August 21st, 2017

विजुलीको बिल बैंकिङ च्यानलबाट भुक्तानी हुने, प्रभु बैंकसहित आधा दर्जनलाई अनुमति

नेपाल विद्युत् प्राधिकरणको महशुल अब बैंकहरुबाटै बुझाउन सकिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबारबाटै विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको हो । ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गरे । ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत सहजैरुपमा महशुल तिर्न सक्नेछन् । ग्राहकले प्रभु बैंकका कुनै पनि शाखाबाट यो सेवा लिन सक्नेछन् । प्रभु बैंक नीजि क्षेत्रमा सबैभन्दा धेरै शाखा संजाल भएको बैंक हो । प्रभु बैंक बाहेक ग्राहकले इ सेवा, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट पनि महशुल तिर्न सक्ने व्यवस्था गरिएको समाचार संस्था राससले जनाएको छ । 
नेपाल विद्युत् प्राधिकरण र ती संस्थाका बीच महशुल भुक्तानीसम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ । निकट भविश्यमा नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिनेछ ।

प्राधिकरणले सम्झौता गरेका संस्थाको मुलुकभर करिब १५ हजार आउटलेट सञ्चालनमा रहेका छन् । ऊर्जामन्त्री शाहीले आगामी डेढ महिनाभित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिए । ग्राहकलाई बढीभन्दा बढी सेवा दिने उद्देश्यले अनलाइन भुक्तानी प्रणालीको विकास गरिएको जानकारी दिँदै मन्त्री शाहीले ग्राहकलाई लामो लाइनमा बस्नुपर्ने, बढी खर्च हुने, घाम पानी तथा अन्य असुविधाबाट टाढा राखेर सेवा दिने लक्ष्यलाई केन्द्रबिन्दुमा राखिएको बताए । 

प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिलअनुसार आफ्नो नजिक रहेका ती संस्थाको शाखामा गएर महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई बढीभन्दा बढी सहज सेवा दिने लक्ष्यका साथ अनलाइन भुक्तानी प्रणाली शुरुवात गरिएको जानकारी दिए । 
प्राधिकरणले तोकेको संस्था वा निकायमा महशुल बुझाएपछि ग्राहकलाई बिल भुक्तानी भयो भन्ने सूचना दिनेछ । नेपालको सन्दर्भमा यस्तो प्रणाली सञ्चालनमा ल्याउने सरकारी निकायमध्ये नेपाल टेलिकमपछि प्राधिकरण नै भएको सो अवसरमा जानकारी दिइयो । 
कार्यकारी निर्देशक घिसिङले सबै प्रकारको प्रविधि प्रयोग गरेर ग्राहकलाई सरल सेवा दिने लक्ष्य प्राधिकरणले राखेको उल्लेख गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]