September 13th, 2017

दशैँका लागि नयाँ नोट साट्नेको भीड (फोटोफिचरसहित)

रोयल आचार्य/बैंकिङ खबर – नेपाल राष्ट्र बैंकले दशैँका लागि बुधबारबाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट साट्ने सर्वसाधारणणको घुईचो यसपाली गत बर्षको भन्दा केहि कम देखिएको छ । नयाँ नोट साट्नका गत बर्षको भन्दा धेरै सहजता भएको नयाँ नोट साट्न आएका सर्वसाधारणले बताएका छन् । 

निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्रै सटहीका लागि उपलब्ध गराउने योजना बनाएको नेपाल राष्ट्र बैंकले यसपाली सरकारी स्वामित्वका बैंकहरुलाई पनि नोट सटहीमा सहभागी गराएको छ । यसअघि राष्ट्र बैंकले काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने गरेकोमा यसपाली सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने ब्यवस्था मिलाएको हो । 

नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुर, राष्ट्रिय बाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट समेत आज पहिलो दिन सर्वसाधारणणले नयाँ नोट साटेका छन् । 

यस बर्ष राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार अहिले बजारमा १ सय ८८ अर्ब रुपैयाँ नोट चलन चल्तीमा छ । ४१ अर्ब रुपैयाँ राष्ट्र बैंकको नोट कोषमा छ । गत वर्षको दसैंमा २० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]