September 5th, 2017

दशैँअघि तीन वाणिज्य बैंकको साधारणसभा

दशैँअघि साधारणसभा गर्ने वाणिज्य बैंकको संख्या तीन पुगेको छ । एनआईसी एसिया बैंक, सिटिजन्स बैंक र नविल बैंकले दशैँ सुरु हुनुभन्दा अघि नै साधारणसभा गरेर बोनस सेयर पारित गर्न लागेका छन् । साधारणसभाले पारित गरेको बोनस सेयर वितरण गरेपछि तीन वटै बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्ने देखिएको छ । 

एनआइसी एशिया बैंक लिमिटेडले भदौ ३० गतेका लागि बीसौँ साधारणसभा डाकेको छ । साधारणसभामा बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साधारणसभा प्रयोजनका लागि बैंकले भदौ १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गरेको छ । जसअनुसार, भदौ १५ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित बोनस सेयर पाउनेछन् । गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको चुक्तापुँजी छ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण गरेपछि एनआईसी एसिया बैंकको चुक्तापुँजी आठ अर्ब दुई करोड रुपैयाँ पुग्नेछ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असोज ९ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि भदौ १२ देखि १६ गतेसम्म सेयरधनी किताब बन्द गरेको थियो । जसअनुसार, भदौ ११ गतेसम्म कायम रहेका बैंकका सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् । गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको  सिटिजन्स बैंकको चुक्ता पूँजी छ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी आठ अर्ब दुई करोड रुपैयाँ पुग्नेछ ।

नबिल बैंक लिमिटेडले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सार्ने भएको छ । साधरणसभा र लाभांश प्रयोजनको लागि बैंकको भदौ २७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार, भदौ २६ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् । गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको नविल बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड रुपैयाँ रहेृको छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]