August 24th, 2017

नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका देउवाले बुधबार साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस् ।’

नेपालले ठूलो मात्रामा वैदेशिक लगानीका लागि कानूनी व्यवस्था गरेको उल्लेख गर्दै लगानी बोर्डको माध्यमबाट अरुण तेस्रो र माथिल्लो कर्णालीजस्ता ठूला आयोजनाहरुको सफल शुरुवात गर्नाका साथै हालै नेपालमा लगानी सम्मेलनको आयोजना गरी करिब १४ अर्ब अमेरिकी डलर बराबरको लगानीको प्रतिबद्धता प्राप्त हुनु पनि नेपालमा लगानीका लागि देखिएको सकारात्मक वातावरण हो भने । नेपालमा पछिल्ला राजनीतिक परिवर्तनसँगै राजनीतिक स्थिरता प्राप्त भएको, नयाँ संविधान लागू भएसँगै देश अब समृद्धिको मार्गमा अघि बढेकाले लगानीको वातावरण बनेको पनि उनले स्पष्ट पारे । प्रधानमन्त्री देउवाले भारत र चीनजस्ता विश्वका ठूला अर्थतन्त्रको एक छिमेकीका रुपमा रहेको नेपाल पर्यटन, व्यापार, लगानीजस्ता क्षेत्रका लागि दरिलो सम्भावना भएको देशका रुपमा रहेको उल्लेख गर्दै यसका लागि बढीभन्दा बढी मात्रामा वैदेशिक लगानी भित्र्याउन के कस्तो वातावरण बनाउनुपर्छ त्यसका लागि नेपाल सरकार तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]