Saturday , September 23 2017

प्रथम गभर्नर हिमालय शमसेरका : ५ महत्वपूर्ण घटनाहरु

August 14, 2017

वि.सं. २००७ साल फाल्गुनमा नेपालमा युगान्तकारी परिवर्तन भएपश्चात् राजनीति र प्रशासन प्रणालीमा आमुल परिवर्तन आयो । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नवनियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकिय निकाय र संस्थाहरु संस्थापन गर्ने तथा नयाँ प्रशासन प्रणाली तर्जुमा गरी लागू गर्ने अवसरहरु प्राप्त भयो । सोहि समयमा ५ वर्ष देशको पहिलो अर्थसचिव भई कार्यरत रहेका हिमालय शमशेर राणाले अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापन गर्न सकृय भूमिका निर्वाह गरेका थिए । त्यसपश्चात् नेपाल राष्ट्र बैँकको प्रथम गभर्नरमा नियुक्त भई आफ्नो जिम्मेवारी सम्हालेका राणाले विभिन्न भोगाईहरु सँगालेका छन् । नेपाल राष्ट्रमा पहिलो गर्भनर भएसँगै केही नयाँ निकाय तथा संस्थानहरु संस्थापन गरेका उनलाई नेपाल राष्ट्र बैँकका पूर्व गभर्नरकै रुपमा चिन्नेहरुको ताँती ठूलो छ । यसैबिच बैंकिङ खबर डटकमले उनको कार्यकालका ५ अविस्मरणीय घटनाहरु यहाँ प्रस्तुत गरेको छ ।

घटना नम्बर १  :
वि.सं. २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिव भई कार्यरत रहँदा अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापन गर्न सकृय भूमिका निर्वाह गरेँ । त्यसपश्चात् नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरमा नियुक्त भई सो बैँक संस्थापन गर्ने अवसर पाएँ । यसबाहेक पनि मैले केही नयाँ निकाय तथा संस्थानहरु संस्थापन गरेँ । तर, मलाई नेपाल राष्ट्र बैँकका पूर्व गभर्नरकै रुपमा चिनियो । राष्ट्र बैँकले आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै यस संस्थाको छापमा ‘असतोमा सद् गमय’ भन्ने निर्देशक बचन राख्न मैले नै लगाएको हुँ । छापको डिजाइन स्व. बालकृष्ण समकी सुपुत्री कलाकार ज्वालाले गरेकी हुन् । मेरो ४ वर्ष ८ महिनाको कार्यकालमा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरु सम्पन्न गर्न सफल भइयो । उहिलेदेखि भारतीय रुपैँयामा कारोबार गरिने नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैँयालाई चलनचल्तीमा स्थापित गर्न सफल भइयो । तराई प्रदेश नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अंग हो भन्ने तराईवासीहरुले अनुभव गर्न थाले । 

घटना नम्बर २ : 
२०१६ सालमा नेरु–भारुको सटहीदर काठमाडौँको इन्द्रचोक र मखनटोलमा कारोबार गर्ने सराफी साहुहरुले आफैँला नाफा हुने गरी समयसमयमा सटही दर तोक्थे र त्यसमा सट्टावाजी पनि बढ्दै गएको थियो । सटहीको अस्थिरताले गर्दा बजारमा माल सामानको मोल साहु र विक्रेताहरुले बढाउने र आम जनताले महँगीको भार खेप्नुपर्ने परिदृश्य थियो । नेपाल राष्ट्र बैँकले ३ वर्ष समग्र देश र प्रदेशहरुमा भारुको माग र आपूर्तिको गहिरो अनुसन्धान गरी १ सय ६० को दरमा नेरु–भारु असीमित परिवत्र्य हुने सहज व्यवस्था २०१७  वैशाखदेखि लागू ग¥यौँ । त्यसबाट नेपालको उद्योगपति, व्यापारी र उपभोक्ताले नेरु–भारुको सटहीदरको अस्थिरताजन्य चिन्ता बेहोर्न नपर्ने भयो । यसले उनीहरुमा उत्साह बढायो । ५० वर्षभन्दा बढी मात्र नभएर हालसम्म यही सटहीदर कायम रहेकोमा बैँकले यथार्थवादी कदम चालेको रहेछ भनेर गर्व लाग्छ । यी दुबै कार्यक्रमहरु सम्पन्न गर्न राजमार्गहरु निर्माण भइनसकेको त्यस बेलाको नेपालमा दुर्भेद्य चुनौतिहरु थिए र हाम्रो कार्यक्रम सफल हुन सक्दैन भन्ने धेरै थिए । तीमध्ये, हाम्रो अनुरोधमा भारतको रिजर्भ बैँक अफ इन्डियाबाट सल्लाहकारको रुपमा राष्ट्र बैँकमा केही वर्ष कार्यरत श्री पई पनि थिए । हुन सक्छ र गराउँछु भनेर मैले उनीसँग ५ रुपैँयाको बाजी राखेको थिएँ । २०१७ सालको असारतिर म कलकत्ता जाँदा उहाँ आएर मलाई भारु ५ दिनुभयो ।

घटना नम्बर ३ : 
२०१३ सालअघि देशको विदेशी मुद्राको सञ्चिती भारतको बैँकहरुमा जम्मा हुन्थ्यो । लण्डनस्थित नेपाली दूतावासको खर्च वा राजा त्रिभुवनको उपचारको खर्च बेहोर्न चाहिने विदेशी मुद्रा रकमको लागि भारतको रिजर्भ बैँक अफ इण्डियामा दरखास्त हाली प्राप्त गर्नुपर्ने थियो । राष्ट्र बैँक सञ्चालनमा आएपश्चात् भारतको आर्थिक मामला सचिव वि.के. नेहरुसँग रिजर्भ बैँक अफ इण्डियामा खाता खोल्नेबारे पत्राचार गरेँ र उहाँको अनुमति पत्र गएपछि त्यहाँ राष्ट्र बैँकको खाता खोलियो । त्यस्तै, बैँक अफ इङ्ग्ल्याण्डसँग खाता खोल्न पत्राचार गरेकोमा पहिले सो बैँकका दुई कर्मचारीहरु र केही पछि बेलायत सरकारको विदेश मन्त्रालयका अण्डर सेक्रेटरी काठमाडौँ आएर मसँग अन्तक्र्रिया गरे । उनीहरुबाट सकारात्मक प्रतिवेदन प्राप्त भएपछि बैँक अफ इङ्ग्ल्याण्डमा हाम्रो खाता खुल्यो । साथै, न्यूयोर्क्स्थित फेडरल रिजर्भ बैँकमा पनि खाता खोल्न सफल भयौँ । राष्ट्र बैँक सञ्चालनमा आएको त्यस्तै, ९ र १० महिनापछि नेपाल विदेशी मुद्रा सञ्चालनमा स्वतन्त्र भयो । 

घटना नम्बर ४ : 
आर्थिक परामर्शदातासँग जिद्धि गरी बैँकमा आर्थिक रिसर्च विभागको स्थापना पनि मैले नै गरेँ । यस विभागले गरेको अध्ययन, अनुसन्धान र प्रस्तुत गरेको आर्थिक प्रतिवेदनहरु आर्थिक र वित्तीय क्षेत्रको लागि पथप्रदर्शक सावित भएको छ । बैँकका यी उपलब्धीको श्रेय इलामदेखि कैलालीसम्म शाखा, उपशाखा, सटही डिपोहरुमा र केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई जान्छ ।

घटना नम्बर ५ :
सन् १९६० को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैँकको वार्षिक सम्मेलनमा भाग लिँदा जापानको केन्द्रिय बैँकका गभर्नर यामामोटोसँग हिमचिम भयो र उहाँको निमन्त्रणामा केही दिन टोकियोमा रहँदा जापानको उत्तरोत्तर सशक्त हुँदै गएको निर्यात व्यापार र अर्थतन्त्रको विस्तृत जानकारी पाएँ । नेपाल फर्केपछि राष्ट्र बैँकले आफ्नो विदेशी मुद्राको सञ्चिती भारतीय, बेलायती र अमेरिकी मुद्रामा राख्ने गरेकोमा केही रकम जापानी येनमा पनि राख्न लगाएँ । येनको दर बढ्दै गएपछि राष्ट्र बैँकलाई धेरै फाइदा भयो । राष्ट्र बैँक येनमा सञ्चिती राख्ने पहिलो केन्द्रिय बैँक भएछ । त्यसबेला बैँक अफ जापानमा कार्यरत र पछि १९७६ तिर एसियाली विकास बैँकको अध्यक्ष भएका योशिदाले पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठसँगको भेटमा येनमा विश्वास गरी पहिलो डिपोजिटर हुन निर्णय गर्ने राष्ट्र बैँकका गभर्नरबारे सोधपुछ भएछ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *