September 5th, 2017

कुन बाणिज्य बैंकको खराव कर्जा कति ? कसको भयो सुधार (विशेष रिपोर्ट)

रुपा कोइराला । पछिल्लो समय पुँजीवृद्धि, शाखा तथा व्यवसाय विस्तार, वित्तीय साक्षरता अभिवृद्धि, बैंकिङ प्रविधिको प्रयोगमा जोड लगायतका कारणले बैंकिङ क्षेत्र सबल बन्दै गइरहेको छ । बैंकहरुले नाफा बढाउँदै लगेका छन् भने खराब कर्जाको अनुपातलाई घटाउँदै लगेका छन् । गत आर्थिक वर्षमा २२ वटा बैंकहरुको खराब कर्जा घटेको छ । नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सिभिल बैंक र एनसीसी बैंकको खराब कर्जा भने गत आर्थिक वर्षको तुलनामा बढेको छ ।

११ बैंकको खराब कर्जा एक प्रतिशतभन्दा कम
१० वटा बैंकको खराब कर्जा एक प्रतिशतभन्दा पनि कम रहेको छ । सानिमा बैंकको निष्कृय कर्जा सबैभन्दा कम शुन्य दशमलव ०१ प्रतिशत रहेको छ । त्यसपछि नेपाल एसबिआई बैंकको खराब कर्जा शून्य दशमलव १० प्रतिशत रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १९ प्रतिशतमा झारेको छ । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य ३६ प्रतिशतमा झारेको छ भने माछापूछ्रे बैंकको निष्कृय कर्जा शुन्य दशमलव १८ प्रतिशतले घटेर शुन्य दशमलव ३७ प्रतिशत कायम भएको छ । एभरेष्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशतमा कायम भएको छ भने प्राइम कमर्सियल बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४५ प्रतिशतले घटेर शुन्य दशमलव ७८ प्रतिशत कायम भएको छ । हिमालयन बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३६ प्रतिशतले घटेर शुन्य दशमलव ८७ प्रतिशत कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएपनि नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकको खराब कर्जा पनि एक प्रतिशतभन्दा तल रहेको छ । नेपाल बङ्गलादेश बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०५ प्रतिशतले बढेर शुन्य दशमलव ७६ प्रतिशत पुगेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा ०.६८ प्रतिशतबाट बढेर ०.८३ प्रतिशत पुगेको छ भने लक्ष्मी बैंकको निष्कृय कर्जा शुन्य दशमलव १३ प्रतिशतले बढेर शुन्य ९३ प्रतिशत पुगेको छ

१० बैंकको खराबकर्जा दुई प्रतिशतभन्दा कम
१० वटा बैंकले खराबकर्जा दुई प्रतिशतभन्दा कम कायम गरेका छन् । जसमध्ये, नविल बैंकको खराब कर्जा शून्य दशमलव ३५ प्रतिशतले घटेर एक दशमलव १४ प्रतिशत कायम भएको छ भने सिद्धार्थ बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशतले घटेर एक दशमलव १५ प्रतिशत कायम भएको छ । सेञ्चुरी कमर्सियल बैंकको निष्कृय कर्जा एक दशमलव १५ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकको एक दशमलव २८ प्रतिशत मेगा बैंकको निष्कृय कर्जा एक दशमलव ३६ प्रतिशत र सनराइज बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डूले निष्कृय कर्जा दुई दशमलव ५१ प्रतिशतबाट एक दशमलव ४६ प्रतिशतमा झरेको छ भने एनएमबि बैंकको निष्कृय कर्जा शुन्य दशमलव १५ प्रतिशतले घटेर एक दशमलव ६६ प्रतिशत कायम भएको छ । यता, ग्लोबल आईएमई बैंकले प्रवाह गरेको कूल कर्जामध्ये एक दशमलव ७५ प्रतिशत कर्जा मात्रै निष्कृय भएको छ ।

कुमारी बैंकको खराब कर्जा एक दशमलव ८६ प्रतिशत रहेको छ । कुमारीको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुमारी बैंकको खराब कर्जा एक दशमलव १५ प्रतिशत रहेको थियो ।

सात बैंकमा धेरै निष्कृय कर्जा
सात वटा बैंकमा भने निष्कृय कर्जा अन्य तुलनामा धेरै रहेको छ । सरकारी स्वामित्वका तीनवटै बैंकमा निष्कृय कर्जा धेरै रहेको छ । अघिल्लो वर्ष चार दशमलव २५ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको बैंकको खराब कर्जा गत वर्ष दुई दशमलव ३५ प्रतिशतमा झरेको छ । त्यस्तै, कृषि विकास बैंकको निष्कृय कर्जा एक दशमलव ३९ प्रतिशतले घटेर दुई दशमलव ९७ प्रतिशत कायम भएको छ भने नेपाल बैंक तीन दशमलव १७ प्रतिशत रहेको छ । जनता बैंकको निष्कृय कर्जा शुन्य दशमलव २८ प्रतिशतले घटेर दुई दशमलव ०९ प्रतिशत कायम भएको छ । प्रभु बैंकको निष्कृय कर्जा चार दशमलब ०९ प्रतिशतले घटेर चार दशमलव २९ प्रतिशत कायम भएको छ

सिभिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा भने निष्कृय कर्जा बढेको छ । सिभिल बैंकको खराब कर्जा एक दशमलव ३५ प्रतिशतले बढेर चार दशमलव ०५ प्रतिशत पुगेको छ । यता, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको खराब कर्जा खराब ०.९१ प्रतिशतबाट बढेर चार दशमलव ८० प्रतिशत पुगेको छ ।

सबै बैंक जोखिममुक्त
यो विवरण अनुसार, सबै बैंकहरूले राष्ट्र बैंकको निर्देशन पालना गरेको देखिन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूलाई अधिकतम ५ प्रतिशतसम्म खराब कर्जा जोखिममुक्त मानिन्छ । यो अन्तर्राष्ट्रिय रुपमै रहेको मान्यता हो । जसअनुसार, खराबकर्जाका हिसाबले कुनै पनि बैंकहरु जोखिमयुक्त छैनन् । सबै बैंकले खरबकर्जा पाँच प्रतिशतभन्दा कम विन्दुमा कायम गरेका छन् । बैंकहरूले विगतबाट पाठ सिक्दै संयमित तरिकाले लगानी गर्न थालेका छन् भने नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि नियमनमा कडाइ गर्दै लगेको छ । फलस्वरुप, बैंकहरु बलिया हुँदै गइरहेका छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]