August 31st, 2017

सेयर बजार ‘जुवा घर’ होइन

सन्तोषराज बजगाईं, शेयर विश्लेषक
अन्तर्राष्ट्रिय सेयर बजारको तुलनामा नेपाली सेयर बजार धेरै पछाडी छ । अन्तर्राष्ट्रिय सेयर बजारमा धेरै क्षेत्रहरु सूचिकृत छन् । हाम्रो सेयर बजारमा सीमित मात्रामा मात्रै सूचिकृत क्षेत्रहरु छन् । जसले गर्दा हामीलाई धेरै ठाउँमा लगानी गर्ने अवसरहरु मिलेको छैन । नेपाली सेयर बजारमा बैंकिङ क्षेत्रको मेजर होल्डिङ छ । बैंकिङ पछि बीमा कम्पनीहरु, हाइड्रोपावर लगायतको मात्र सेयरमा सहभागिता छ । नेपाली सेयर बजारमा देशका वास्तविक आर्थिक क्रियाकलापमा संलग्न विभिन्न कम्पनी समावेश हुन सकेको अवस्था छैन । नेपाली सेयर बजार प्रविधिको हिसाबले पनि अन्तर्राष्ट्रिय सेयर बजार भन्दा धेरै पछाडी छ । विदेशी सेयर बजारलाई हेर्ने हो भने धेरै प्रविधिको प्रयोग भएको छ । लगानीकर्ताहरुले सहज रुपमा कारोबार गर्न पाएका छन् । तर, नेपालमा त्यो अवस्था छैन ।

वर्तमान सेयर बजार  
हाम्रो सेयर बजार १२ सयसम्म डाउनफल भएपछि बढ्न थालेको छ । धेरै समयसम्म सेयर बजार १६ सयमा बस्न सफल भयो । पछिल्लो समय बैंकहरुले व्याजदर घटाउन सुरु गरेका छन्, जसले गर्दा सेयर बजारलाई सकरात्मक असर गर्छ । भविष्यमा अनलाईन ट्रेडिङ आउने कुरा छ, यसले पनि बजारलाई माथि उठाउँछ ।  सेयर बजार ड्राइभ गर्ने भनेको बैंकिङ इनडेक्सले नै हो । अहिले केही कमर्शियल बैंकहरुको चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुगिसकेको छ भने केहीको पुग्न लागेको छ । यस्तो अवस्थामा बैंकिङ इनडेक्स कुन अवस्थामा पुग्छ भन्ने कुरा अनिश्चित छ । नेपालको सेयर बजारमा बैंकिङ क्षेत्रकै प्रभुत्व रहेका कारण अब सेयर बजार कता जान्छ भन्ने कुरा पनि अनिश्चित नै छ

लगानीको हिसाबले सेयर बजार कत्तिको सुरक्षित छ ?
बुझेर लगानी गर्यो, कम्पनीको आधारभुत कुरा मजाले अध्ययन गरेर लगानी गरियो, कम्पनीले दिन प्रतिफलको बिषयमा जानकारी लिइयो र हल्लाको पछाडी लागिएन भने सेयर बजारमा गरिएको लगानी जोखिमपूर्ण हुँदैन । त्यस्तै, कम्पनीमा लगानी गरिसकेपछि कम्पनीबाट मैले के–के पाउने हो, आफूसँग भएको पैसा बैंकमा राखेर ब्याज खाँदा फाइदा हुन्छ कि कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ, लगायतका बिषयमा अध्ययन गरेर सेयरमा लगानी गर्दा जोखिम हुँदैन । कस्तो मान्छेले कम्पनी चलाएको, कम्पनीको व्यवस्थापन कस्तो छ, त्यसको ४÷५ बर्षको लाभांश वितरण इतिहास कस्तो छ, उसको रेभिन्यू सोर्स बढेको छ वा घटेको छ, लगायतको विषयमा पहिले नै जानकारी भयौँ, सेयरमासाक्षर भयौँ र बुझेर लगानी गर्यौँ भने सेयर बजार सुरक्षित छ ।

नेपालमा सेयर ब्रोकरहरुको सेवा
अन्तर्राष्ट्रिय हिसाबमा हेर्दाखेरी सेयर ब्रोकरहरु फुल सर्भिस र डिस्काउन्ट ब्रोकरहरु गरेर दुई थरीका हुन्छन् । डिस्काउन्ट ब्रोकरहरु भनेको हाम्रो देशका ब्रोकरहरु हुन्, जसले किनबेचमा मात्रै फोकस गर्छन् । फुल सर्भिस ब्रोकरहरुले अन्य विभिन्न सेवाहरु समेत दिन्छन् । उनीहरुले मार्जिन लेण्डिङ, सेयर तालिम, अनुसन्धान, सेयर परामर्श लगायतका सेवाहरु पनि दिन्छन् । यसले गर्दा लगानीकर्ताहरुले ब्रोकरहरुबाट राम्रो सुविधा पाउँछन् । नेपालमा भने सेयर ब्रोकरको सेवालाई सेयर कारोबारमा मात्रै सीमित गरिएको छ । उनीहरुलाई अन्य काम गर्न दिइएको छैन । जुन, अहिले सेयर ब्रोकरहरुको मूख्य समस्याको रुपमा रहेको छ ।

नयाँ स्टक एक्सचेञ्ज खोल्ने प्रक्रिया
नेपालको सेयर बजारको भोल्युम हेर्ने हो भने त हामीलाई यहि स्टक एक्सचेञ्ज नै पर्याप्त छ । तर अहिलेको स्टक एक्सचेञ्जबाट लगानीकर्ताहरुले राम्रो सेवा सुविधा पाएका छैनन् । अहिले देशका प्रमुख शहरहरुबाट मात्रै सेयर कारोबार सम्भव छ । अधिराज्य भरी छरिएको जुन पूँजी छ, त्यसलाई एकिकृत गर्न सकेको अवस्था छैन । अन्य प्रविधिको हिसाबले पनि हाम्रो स्टक एक्सचेञ्ज पछाडी नै परेको देखिन्छ । यस्तो अवस्थामा निजी क्षेत्रको नयाँ स्टक एक्सचेञ्ज आउने हो भने त्यसले नयाँ प्रविधि पनि भित्राउँछ । नयाँ स्टक एक्सचेञ्जले नयाँ प्रविधि भित्राएपछि अहिलेको स्टक एक्सचेञ्ज पनि प्रविधि भित्राउनतर्फ लाग्छ । आफ्नो सेवा सुविधा सुधार्न उ बाध्य नै हुनेछ । छिमेकी मूलुक भारतको उदाहरण हेर्ने हो भने पनि नेशनल स्टक एक्सचेञ्जको स्थापाना भइसके पछि त्यहाँको पुँजी बजारले राम्रो फट्को मारेको देखिन्छ । यसर्थ नेपालमा पनि नयाँ स्टक एक्सचेञ्ज आएपछि प्रतिष्पर्धा हुने र नेपाली सेयर बजारले पनि नयाँ फड्को मार्ने देखिन्छ । अर्को स्टक एक्सचेञ्ज आएपछि धेरै कम्पनीहरु सेयर बजारमा प्रवेश गर्न सक्छन् र लगानी कर्ताहरुलाई पनि लगानी गरी प्रतिफल पाउन समेत सहज हुनेछ   ।

सेयर बजारका नयाँ लगानीकर्ताहरुलाई सुझाव
सेयर बजार जुवा घर होइन, यो एउटा ज्ञानको थलो हो । सेयर बजारमा अध्ययन गरेर लगानी गर्यो भने डुब्ने खतरा हुँदैन । सेयर बजारमा उतार–चढाव आइरहन्छन् । सेयर बजार उतारचढाव हुनुमा विभिन्न कारणहरु हुन्छ । होहल्लाकै भरमा सेयर बजार तलमाथि हुने भनेको कहिलेकाहीँ मात्रै हो । हल्लामा नचलेर, अध्ययन गरेर दीर्घकालिन सोच बनाएर सेयर बजारमा प्रवेश गर्यो भने राम्रो प्रतिफल पाइन्छ । धैर्य गर्नुपर्छ अवश्य पनि सफल भइन्छ । (कुराकानीमा आधारित।)

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]