September 13th, 2017

बैंकिङ कसुरमा धेरै तानीन सक्ने खतरा

रुपा कोइराला । पछिल्ला घटनाहरु हेर्दा मुलुकमा बैंकिङ कसुरका धेरै अरु घटना तानिने सम्भावना देखिन्छ । एकपछि अर्को गर्दै नेपालमा बैंकिङ कसुरका घटना बढिरहेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)का अनुसार साउन १२ गतेसम्ममा बैंकिङ कसुरमा एक सय ३० जना पक्राउ परेका छन् । सो अवधिमा सीआइबीले ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध बैंकिङ कसुरको मुद्धा दायर गरेकोमा २० वटाको फैसला भइसकेको बताइएको छ । केही साताअघि मात्रै सिआईबीदे बैंकिङ कसुरमा २० अर्ब रुपैयाँ विगो माग गर्दै मुद्धा दायर गरेको छ । सिआइबीले बैंकिङ कसुरमा १९ अर्ब ४३ करोड ५० लाख  ३८ हजार नौ सय ५३ रुपैंया बराबरको विगो दाबी गरेको छ । 

पछिल्लो केही समयमा नै थुप्रै बैंकिङ कसुरका घटनाहरु सार्वजनिक भएका छन् । वर्षौँदेखि फरार रहेका अभियुक्तहरु पनि धमाधम पक्राउ परिरहेका छन् । हालै मात्र जनता बैंक नेपाल लिमिटेडका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने बैंकिङ कसुरमा दोषी ठहरिएका छन् । जनता बैंकमा आफू सञ्चालक हुँदा माछापुच्छ्रे बैंकसँग मर्जको भित्री सूचनामा चलखेल गरी आफ्नी श्रीमती सावित्रीदेवीको नाममा जनता र माछापुच्छ्रे बैंकको साधारण सेयर दोस्रो बजारबाट उठाएको आरोपमा उनलाई राष्ट्र बैंकले दोषी ठहर गरेको हो । न्यौपानेले श्रीमती सुमित्राको नाममा ५२ हजार कित्ताभन्दा बढी सेयर खरिद गरेका थिए । त्यसपछि निष्कासन भएको ५० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस गरी ८५ हजार कित्ताभन्दा बढी सेयर पुगेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनमा जनता बैंकले न्यौपानेको उक्त सेयर जफत गर्ने निर्णय गरेको छ । सेयर जफत गरेर बैंकले बोलकबोलबाट सर्वसाधारणमा बिक्री गर्नेछ । 

यसअघि, बैंकिङ कसुर अपराधअन्तर्गत नेपाल प्रहरीले नेपाल बैंक लिमिटेडमा कार्यरत ५ कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको थियो । अनियमित एवं गैरकानुनी तवरले सुनकर्जा लिने–दिने कार्यगरी बैंकलाई १५ करोड ५१ लाख ४३ हजार ९ सय ५ रुपैयाँ ५७ पैसा हानी–नोक्सानी पुर्याएको भन्दै ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरानमार्फत उच्च अदालत विराटनगरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दायर गरेको थियो । एक करोड बराबरको सुन धितो राखी १५ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका ६ जना व्यक्ति र मिलेमतोमा कर्जा दिने नेपाल बैंकका ५ कर्मचारीहरुलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर सिद्धेश्वर– ४ घर भई हाल धरान नगरपालिका–१७ बस्ने ऋणी ज्ञानेन्द्र पुरकुटी, सुनसरी धरान नगरपालिका–१७ बस्ने ऋणी सन्जीत रसाईली, सुनसरी इटहरी नगरपालिका–८ भोजपुर टोल बस्ने ऋणी माधव रिसाल, धरान नगरपालिका–१७ न्यूकृति मार्ग बस्ने ऋणी सन्तोष रसाइली, धरान नगरपालिका–१५ दशरथपथ बस्ने ऋणी सुनिल विक, सुनसरी प्रकाशपुरका लालबहादुर बिक, धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन खजान्ची पदमा कार्यरत हाल निलम्बित होमबहादुर भट्टराई,  सुनसरी जब्दी घर भई नेपाल बैंक लि. धरान शाखाका तत्कालिन सहायक शाखा प्रबन्धक हाल निलम्बित रामकिशोर मेहता, सुनसरी गैसार इटहरी घर भई हाल नेपाल बैंक लि. धरान शाखामा सहायक शाखा प्रबन्धक पदमा कार्यरत शंकर न्यौपाने, सुनसरी धरान–१६ घर भई नेपाल बैंक लि. धरान शाखामा कार्यरत सानुबाबु श्रेष्ठ र कैलाली बसौटी–८ रामपुर घर भई हाल नेपाल बैंक लि. सिटी अफिस बिराटनगरमा शाखा प्रबन्धक पदमा कार्यरत पुष्पराज घिमिरे रहेका छन् । 

उता तत्कालीन किष्ट बैंकको सवा चार करोड रुपैयाँ ठगी अभियुक्त देवकी वस्ताकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशन प्रालिकी सञ्चालक रहेकी उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले बिराटनगरबाट पक्राउ गरेको हो । वस्ताकोटीलाई पुनरावेदन अदालत पाटनले २०७३ जेठ ३ गते बैंकिङ कसूर गरेको ठहर गर्दै ४ बर्ष कैद र ४ करोड २६ लाख जरीवानाको सजाय सुनाएको थियो । उनले बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी तथा अन्य कर्मचारीहरु समेतलाई प्रभावमा पारी धितो वापत स्टकमा रहेका पुस्तक र बजारमा उठ्न बाँकी रहेको रकमलाई धितो मुल्य राखि ११ करोड बढी रकम कर्जा लिएकी थिइन् । त्यसबाहेक भक्तपुर जिल्लाका विभिन्न ठाउँमा कमसल  मुल्यको जग्गा खरीद गरी १७ करोड ५ लाख कर्जा लिएकी थिइन् । अधिक मूल्यांकन गराइएको धितोमा उनले २०६७ असार ३१ गते किष्ट बैंकबाट १२ करोड रुपैयाँ जोखिमयुक्त कर्जा लिई सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेको अनुसन्धानपछि खुलेको थियो । 

तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका कमल ज्ञवालीलाई पनि बैंकिङ कसुर लागेको छ । उनलाई अदालतले चार बर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना सुनाएको छ । ललितपुरको पाटनमा रहेको उच्च अदालतले ज्ञवाली, उनकी श्रीमती र अन्य ४ जनालाई बैकिङ कसुरमा कैद र जरिवाना फैसला गरेको हो । ज्ञवालीलाई अदालतले सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोग लागेको थियो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको छ । सोही मुद्धामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भएको छ । मुद्धामा संलग्न अन्य प्रतिबादीहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई जनही २, २ वर्षका दरले कैद सजाय भएको छ । उक्त मुद्धामा प्रतिबादी बनाईएका मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाण्डे पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकाल भने निर्दोष ठहर भएका छन् ।

बैकिङ कसुरमा दोषी ठहर भई फरार भएका काठमाडौं मन्डिखाटारका किरणकेशर नेपाललाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले सात महिनाअघि काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको थियो । २०६७ असारमा उनले कम्पनीबाट धितोमा हुँदै नभएको सिता खाँडसरी चिनी मिल परियोजनाका लागि नौ करोड रुपियाँ ऋण लिई उक्त रकम जग्गाको कारोबारमा लगानी गरेर दुरुपयोग गरेका थिए । उनले ऋण लिने क्रममा मण्डिखाटारस्थित आफ्नो आठ रोपनी जग्गाको अत्यधिक मूल्याङ्कन गराई ऋण लिएका थिए । कम्पनीका कर्मचारीहरुको समेत मिलेमतोमा ऋण लिएका नेपालले घरजग्गाको कारोबारमा लगानी डुबेपछि ऋण तिर्न असफल भएका थिए । ४१ बर्षीय नेपाललाई पुनरावेदन अदालत पाटनले २०७१ साल बैशाखमा तीन बर्ष कैद र नौ करोड ४१ लाख ३७ हजार जरिवानाको फैसला सुनाएको थियो । अदालतको आदेशअनुसार नेपालले ९ करोड ४१ लाख ३७ हजार सात सय ७४ रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ । 

करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका प्रकाश केसी पनि आठ महिनाअघि पक्राउ परेका थिए । बनेपा नगरपालिका– ११ निवासी ५० वर्षीय केसीलाई प्रहरीले बनेपाबाटै पक्राउ गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र पाँच करोड २५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला गरेको थियो । उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]