्र २०।२१ लाख मानिस दसैं मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले १५।१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा ५।६ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताए । 
 
हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन्। दशैँलाई लक्षित गरेर यातायात ब्यवसायीले गत २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दशैँको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दशैँको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताए । 
 
महाशाखा, विभागलगायत विभिन्न संघ संस्थाको सहयोगमा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]