August 30th, 2017

जिडिपीमा विप्रेषण अनुपात घट्यो, विप्रेषण आप्रवाहको वृद्धिदरमा सुस्तता

गोपाल साउद
नेपालको कुल गार्हस्थ उत्पादनसँगको विप्रेषण अनुपात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ वर्षमा पहिलोपटक जिडिपीमा विप्रेषणको अनुपात घटेको हो ।

जिडिपी–विप्रेषण अनुपातमा अघिल्लो आर्थिक वर्ष ०७२(७३ मा २९ दशमलव ६ प्रतिशत रहेकोमा ०७३(७४ मा २६ दशमलव ९ प्रतिशतमा सीमित हुन पुगेको छ । आर्थिक वर्ष ०७१(७२ मा मुलुकको कुल गार्हस्थ अनुपातमा विप्रेषणको अनुपात २९ प्रतिशत थियो । गत आर्थिक वर्ष ०७३(७४ मा मुलुकको कुल गार्हस्थ उत्पादनको आकार २५ खर्ब ९९ अर्ब पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । सो आवमा रेमिट्यान्स आप्रवाह भने ६ खर्ब ९५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

केन्द्रीय तथ्यांक विभागको अनुमानअनुसार आर्थिक वर्ष ०७४(७५ मा मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धिदर अघिल्लो वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशत रहेको छ । त्यसैगरी, आधारभूत मूल्यमा यथार्थ कुल गार्हस्थ उत्पादन वृद्धिदर अघिल्लो वर्षको तुलनामा ६।९ प्रतिशत रहेको अनुमान छ । अनुकूल मौसमी वर्षा, ऊर्जा आपूर्तिमा भएको सुधार र आपूर्ति व्यवस्थामा सामान्यीकरण भएकाले गत वर्षको न्यून आधारबाट आर्थिक वृद्धिदर उच्च रहन गएको हो ।

विप्रेषण आप्रवाह ४।६ प्रतिशत बढ्यो
गत आवमा विप्रेषण आप्रवाह ४।६ प्रतिशतले वृद्धि भई ६ खर्ब ९५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष ७।७ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ थियो । सो आवमा खुद ट्रान्सफर आय ९।५ प्रतिशतले वृद्धि भई ८ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९ दशमलव ६ प्रतिशतले बढेको थियो ।

घट्यो बिदेसिने नेपालीको संख्या
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष ०७३(७४ मा त्यस अघिल्लो वर्षको तुलनामा ४ दशमलव ७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८।४ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब इमिरेट्स, कुबेतलगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेबिया, कतारलगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।

के भन्छन् विज्ञ ?
 डा. हरि प्रधान, श्रम तथा रोजगारविज्ञ

कामका लागि बिदेसिनेक्रम रोकिएको छैन । तैपनि, गएका कामदारबाट आउने विप्रेषणको वृद्धिदर घट्दै गएको छ । यसलाई सकारात्मक मान्न सकिँदैन । कामका लागि अन्य देशमा जाने ७४ प्रतिशत कामदार अदक्ष हुन्छन् । उनीहरूको पारिश्रमिक एकदमै थोरै हुने गरेको छ । सामान्य सीप सिकेर मात्रै जाने हो भने पनि पाउने पारिश्रमिकमा ३ गुणासम्म बढी हुन सक्छ । त्यसबाहेक गन्तव्य मुलुकको भाषा, संस्कृति, शिष्टाचार सिकाएर पठाउन सकिन्छ । अहिले हाम्रो मुलुकबाट अदक्ष कामदार जाने हुँदा नेपाली कामदारहरू एकदमै तल्लो स्तरमा पर्ने गरेका छन् ।

नरबहादुर थापा
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

विप्रेषण आप्रवाह वृद्धिदरमा आएको कमीले अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने देखिन्छ । विदेशी विनिमय सञ्चितीमा त्यसको सोझो असर देखिन सक्छ । तरलतामा त्यसको नकारात्मक असर पर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको वृद्धिदरमा कमी आउन सक्ने जोखिम रहन्छ । जसले गर्दा ब्याजदर यसअघिको जस्तो न्यून नरहन सक्छ । हाल हामीसँग १४ महिनासम्मको आयात धान्ने पर्याप्त सञ्चिती रहेको अवस्था छ । विप्रेषण घट्दा त्यसमा पनि नकारात्मक असर पर्ने देखिन्छ । हालको राजस्व वृद्धिदर उपभोगमा आधारित छ । विप्रेषण आप्रवाहमा कमी आउँदा त्यसको सोझो असर उपभोक्ता र राजस्वमा पर्छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]