August 15th, 2017

नेपाल ग्रामीण विकास बैंकको तेश्रो वार्षिकोत्सव समारोह सम्पन्न 

नेपाल ग्रामीण विकास बैक लिमिटेडको तेश्रो वार्षिकोत्सव समारोह कार्यक्रम २०७४ साउन ३० गते  कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले स्वागत मन्तव्य राख्दै नेपाल ग्रामीण विकास बैकको वित्तीय अवस्था तथा विभिन्न गतिविधिको बारेमा प्रकाश पारेका थिए । 

लघुवित्तको कारोवार गर्न राष्ट्रियस्तरको संस्थाको रुपमा इजाजतपत्र प्राप्त यस बैंकले आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्ममा ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरेको छ । बैंकको प्रधान कार्यालय बुटवल उप–महानगरपालिका वडा नं.–१२, रुपन्देहीमा रहेको छ  भने  विराटनगर, जनकपुर,  बुटवल, नेपालगंज र धनगढीमा क्षेत्रीय कार्यालयहरु रहेका छन् । बैंकले ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गका समुदाय विशेष गरी महिलाहरुको आर्थिक तथा समाजिक अवस्था सुदृढ गर्न विभिन्न प्रकारका लघुवित्त सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल यस बैंकको अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ६५ करोड ५० लाख र चुक्ता पुँजी ५५ करोड ७५ लाख रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्ममा २ लाख १०  हजार ग्राहक सदस्य र १ लाख ३५ हजार  ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याएको  छ । २०७४ आषाढ मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको  कर्जा रु. ७ अर्ब  ७२ करोड  र बचत परिचालन रु. २ अर्ब २६  करोड  पुगेको छ । २०७३ आषाढको तुलनामा २०७४ आषाढमा बैंकको कूल लगानीमा रहेको बाँकी कर्जा २०.४१ प्रतिशत, बचत परिचालन २४.०७ प्रतिशतले बृद्धि भएको छ । 

अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व.२०७३÷०७४ को अवधिमा  बैंकले रु १ अर्ब ६० करोड ६० लाख आम्दानी  र रु. १ अर्ब ३४ करोड ७४ लाख खर्च गरी रु. २५ करोड ८६ लाख  सञ्चालन मुनाफा (कर तथा वोनस अघिको) गरेको छ ।  आ.व.२०७३/७४ को अवधिमा कर्मचारी खर्च शीर्षकमा खासगरी उपदान कोष खर्चमा उल्लेख्य बृद्धि भएको कारणले आम्दानीमा उल्लेख्य बृद्धि भएता पनि सोही अनुरुप सञ्चालन मुनाफामा वृद्धि हुन नसकेको जानकारी गराइयो । तलव वृद्धि,  उपदान रकममा वृद्धि हुनु लगायतका कारणले कर्मचारी खर्चमा झण्डै ५८ प्रतिशतले वृद्धि भएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण सापटको व्याजदरमा उक्त अवधिमा बृद्धि भई व्याज खर्चमा समेत उल्लेख्य वृद्धि भएको बताईयो ।  

बैंकले चालु आ.व.२०७४/७५ को अवधिमा कर्जाको पोर्टफोलियोमा रु ९.५० अर्ब पुर्याउने र बचतमा रु ३.१५ अर्व पुर्याउने योजना रहेको बताएको छ । यसै गरी चालु आर्थिक वर्षमा बैंकले थप ७ वटा जिल्लाहरुमा  आफ्नो कार्यक्षेत्र विस्तार गर्ने योजना समेत बताएको छ ।  

उक्त वार्षिकोत्सव समारोहमा  बैंक सञ्चालक समितिका सदस्य हरी शरण के.सीले शुभकामना मन्तव्यका क्रममा बैंकले गरेको कार्य प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा यस बैंकले अझ सक्षमताका साथ काम गर्दै जानुपर्ने बिचार व्यक्त गरे । 

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका व्यवस्थापक रेवती प्रसाद नेपालले मर्जपश्चात नेपाल ग्रामीण विकास बैंकले गरेको प्रगति सन्तोष जनक देखिएता पनि लघुवित्तको क्षेत्र वर्तमान समयमा उच्च प्रतिस्पर्धा रहेको हुँदा यस बैंक पनि आगामी दिनमा अझ सक्षमताका साथ प्रतिस्पर्धी ढंगले उत्रिनुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखाका प्रवन्धक शंकर प्रसाद पहारी, नेपाल ग्रामीण विकास बैक कर्मचारी संघका अध्यक्ष नवराज ढकाल, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रमेश जि.सीले समेत शुभकामना मनतव्य दिएका थिए । 

सम्मानपत्र तथा पुरस्कार वितरण
उक्त समारोहमा बैंकको विराटनगर, जनकपुर, बुटवल, नेपालगंज र धनगढी क्षेत्रीय कार्यालयमा कार्यरत पाँच पाँच जनाका दरले २५ जना र प्र्रधान कार्यालय बुटवलमा कार्यरत एक जना गरी जम्मा २६ जना कर्मचारीलाई बैंकको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याए वापत प्रमाणपत्र तथा नगद पुरष्कार प्रदान गरिएको थियो । यसै गरी अनुशासित र लगनशील ऋणिको रुपमा बैंकको पाँचवटा क्षेत्रीय कार्यालयमा आवद्ध  पाँच पाँच जना गरी २५ जनालाई  पुरस्कृत गरिएको थियो । सोही अवसरमा  राष्ट्रिय वाणिज्य बैंक लि., नेपाल बैंक लि.र हिमालयन बैंक लि. लाई यस बैंकलाई अधिक ऋण सापट उपलब्ध गराए वापत उक्त बैकहरुलाई सम्मानपत्र उपलब्ध गराईको थियो । यसै गरी स्वास्थ्य शिविर सञ्चालनमा प्राविधिक सहयोग गर्ने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज टिचिङ्ग हस्पिटल भैरहवा, औषधी उपलब्ध गराउने एशियन फर्मास्युटिकल तथा सिद्धार्थ फर्मास्युटिकल र वृक्षारोपणमा सहयोग गर्ने पुष्पलाल स्मृती बनबाटीका शंकरनगर, रक्त संकलनमा सहयोग गर्ने रक्त संचार केन्द्र बुटवललाई सम्मानपत्र प्रदान गरीएको थियो । बैकको तेश्रो वार्षिकोत्सवको उपलक्ष्यमा रक्त दान गर्ने कर्मचारी तथा महानुभावहरुलाई  समेत सोही समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो । 

वार्षिकोत्सव समारोहको समापन तथा धन्यवाद ज्ञापन बैंक सञ्चालक समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति माणिकरत्न शाक्यले गरेका थिए । कार्यक्रममा समापन मनतव्य राख्दै सञ्चालक समितिका अध्यक्ष शाक्यले बैंकले आगामी दिनमा चाल्नु पर्ने विभिन्न कदमका बारेमा बैंक व्यवस्थापनलाई निर्देशन दिंदै कार्यक्रम सफलताका साथ आयोजना गरेकोमा बैंक व्यवस्थापन लगायत अन्य सहयोगि संघ संस्थाहरुलाई धन्यवाद समेत दिएका थिए । 

अन्य विविध कार्यक्रम
यसअघि बैंकले वार्षिकोत्सव मनाउने क्रममा साउन २८ गते रुपन्देही जिल्लाको  शुद्धोधन गाउँपालिका वडा नं. २ भुजौलीमा एक दिवशिय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, साउन २९ गते रक्तदान कार्यक्रम, साउन ३० गते  विहान तिलोत्तमा नगर पालिका शंकरनगर वनवाटिका परिसरमा वृक्षारोपण कार्यक्रम र सोही दिन सिद्धवावा शिवकुमारी सैंजु वृद्धाश्रम, बुटवल तल्लो फूलवारीमा  वृद्ध बृद्धाहरुलाई खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।                         


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]