August 18th, 2017

नाफामा छलाङ मार्दै बैंकहरु, चार बैंकले नै कमाए १३ अर्बबढी

सुष्मा थापा । मुनाफा आर्जनमा गत वर्ष वाणिज्य बैंकहरुले छलाङ मारेका छन् । चार वटा बैंकको मुनाफा त तीन अर्ब नै नाघेको छ । नविल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब नाघेको हो । यी चार बैंकहरुले मात्रै गत आर्थिक वर्षमा १३ अर्बभन्दा बढी नाफा कमाएका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । खुद मुनाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा २८ दशमलव ४२ प्रतिशत वृद्धि गरेर बैंकले तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष नविलले दुई अर्ब ८१ करोड ९३ लाख रुपैयाँ कमाएको थियो । बैंकको खुद व्याज आम्दानी २६ दशमलव २१ प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफा २५ दशमलव ७८ प्रतिशतले बढेर पाँच अर्ब ४६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

नेपाल बैंकले पनि खुद मुनाफामा ११ दशमलव ६७ प्रतिशतले वृद्धि गर्दै धेरै नाफा कमाउने बैंकहरुको सूचिको दोस्रो नम्बरमा पर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा तीन अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । बैंकको खुद व्याज आम्दानी २६ दशमलव ६६ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ६४ दशमलव ८१ प्रतिशतले बढेर ३ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा खुद मुनाफामा पनि वृद्धि देखिएको हो ।

त्यसपछि, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २३.८८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ५५ करोड आठ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।  बैंकको खुद ब्याज आम्दानी २२.०१ प्रतिशतले बढेर चार अर्ब ७८ करोड ४१ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

यता, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड धेरै नाफा कमाउने बैंकहरुमा चौथो बनेको छ । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब आठ करोड २६ लाख ६० हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.९१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ३५ करोड ५२ लाख ८८ हजार रुपैंया खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानीमा पनि २५.७५ प्रतिशतले बढोत्तरी गरेर छ अर्ब ९७ करोड ९१ लाख ६३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले पाँच अर्ब ५४ करोड ९९ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]