September 5th, 2017

अरुण र जनरल फाइनान्सलाई पुँजीवृद्धिका लागि दुई वर्ष समय थप

अरुण फाइनान्स र जनरल फाइनान्सले चुक्तपुँजी वृद्धिका लागि थप समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा भएको २ वर्षभित्र तोकेको चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था ल्याएअनुरुप अरुण र जनरलले पुँजीवृद्धिका लागि थप समय पाएका हुन् । नयाँ व्यवस्थाअनुसार यी दुई संस्थाले आर्थिक वर्ष २०७५।७६ को अन्त्यसम्ममा तोकिएको चुक्तापुँजी पुर्याउनुपर्नेछ । 

२०७१ माघ १२ गते समस्याग्रस्त घोषण भएको अरुण फाइनान्स ०७३ माघ १९ गते फुकुवा भएको थियो । त्यस्तै, २०७० जेठ ८ गते समस्याग्रस्त घोषणा भएको जनरल फाइनान्स २०७३ पुस ३ गते समस्याग्रस्तबाट फुकुवा भएको थियो । यी फाइनान्सहरुले अबको ०७६ असार मसान्तभित्रमा ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । 

०७४ असार मसान्तको तथ्यांकअनुसार, अरुणको चुक्तापुँजी १५ करोड रुपैयाँ रहेको छ । यसबाहेक, फाइनान्सको शतप्रतिशत हकप्रद सेयर निष्काशन भइरहेको छ । जसपश्चात् कम्पनीको चुक्तापुँजी ३० करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, जनरल फाइनान्सले पनि शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेर २२ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउने भएको छ । फाइनान्सको हकप्रद सेयर यही भदौ २७ गतेदेखि खुला हुँदैछ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार अझै नौओटा बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्तको सूचीमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]