Wednesday , September 20 2017

‘मुसहर र चमार समुदायमा बैंकिङ पहुँच पुगेन’

August 23, 2017

प्रदेश नम्बर एकअन्तर्गत सुनसरीको धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले अहिले झापा, मोरङ र सुनसरी जिल्लाहरुमा सेवा दिँदै आइरहेको छ । केहिदिन अघि अविरल बर्षाका कारण आएको बाढीका कारण यस बैंकको कार्यक्षेत्रभित्र ठूलो असर परेको छ । बाढीका कारण ठूलो परिमाणमा धनजनको क्षतिका साथै बैंकिङ क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ । बाढीकै कारण अझै पनि पूर्वी तराईका जिल्लाहरुमा पहिलेको जस्तो बैंकिङ कारोबार सञ्चालन नभइरहेको बैंकहरु नै बताउँछन् । यसै सन्दर्भमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीसँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 

अविरल बर्षाका कारण पूर्वी तराईमा ठूलो परिमाणमा धनजनको क्षति भएको छ, बाढीका कारण बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पर्यो ? 
बाढीले पूर्वका धेरै जसो क्षेत्रलाई प्रभावित बनायो । बिशेष गरेर पूर्वका झापा, मोरङ र सुनसरीमा धेरै धनजनको क्षति भएको छ । अहिले बर्षा रोकिएर जनजिवन सामान्य बन्दै गइरहेको छ । तर यसको प्रभाव अझै केहि महिनासम्म बैंकमा पर्ने देखिएको छ । 

लगातारको बर्षातका कारण तराईको जनजिवन करिब एक साताभन्दा बढी प्रभावित बन्यो । त्यसबेला बैंकिङ कारोबार गर्न कत्तिको असहज अवस्था सृजना भयो ? 
अबिरल बर्षा शुक्रबार साँझदेखि भएको थियो । शुक्रबार साँझदेखि लगातार परेको पानीका कारण शनिबार बाढी आएर धेरै मान्छेहरुको मृत्यु भयो, कति वेपत्ता भए । मान्छेबाहेक पशु चौपाया तथा ठूलो परिमाणमा धन सम्पत्तिको नोक्सानी भयो । शनिबार बाढीका कारण ठूलो क्षति भएपछि आइतबार बैंकिङ कारोबार गर्न सक्ने अवस्था रहेन । पूर्वका अधिकांश बैंक, वित्तीय संस्थाहरु बन्द रहे । सोमबार पनि सार्वजनिक बिदा परेका कारण मंगलबारदेखि मात्रै बैंकिङ कारोबार शुरु भएको हो । हाम्रो प्रधान कार्यालय धरानमा रहेका कारण यस क्षेत्रमा बाढीको प्रभाव सामान्य रुपमा मात्रै पर्यो । प्रधान कार्यालय शुचारु भए पनि इन्टरनेट, टेलिफोनले काम गरेको थिएन । मिल्नेसम्म हामीले बिना इन्टरनेट प्रविधिको प्रयोग नगरी आइतबार लेनदेन गर्यौँ । मंगलबारपछि हाम्रा शाखा कार्यालयहरु सबै सञ्चालनमा आएका छन् । तर अझै पनि पहिलेको जस्तो बैंकिङ कारोबार सञ्चालन हुन सकेको छैन । 

मितेरी डेभलपमेन्ट बैंकलाई बाढीले कस्तो क्षति पुर्यायो ? 
बाढीले बैंकको क्षति नगरे पनि ग्राहकहरुको ठूलो क्षति गरेको छ । हामीले संकलन गरेको तथ्यांक अनुसार ग्राहकहरुको मानवीय क्षति नभए पनि धेरै घरहरु डुवानमा परेर क्षति पुर्याएको छ । 

बाढी पिडितका लागि केहि त्यस्तो योजना ल्याउनुभएको छ ? 
हामीले ग्राहकहरु मात्रै नभएर समग्र बाढीपीडितका लागि राहत सामाग्रीहरु वितरण गर्यौँ । इटहरीको नजिकै पर्ने बुढीखोलामा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएपछि हामीले तत्कालै स्थानीय जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरुसँग छलफल गरी धरान घोपा रोटरी क्ल्व र हामी मिलेर संयुक्त रुपमा ६० घर परिवारलाई ओड्ने, ओच्छ्याउने, भाडाकुडा, खाद्यान्न जस्ता राहत सामाग्रीहरु वितरण गर्यौँ ।  

प्रदेश नम्बर एकको एउटा विकास बैंकको नेतृत्व गरिरहनुभएको छ । प्रदेश नम्बर एकमा बैंकिङ पहुँच कस्तो पाउनु भएको छ ? 
समग्रमा भन्नुपर्दा, प्रदेश नम्बर एकको बैंकिङ पहुँच राम्रो छ । यस प्रदेशका पहाडी तथा तराईका केहि समूदाय र क्षेत्रमा बैंकिङ पहुँच पुग्न सकेको छैन । बिशेष गरेर प्रदेश नम्बर एकको दक्षिणी बेल्टका मुसहर, चमार लगायतका समुदायमा बैंकिङ पहुँच अलिकति पनि पुग्न सकेको छैन । हामीले पनि विभिन्न कार्यक्रमहरु मार्फत बैंकिङ पहुँच वृद्धिका लागि प्रयास गरिरहेका छौं । 

तराईका अल्पसंख्यक पिछडिएका जातजातीमा अझै बैंकिङ पहुँच पुग्न सकेको छैन भन्नुभयो । उनीहरुमाझ बैंकिङ पहुँच कसरी पुर्याउन सकिन्छ ? यसमा तपाईँहरुको भूमिका कस्तो रहला ? 
अल्पसंख्यक र पिछडिएका जातजातीमा बैंकिङ पहुँच पुर्याउनका लागि मितेरी डेभलपमेन्ट बैंक एक्लैले गरेर केहि हुँदैन । यसका लागि राज्य नै लाग्नुपर्छ । हामीले त्यस्ता क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरु भने आयोजना गर्दै आएका छौं । तर हामीले जसलाई लक्षित गरेर त्यस्ता कार्यक्रमहरु आयोजना गर्छौँ, उनीहरु नै त्यस्ता कार्यक्रममा आउन चाहाँदैनन् । बिहान बेलुका के खाने भन्ने समस्या परेका हुनाले बैंकिङ चेतना दिन खोज्दा पनि उनीहरु ठूलो रकमको अपेक्षा गर्छन् । कार्यक्रममा सहभागी नै हुन चाहँदैनन् । यसकारण एउटा बैंक एक्लैले गरेर हुँदैन । यसमा राज्यले पनि ध्यान दिनुपर्छ । 

विकास बैंकका खास समस्याहरु के–के छन् ? नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ? 
बैंकलाई जुन विभेद गरिएको छ, त्यहिँबाट समस्या उत्पन्न भएको छ । बिशेष गरेर हामी जस्ता मोफसलका बैंकहरुको पहुँच राजधानीसम्म छैन । काठमाडौंमा शाखा सञ्जालहरु पनि छैनन् । त्यसैले हामीले सरकारी कार्यालयहरुले निष्काशन गर्ने ट्रेजरी विल लगायतका उपकरणहरुको उपयोग गर्न पाइरहेका छैनौँ । काठमाडौमा रहेका ठूला बैंकहरुले मात्रै त्यस्ता उपकरणहरुको उपयोग गर्न पाइरहेका छन् । मोफसलमा रहेका बैंकहरुले अहिलेसम्म कमर्शियल बैंक लगायत अन्य बैंकहरुमा निक्षेप राखेर कोर खातामा व्याज पाइरहेका थिए । अहिले राष्ट्र बैंकले नयाँ निर्देशिका नै जारी गरेर कोर खाताको निक्षेपलाई सीसीडी रेसियो काउन्ट गर्दा गणना नगर्ने व्यवस्था गरेको छ । यसले ती व्याज पाउने हाम्रा खाता अब शून्य व्याजमा परिणत हुन पुगेका छन् । यसले गर्दा हामी मोफसलका बैंकहरुलाई धेरै ठूलो समस्या आइपरेको छ । बाढीले जस्तो सर्वसाधारणलाई असर परेको छ, त्यो भन्दा ठूलो असर अहिले विकास बैंकहरुलाई परेको छ । 

मितेरी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कस्तो छ ? 
मितेरीको वित्तीय अवस्था राम्रो छ । विकास बैंकहरुमा एकदमै संस्थागत सुशासन राम्रो भएको बैंक भनेर चिनिन्छ । हाम्रो खराब कर्जा शून्य छ । विकास बैंक मात्रै होइन समग्र बैंकमा खराब कर्जा शून्य भएकोमा उत्कृष्ट बैंक मितेरी हो । कर्जा, निक्षेप लगायत समग्रमा हाम्रो वित्तीय अवस्था एकदम राम्रो छ । 

विकास बैंकहरु धमाधम मर्जरमा गइरहेका छन् । तपाईँहरुको मर्जरमा जाने वा ल्याउने योजना छैन ? 
हामीले अहिले मर्जरमा जाने वा ल्याउने भन्ने बिषयमा निर्णय गरिसकेका छैनौँ । अब प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसपछि बैंकहरु पनि संघीय संरचनामा जान्छन् होला । हामीले पनि प्रदेश बैंक (स्टेट बैंक) को रुपमा कारोबार गर्ने योजना चाहिँ बनाएका छौँ । प्रदेश नम्बर एकका सबै जनतालाई सेवा दिने हाम्रो सोच छ । पछि यहि क्षेत्रका बैंकहरुसँग कुरा मिले मर्जमा जान्छौं । 

स्थानीय तहमा विकास बैंक पनि जाने भएका छन् । तपाईँहरुको योजना के छ ? 
हाम्रो मुख्य योजना भनेको नै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने हो । हामीले बैंकिङ पहुँच नपुगेका सुनसरीको रमाइलो, चतरा, झापाको अमरदह लगायत ठाउँमा शाखा विस्तार गरी बैंकिङ सेवा दिइरहेका छौं । हाम्रो कार्यक्षेत्रभित्र बैंक नपुगेका स्थानमा शाखा खोल्न हामी तयार छौँ ।  

अन्तमा, बैंकको भावी योजनाबारे बताइदिनोस न ! 
हाम्रो योजनाबारे संक्षेपमा अघिपनि मैले बताइसके । हाम्रो मूख्य योजना भनेको स्टेट बैंक बन्ने नै हो । प्रदेश बैंक भएपछि विकास बैंकको रुपमा राष्ट्र बैंकले लिनुहुँदैन । सम्पूर्ण प्रदेशको बैंकिङ कारोबार गर्न दिनुपर्छ भन्ने हाम्रो सोचाई छ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *