August 30th, 2017

आस्बा सेवा ५५ वित्तीय संस्थाबाट, सबै वाणिज्य बैङ्कबाट सरल र सहज सेवा

 

प्रजिता बुढाथोकी
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको शुरूसँगै आईपीओमा आस्बा अनिवार्य गरेसँगै यो सेवा प्रदान गर्ने बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या ५५ पुगेको छ । बोर्डले आस्बा सेवा सञ्चालनका लागि उक्त सङ्ख्याका बैङ्क तथा वित्तीय संस्थालाई अनुमति दिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ जारी गर्दै बोर्डले लगानीकर्ताको हितलाई ध्यानमा राखी आईपीओमा १० कित्ता अनिवार्य गर्नुका साथै आस्बा प्रणाली पनि अनिवार्य लागू गर्न निर्देशन दिएको थियो । माघदेखि धितोपत्रको निष्कासनमा ऐच्छिक रूपमा लागू गरिएको यो नियम साउनदेखि अनिवार्य गरिएको थियो ।

आस्बा प्रणालीलाई लगानीकर्ताले सहज व्यवस्थाको रूपमा स्वीकार गरेका छन् । ५ वर्षअघि शेयरबजारमा प्रवेश गरेका काठमाडांै सिनामङ्गलका भूपेन्द्रमणि काप्mलेले आस्बा प्रणाली लागू भएसँगै लामो समय लाइन बस्नुपर्ने समस्याबाट मुक्ति मिलेको बताए । आस्बाअघि बिहान ४ बजेदेखि नै लाइन बसेको अनुभव उनको छ ।

त्यस्तै विगत लामो समयदेखि शेयरमा लगानी गर्दै आएका अनामनगरका कृष्ण पौडेल पनि आस्बा लागू भएपछि कुनै पनि आईपीओ र एफपीओ भर्न नछुटाएको बताउँछन् । पहिले आवश्यक कागजपत्रसहित फर्म भर्नुपर्ने झन्झटलाई अहिले आस्बाले सहज बनाइदिएको उनको अनुभव छ । उनले भने, ‘पहिले लामो समय लाइनमा बसेर शेयर भर्दा पनि पर्ने निश्चित हुँदैनथ्यो, अहिले सरल तरीकाले भर्न सकिने र कम्तीमा १० कित्ता पर्ने निश्चित भएकाले शेयरमा आकर्षित हुनेको सङ्ख्या अझ बढेको छ ।’

धितोपत्र खरीद ९सार्वजनिक निष्कासन० सम्बन्धी निर्देशिका, २०७३ को सेवाशुल्कसम्बन्धी व्यवस्थामा बैङ्क वा वित्तीय संस्थाले धितोपत्र खरीदसम्बन्धी सुविधा उपलब्ध गराएबापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा रू। १ सय र त्यसभन्दा बढी रकमको दरखास्तमा बढीमा रू। २ सय ५० सेवाशुल्क लिनसक्ने प्रावधान छ । तर, त्यस्तो प्रावधान भए पनि अहिले विभिन्न बैङ्कहरूले फरकफरक शुल्क लिएर आस्बा सेवा प्रदान गरिरहेका छन् भने कतिपयले निःशुल्क सेवा दिइरहेका छन् ।

एनएमबी, कुमारी, कृषि विकास, एनआईसी एशिया, बैङ्क अफ काठमाण्डू, माछापुच्छ्रे, सिद्धार्थ, सानिमा, ग्लोबल आईएमई, साङ्ग्रिला डेभलपमेण्ट, ओम डेभलपमेण्ट बैङ्कलगायतले निःशुल्क आस्बा सेवा प्रदान गर्ने घोषणा गरेका छन् । माघ महीनासम्म बैङ्क तथा वित्तीय संस्था गरी ४१ ले आस्बा प्रणाली लागू गरेकोमा अनिवार्य गरिएसँगै साउनमा मात्र थप १४ कम्पनीले स्वीकृति पाई यो प्रणाली लागू गरेका छन् ।

आस्बा प्रणाली कार्यान्वयन गर्ने संस्थाहरूको निरीक्षण गरी बोर्डले प्रभावकारी सेवा प्रदान गर्न सुझाव दिएको बताइएको छ । त्यसका लागि मुख्य कार्यालय तथा सेवा प्रदान गर्ने सम्पूर्ण शाखा कार्यालयका कर्मचारीलाई तालीम तथा अन्य आवश्यक सम्पूर्ण व्यवस्था गर्न पनि बोर्डले आग्रह गरेको छ । आस्बा प्रणाली भन्नाले धितोपत्र शेयरको सार्वजनिक निष्कासनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँट नहुन्जेलसम्म आवेदककै बैङ्क खातामा रोक्का हुने व्यवस्था हो ।

यस प्रणाली अनुसार लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त सङ्कलन गर्न अनुमति प्राप्त र आप्mनो खाता रहेको बैङ्क वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ ।

निष्कासन तथा विक्री प्रबन्धकले बाँडफाँट भएको अभौतिकीकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिन्छ । धितोपत्र बाँडफाँट भएको भोलिपल्ट निष्कासन तथा विक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैङ्क तथा वित्तीय संस्थालाई जानकारी दिने र यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र शेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गर्ने व्यवस्था यसमा गरिएको छ । शेयर पर्ने आवेदकको बाँडफाँटमा परेको शेयरबापतको रकम निष्कासन तथा विक्री प्रबन्धकको खातामा स्थानान्तरण गरेपछि बाँकी रकम भने फुकुवा हुन्छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]