Wednesday , September 20 2017

किन बढ्दैछ हुण्डीको प्रयोग ? कसरी गर्ने नियन्त्रण ?

August 17, 2017

शिवनाथ प्रसाद शाह । नेपालमा अहिले आर्थिक क्षेत्रमा बढी सुनिएको शब्दहरुमध्ये हुण्डी पनि एक हो । हुण्डी एक अनाधिकृत तथा गैरकानुनी पैसा पठाउने माध्यम हो । अहिले नेपाल लगायतका अरु धेरै देशहरुमा पनि हुण्डीको प्रयोग ब्यापक रुपमा भइरहेको छ । किन मान्छेले हुण्डी प्रयोग गर्न रुचाउँछ ? हुण्डीले मुलुकलाई कस्तो असर पुर्याउँछ ? हुण्डीबाट पैसा पठाउनुपर्ने अवस्था किन आयो ? यसको मुख्य जिम्मेवार निकायहरु कुन कुन हुन् र यसलाई बन्द कसरी गर्न सकिन्छ ? लगायतका बिभिन्न पक्षबारे संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास यहाँ गरिएको छ ।

हुण्डी के हो ?
सरकारद्धारा अनुमति नलिई गैरकानुनी ढंगबाट एक ठाउँबाट अर्को ठाउँमा वा एक देशवाट अर्को देशमा अनाधिकृत प्रक्रियाद्धारा रकम पठाउने माध्यमलाई हुण्डी भनिन्छ । यसमा मोबाइल नम्बर, नोट नम्बर, कुनै निश्चित कोडलाई आधार मानेर रकमको रकमान्तर गर्ने गरिन्छ । यो रकमान्तरको काम गराएबापत हुण्डीको काम गराउने ब्यक्तिले केही कमिशन लिने गर्दछ । उदाहरणको लागि, कुनै मान्छे वा ब्यापारीले नेपालको कुनै ठाउँबाट भारतको कुनै ठाउँमा रकम पठाउनुपर्यो भने सो ब्यक्तिले नेपालमा रहेको हुण्डीको काम गराउने ब्यक्तिनिर गएर पैसा बुझाएर एउटा गोप्य कोड प्राप्त गर्ने गर्दछ । त्यो रकम पठाउने ब्यक्तिले सो कोड भारतमा रहेको रकम पाउने ब्यापारीलाई जानकारी गराईदिने गर्दछ । भारतमा रहेको हुण्डी ब्यापारीले सो कोडको अधारमा त्यो रकम पाउने ब्यक्तिलाई पहिचान गरी रकमको भुक्तानी गर्ने गर्दछ । यो बीचमा दुवै हुण्डीको कारोबार गर्ने ब्यापारीहरु बीच सो कोडको गोप्य रुपमा आदानप्रदान भइसकेको हुन्छ । हाल आएर हुन्डीको विकल्पको रुपमा सुन तस्करी र गैरकानुनी विप्रेषन पनि प्रयोगमा आइरहेको सुनिन्छ ।

किन गरिन्छ हुण्डी ?

  • नेपाल र भारतमा धेरै कारोबारहरु गैर कानुनी रुपबाट गरिन्छ । कुनै पनि समानको आयात गर्दा सो समानको बास्तविक मुल्यांकन नगरी कम मुल्यांकन गराई ल्याउने परिपाटी रहेको छ । सो माथिको रकम गैरकानुनी भएकाले गैरकानुनी बाटोको (हुण्डी) प्रयोग गरी रकम पठाउने गरिन्छ । 
  • नेपाल र भारतमा केही ब्यक्तिहरुमा आर्थिक चेतनाको कमीका कारण बैंक तथा वित्तीय संस्थाको बाटो प्रयोग नगरी सहज बाटो हुण्डीको प्रयोग गरी रकम पठाउने काम गर्ने गरिन्छ ।
  • नेपालमा संचालित ठूला ठूला उद्योग ब्यापार प्रायः भारतबाट आयातित ब्यापारीद्धारा संचालित छ । यहाँको राजनीतिक अस्थिरताले गर्दा ती ब्यापारीहरुले कमाएको पैसाहरु बर्षेनी भारतामा पठाई सुरक्षित गर्ने गरेकोले सो रकमलाई हुण्डीको बाटो अपनाई पठाउने गरिन्छ ।
  • नेपालका तराईमा बसोबास गरिरहेका प्रायः धेरै नेपालीहरु आप्mना ब्यक्तिगत प्रयोजनका लागि नजिकका भारतीय बजारमा गई सस्तोमा पाउने लोभले नेपाली नोटबाटै सरसमान किन्ने गरेको देखिन्छ र सो भारतीय ब्यापारीले प्राप्त गरेको नेपाली नोटहरु साट्नका लागि हुण्डीको प्रयोग भएको पाइन्छ । 
  • सिमा क्षेत्र संचालित भारतीय बीमा कम्पनीहरुले नेपालीहरुसँग बीमा ब्यवसाय गर्ने गरेकोले सो बीमाका प्रिमियम भुक्तानी गर्नका लागि हुण्डीको प्रयोग गरी रकम पठाउने गरिन्छ । 

हुण्डीको प्रयोग बढ्नुमा को जिम्मेवार ? 
हुण्डीको प्रयोग गर्ने अवस्था आउन दिनमा सबैभन्दा प्रमुख जिम्मेवार नेपालको भन्सार कार्यालय रहेको देखिन्छ । कुनै पनि समानको बास्तविक मूल्याङ्कन अनुसार कर निर्धारण नगरी अर्थात न्युनविजिकरण गरी समान आयात गर्न छुट दिएको कारणले व्यापारीहरु भन्सार मूल्याङ्कनभित्र आउन नसकेको रकम हुण्डीमार्फत पठाउन बाध्य हुन्छ । नेपालमा तराईबासीहरुलाई उचित ज्ञानको कमीले गर्दा कुनै पनि समान किन्न भारतीय बजारमा जाने गर्दछन् । सो सामान आयातमा कुनै पनि भन्सारबाट रोकटोक नरहेकोले अथवा केही पैसा लिई आयात गर्न दिने भन्सार कर्मचारीका लापारवाहीका कारण हुण्डीको अवस्था सृजना हुनमा सहयोग पुगेको देखिन्छ ।

देशमा सरकारी निकायहरुले आफ्नो जिम्मेवारी पुरा नगर्दा अथवा राजनीतिक दबाबका कारण ब्यापार ब्यवसायको बातावरण अनुकुल बन्न नदिएर अस्थिरता खडा गरी पैसा पलायन हुनमा प्रोत्साहन गर्ने ती कर्मचारी, नेता तथा ब्यापारीहरु पनि हुण्डीलाई प्रोत्साहन गर्नमा जिम्मेवार देखिन्छन् ।

हुण्डीबाट देशलाई के घाटा छ ?

  • आयातको पहिलो चरणमा समानको उचित मूल्याङ्कन हुन नपाएर कर चुहावट भई आर्थिक नोक्सानीको सुरुवात त्यहीँबाट हुन्छ । ब्यापारीलेसमान विक्रि वितरण गर्दा वास्तविक मुल्यमा नाफा जोडेर गर्ने तर सो विक्रीको भ्याट बिल नकाट्ने गरेको पाइन्छ । भ्याट बिल काटे पनि कम भन्सारको मूल्यांकनका कारण कम मुल्यमा काट्नाले भ्याट चुहावटमा देशलाई आर्थिक नोक्सानी हुन्छ । 
  • न्युन विजिकरणको कारणले शुरुवात भएका यस्ता ब्यापारिक अपराधहरुले उत्पादन, वितरण, उपभोग तथा बैकिंग संयन्त्र जस्ता ब्यापारका सम्पुर्ण सञ्जालमा समेत नराम्ररी असर गरिरहेका हुन्छन् । 
  • हुण्डी गैरकानुनी ब्यापार रहेकोले सो ब्यापारमार्फत आयातित बस्तुहरुको बास्तविक तथ्यांकमा आउन नसकी विदेशी नीति निर्धारण तथा कार्यान्वन्यनमा अपठ्यारो हुन्छ ।
  • हुण्डीको बिकल्पको रुपमा मान्छेले विभिन्न किसिमका जाली प्रज्ञापनपत्र प्रयोग गरी बैंकलाई ठगी गरी विदेशी मुद्रा अपचलन गर्ने, एटीएम कार्डको दुरुपयोग लगायतका वित्तीय आतंक खडा गरी बैंकिङ प्रणालीमा नै समस्या खडा हुने गरेको देखिन्छ ।
  • हुण्डी सम्पुर्ण कारोबजारीलाई प्रोत्साहन गर्ने माध्यम रहेको हुनाले देशमा वित्तीय अस्थिरता हुन गई देशको आर्थिक पहिचान अन्तराष्ट्रिय क्षेत्रमा जोखिममा पर्न सक्ने हुन्छ ।
  • यस्ता वित्तीय आतंकबाट बच्नका लागि राष्ट्र बैकले विभिन्न नीति नियम लागु गर्ने गरेको छ । यसले गर्दा उचित कारोबारमा समेत अनावश्यक झन्झट हुन गई उचित कारोबार गर्ने ब्यापारीको मनोबल खस्कने हुन्छ र उचित कारोबार गर्ने ब्यापारी पनि हुण्डीको बाटो अपनाउन बाध्य देखिन्छ । 
  • हुण्डीका बिकल्पका रुपमा सुन तस्करी ब्यापक रुपमा हुने गरेको पाईन्छ । नेपालमा तेस्रो मुलुकबाट आयातित सुन भारतमामा गैरकानुनी रुपमा निर्यात हुने गरेको देखिन्छ ।

हुण्डीको प्रयोगलाई कसरी गर्ने नियन्त्रण ?
हुण्डी ठूूलठुला सरकारी अधिकारी, ब्यापारीक फर्महरु, राजनीतिक नेताहरु लगायतका सहयोगबाट संचालन हुने गरेको छ । त्यसैले, यो बन्द गराउनु निकै चुनौतिपूर्ण कार्य हो । तापनि तपशीलका केही वित्तीय साधन प्रयोग गरी नियन्त्रण भर्ने गर्न सकिने देखिन्छ । 

  • भन्सारमा आयत हुने बस्तुका खरिद गरेका मुल्यमै भन्सारदर कायम गराउने रणनितिको ब्यवस्था, कार्यान्वन्यन तथा नियन्त्रण गर्ने ।
  • भन्सारका दरमा केही कटौती गरी ब्यापारीहरुलाई सम्पूर्ण कारोवार कानुनी बाटो अपनाई गर्नका लागि प्रोत्साहन गर्ने ।
  • भन्सारका कर्मचारी, भन्सार अभिकर्ता, ब्यापारी लगायतका अधिकारीहरुलाई विशेष निगरानीका साथ दुरुस्त नीति नियमहरु पालन गर्न गराउनमा प्रोत्साहन तथा कारबाहीको ब्यवस्था बनाई कार्यान्वयन गर्ने ।
  • हरेक ब्यापारीको आयात भएका बस्तुहरुका मौज्दात विल भौचर अनुसार भए नभएको नियमित अनुगमन गरी उचित उपचारको समेत बन्दोवस्त गर्ने ।
  • देशका हरेक ठाउँहरुमा हुण्डी ब्यापार गरी बसेका आर्थिक माफियाहरुको सूचना लगभग सबै सम्बन्धित निकायसँग भएकै हुन्छ । ती माफियाहरुलाई कानुनी दायराभित्र ल्याई कारबाही गर्ने ।
  • हुण्डीका कारोबार गर्नेमा सहयोग गर्ने सरकारी कर्मचारी, नेता, ब्यापारिक फर्महरु, सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने ।
  • हरेक ब्यापारीलाई लेखा साक्षरता, कर साक्षरता र बैकिंग साक्षरता लगायतका चाहिने ज्ञानको लागि नेपाल सरकारद्वारा शिक्षाको ब्यवस्था गरी सरल कर प्रणाली अवलम्बन गर्ने ।

समग्रमा भन्ने हो भने, हुण्डी देशको लागि अत्यन्तै घातक संजाल हो, जसले देश र जनताको हरेक आर्थिक क्रियाकलापमा नराम्ररी असर गरिरहेको हुन्छ । हुण्डीको जन्म भन्सारको न्युनविजिकरणवाट हुन्छ, जसलाई रोक्नु राज्यको दायित्व हो । नत्र यसले आर्थिक कारोबार संचालन गर्ने अधिकांश ब्यक्ति तथा निकायहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्पति शुद्धिकरणको घेराभित्र पार्ने खतरा रहिरहन्छ । (लेखक सेन्चुरी कमर्सियल बैकको मलंगवा (सर्लाही) शाखाका प्रबन्धक हुन् ।)


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *