September 14th, 2017

रेमिट्यान्सको लागि महाउत्सव दशैँ

सुष्मा थापा । रेमिट्यान्सको लागि दशैँ तिहारको समय महत्वपूर्ण मानिन्छ । दशैँका लागि खर्च गर्न भन्दै घर परिवारका लागि विदेशबाट ठूलो मात्रामा रकम भित्रिने भएकाले यो समयमा रेमिट्यान्स कम्पनीहरुको व्यवसाय वृद्धि हुने गरेको छ । अघिपछिको समयमा भन्दा बढी रेमिट्यान्स भित्रिने भएकाले यो समय रेमिट्यान्स कम्पनीहरुका लागि ‘सिजन’ मान्ने गरिन्छ ।

बिगत केही वर्षयताको तथ्यांक हेर्दा, अरु समयको तुलनामा दशैँको बेलामा बढी रेमिट्यान्स भित्रिने गरेको पाइन्छ । विशेषतः भदौ, असोज र कात्तिक महिनाको रेमिट्यान्स दर उच्च हुने गरेको पाइन्छ । रेमिट्यान्सको त्यो अतिरिक्त रकम दशैँको समयमा खर्च हुन्छ । दशैँको समयमा नयाँ लुगा लगाउने, मिठोमिठो परिकार खाने, रमाइलो गर्ने लगायतका प्रचलन रहेकाले यी कुराहरुमा मानिसहरु खुलेरै खर्च गर्छन् । यसका लागि विदेशबाट ठूलो रकम भित्रिने गरेको छ ।

अहिले मुलुकको अर्थतन्त्रको २६.८ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको छ । मुलुकको अधिकांश जनसंख्या रेमिट्यान्समा आश्रित भइरहेको अवस्थामा दर्शैँको समय रेमिट्यान्स कम्पनीहरुका लागि मनग्गे नाफा कमाउने समय सावित हुँदै आएको छ । असार मसान्तसम्मको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा मात्रै झन्डै चार लाख नेपाली विदेशिएका छन् । ती सबै नेपालीहरुले दशैँको समयमा चाहिँ जसरी पनि पैसा पठाउने गर्दछन् । यो समयमा अरु समयको जति खर्चले नपुग्ने भएकाले रेमिट्यान्स आप्रवाह दर उच्च हुने गरेको छ ।

दशैँको समयमा पैसा पठाउनेहरुलाई नै लक्षित गरेर रेमिट्यान्स कम्पनीहरुले समेत विशेष उपहार योजनाहरु ल्याउने गरेका छन् । प्रभु मनि ट्रान्सफर, आईएमई लिमिटेड लगायतले दशैँदेखि छठसम्मको अवधिमा रेमिट्यान्स पठाउने ग्राहकहरुका लागि मोटरसाइकल, टिभि, फ्रिज, मोबाइलदेखि लिएर नगद उपहार समेतको व्यवस्था गर्ने गरेका छन् । यस्तो अफरहरुबाट हौसिएर पनि यो समयमा रेमिट्यान्स पठाउनेको संख्या वृद्धि हुने गरेको छ । यस्तै अफरहरुका कारण रेमिट्यान्स कम्पनीहरुले समेत ग्राहक बढाउने मौका पाउने गरेका छन् ।

दशैँ, तिहार र छठ अघिको करीब एक महिनामा बजारमा निकै चहलपहल हुन्छ । खासगरी भदौको उत्तरार्ध र असोजको पूर्वार्धमा बजारमा अत्यधिक तरलता प्रवाह हुन्छ । यो समयमा मुलुकभरि नै अघिपछिको तुलनामा बढी खर्च गरिन्छ । प्रत्येक वर्ष दशैँकै समय पारेर नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याउने गर्दछ । यो समयमा सरकारी कोषबाट तलब तथा निवृत्तिभरण वितरणका लागि दशैँ खर्चस्वरुप झन्डै १२ अर्ब रुपैयाँ बढी खर्च गन्छि । औपचारिक संस्थागत क्षेत्रमा रोजगार व्यक्तिहरूले पनि दशैँको समयमा बढी रकम पाउँछन् । त्यसैले, दशैँको समयमा रेमिट्यान्स कम्पनीहरु मात्र नभएर सम्पूर्ण व्यापारीहरुले मुनाफा आर्जन गर्ने समय हो ।  

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]