September 13th, 2017

दशैँको नयाँ नोट साट्न सुरु, हेर्नुहोस् नोट साट्ने ठाउँहरु

दशैँका लागि नयाँ नोट आज (भदौ २८ गते)देखि साट्न थालिएको छ । नयाँ नोट साट्नका लागि विहानैदेखि राष्ट्र बैंक लगायत अन्य निजी तथा सरकारी बैंकहरुमा सर्वसाधारणको घुइँचो लागेको छ । 

कहाँ जाने नोट साट्न ?
निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्रै सटहीका लागि उपलब्ध गराउने योजना बनाएको नेपाल राष्ट्र बैंकले यसपाली सरकारी स्वामित्वका बैंकहरुलाई पनि नोट सटहीमा सहभागी गराएको छ । यसअघि राष्ट्र बैंकले काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने गरेकोमा यसपाली सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने ब्यवस्था मिलाएको हो ।

नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ । राष्ट्र बाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट पनि सटही सुविधा लिन पाइने बताइएको छ । साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट समेत नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षेत्रीय कार्यालयहरु र उसको मातहतमा सञ्चालित नोटकोष रहेका बाणिज्य बैंकहरुले पनि आजैदेखि नोट सटही सुविधा दिन थालेका छन् । 

कतिसम्म साट्न पाइन्छ ?
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराएको छ । 

यसपाली ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिब्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरुले भने प्रति ब्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउनेछन् ।

नेपालीहरुको महान् चाड दशैँमा नयाँ नोट प्रयोग गर्ने चलन रहिआएको छ । दशैँमा टिका लगाएर दक्षिणाको रुपमा नयाँ नोट दिने गरिएको छ । त्यसैले, हरेक वर्ष दशैँलाई नै लक्षित गरेर राष्ट्र बैंकले सर्वसाधारणहरुसँग भएको पुरानो नोट आफूले लिएर त्यसको बदलामा नयाँ नोट उपलब्ध गराउँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]