August 16th, 2017

दुई निर्जिवन र एक जीवन बीमा कम्पनी, कुनको वित्तीय अवस्था कस्तो ?

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । निजी क्षेत्रका तीन वटै कम्पनीले खुद मुनाफामा राम्रो प्रगति गरेका छन् । यी तीनमध्ये, नेशनल लाइफको नाफा सबैभन्दा धेरै छ भने एनबिको नाफा सबैभन्दा धेरै प्रतिशतले बढेको छ । 

लुम्बिनी जनरल इन्स्योरेन्सले २५ दशमलव ८२ प्रतिशतले वृद्धि गरि १९ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा लुम्बिनीले १५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । ३९ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १८ करोड ८१ लाख रुपैयाँ र बीमा कोषमा ३३ करोड ३१ लाख रुपैयाँ राखेको छ । कम्पनको आम्दानी २२ दशमलव ७४ प्रतिशतले बढेर ३१ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने खर्च १८ दशमलव ४४ प्रतिशतले बढेर १२ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ७५ करोड १२ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ भने ३२ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ४८ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानी अनुपात १८ दशमलव ९९ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ३८ दशमलव ४४ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मुल्य ५ सय २३ दशमलव ४१ रुपैयाँ रहेको छ ।

यता, अघिल्लो आर्थिक वर्षमा १६ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको निर्जिवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३९ दशमलव ०५ प्रतिशत वृद्धि गरी २३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ र बीमा कोषमा १७ अर्ब ३७ करोड ५५ करोड राखेको छ । कम्पनीको आम्दानी ४१ दशमलव ५१ प्रतिशतले बढेर ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने खर्च ४९ दशमलव ०९ प्रतिशतले बढेर ८ करोड २४ लाख रुपैयाँ पुगेको । कम्पनीको प्रतिसेयर आम्दानी १७ दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय २९ दशमलव ३८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५३ दशमलव ४५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, एनबि इन्स्योरेन्स कम्पनीले १० करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३२ दशमलव ५५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा एनबिले चार करोड ३६ लाख रुपैयाँ मुनाफा कमाएको थियो । २७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा नौ करोड ३५ लाख रुपैयाँ र बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १७४ दशमलव ५४ प्रतिशतले बढेर १५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने खर्च ३१६ दशमलव ६६ प्रतिशतले बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा ३० करोड आठ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ भने पाँच करोड नौ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३७ दशमलव ३९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ८७ गुणा र प्रतिसेयर नेटवर्थ १३२ दशमलव ५१ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]