August 30th, 2017

कारोबार बढाउँदै पाल्पाका सहकारीहरु

गत आर्थिक वर्षमा पाल्पा जिल्लाका सहकारीहरुले ६० करोड रुपैयाँ भन्दा बढी कारोबार गरेका छन् । सहकारीहरुका बचत र ऋण लगानी दुवै बढेपछि कारोबारमा पनि वृद्धि भएको हो । जिल्लाका सहकारी संस्थाहरुले आव २०७३।७४ मा दुई अर्ब २१ करोड रुपैयाँ पाँच लाख ८४ हजार रकम बचत गरी दुई अर्ब ८० करोड ७९ लाख ४७ हजार रुपैयाँ ऋण लगानी गरेका हुन् । आव २०७२/७३ मा सहकारीले रु एक अर्ब ४४ करोड १४ लाख ५६ हजार रकम बचत र रु एक अर्ब ६५ करोड ७१ लाख ४३ हजार ऋण लगानी गरेका थिए । 

डिभिजन सहकारी कार्यालयका अनुसार, सहकारीले लिएको ऋण १२ करोड १९ लाख ७२ हजार रुपैयाँ, कोष रकम १७ करोड ३२ लाख ४६ हजार रुपैयाँ र सेयर पूँजी ३० करोड १९ लाख ६८ हजार रुपैयाँ रहेको छ । जबकि, अघिल्लो आर्थिक वर्षमा सहकारीले लिएको ऋण रकम ११ करोड ६५ लाख आठ हजार, कोष रकम पाँच करोड ९६ लाख २९ हजार रुपैयाँ र सेयर पूँजी २१ करोड ५३ लाख ४८ रुपैयाँ रहेको थियो । 

बचत तथा ऋण सहकारीतर्फ अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर, कृषि क्षेत्रमा उत्पादन, संकलन र बजारीकरणमा मदनपोखरा कृषक बजार बहुउद्देश्यीय सहकारी संस्था, दूध उत्पादनतर्फ डुम्रे दुग्ध उत्पादक सहकारी संस्था डुम्रे, लुहुम दुग्ध उत्पादक सहकारी संस्था र किनारी दुग्ध उत्पादक सहकारी संस्था बौघापोखराथोक, कोकलधारा दुग्ध उत्पादक सहकारी संस्था सोमादीले राम्रो प्रगति गर्न सफल भएका छन् ।

सामाजिक उद्यमीतर्फ मिलनसार उद्यमी सहकारी संस्था बौघागुम्बा, मनकामना सामाजिक उद्यमी सहकारी संस्था सिलुवा र लगनशील सामाजिक उद्यमी सहकारी छहरालगायतका संस्थाले जिल्लामै नमूनाका रुपमा उत्कृष्ट काम गर्दै आइरहेका छन् । 

आव २०७३।७४ मा २९१ वटा सहकारी दर्ता भएका छन् । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २२ वटा बढी सहकारी संस्था दर्ता भएका हुन् । २०७२/७३ मा २७१ वटा सहकारी सञ्चालन भएका थिए । हाल, जिल्लामा बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, कोसेली घर एक, बीउबिजन एक, स्वास्थ्य सहकारी एक पुगेका छन् । 

सेयर सदस्यमा महिला बढी
जिल्लामा हाल बचत गर्ने सेयर सदस्यमध्ये महिलाको संख्या बढी छ । कुल ८७ हजार चार सय पाँच सेयर सदस्यमध्ये ५३ हजार छ सय पाँच महिला र ३३ हजार आठ सय पुरुष छन् । आव २०७२।७३ मा ७१ हजार चार सय ११ जना सेयर सदस्य पुगेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]