Saturday , November 18 2017

डिजिटल फाइनान्स र ‘क्यास लेस’ ट्रान्जेक्शन : कुशुम लामाको सटिक विश्लेषण

August 14, 2017

कुसुम लामा, उपाध्यक्ष, प्रभु ग्रुप / नेपालमा अझै पनि हुण्डी र रेमिट्यान्सको विषयमा सबै नेपालीले बुझ्न नसकेको अवस्था छ । हुण्डी के हो, र किन यसबाट पैसा पठाउनु हुँदैन भन्नेबारे सबैलाई चेतना पनि छैन । आधिकारिक रेमिट्यान्सबाट पैसा पठाउँदा के फाइदा हुन्छ भन्ने चेतना नेपालमा धेरै आवश्यक छ । हुण्डी र रेमिट्यान्स दुबैले एकै किसिमको काम गर्ने भएकाले यी दुई बीचको फरक नै जनताले थाहा पाउन नसकेको अवस्था छ । रेमिट्यान्स के हो, हुण्डी के हो, डिजिटल फाइनान्स के हो, यि सबै कुराको चेतना हुने हो भने नेपालको अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने थियो । 

डिजिटल फाइनान्स के हो ?
नेपालमा क्यास लेस ट्रान्जेक्शनको आवश्यकता छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलन हाम्रो नेपालमा छ । हामीले डिजिटल फाइनान्सको प्रयोग गर्न सके मात्रै क्यासलेस ट्रान्जेक्शनको सम्भव छ । अहिले हाम्रो स्थिति के भइरहेको छ भने एटिएममा गएर पैसा निकाल्यो, अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्यो । यस्तो प्रवृत्तिले डिजिटल फाइनान्सको अर्थ हुँदैन । समग्र नेपाललाई कसरी डिजिटल फाइनान्समा लैजाने, रेमिट्यान्सलाई कसरी सेभिङतिर लैजाने भन्ने पनि सोच्नु जरुरी छ । 

हामीले साँच्चिकै डिजिटल फाइनान्सलाई अगाडी लैजाने हो भने यसबारे विस्तृतमा बुझ्नुपर्छ । हामीले बिभिन्न बैंकबाट इन्टरनेट बैंकिङ लिइरहेका छौँ भने त्यसबाट के–कस्ता सेवा सुविधाहरु प्रयोग गर्न सक्यौँ त, भन्नेतिर हाम्रो ध्यानाकर्षण हुनु जरुरी छ । अहिले बैंक खाता खोलेर, एटिम कार्ड लिएर, खातामा पैसा राखेर या इन्टरनेट बैंकिङ चलाएर मात्रै पुग्दैन । डिएफएसको साँचो अर्थमा भन्नुपर्दा हामीले त्यस्तो प्रोडक्ट ल्याउनुपर्यो, जसका कारण नगद कारोबार नै गर्नु नपरोस् । हाम्रो तलव, भत्ता पनि बैंक खाताबाटै हालिदियोस, बैंक खातामा पनि हामीले इन्टरनेट बैंकिङ अथवा कार्डबाट पेमेन्ट गर्न सकाँै, मोवाइलमा रिचार्ज गर्न सकौ, डोमेष्टिक मनि ट्रान्फर गर्न सकौँ, इन्स्योरेन्सको पेमेन्ट पनि गर्न सकौँ । नयाँ एप्सको आविस्कारबाट नयाँ कार्यहरु गर्न सकौं । 

रेमिट्यान्सको समग्र विवरण नै छैन
जो खाडी मूलुक गएका छन् उनीहरुको सबै डाटा हामीसँग छ । उनीहरु सरकारले दिएको पासपोर्ट प्रयोग गरेर विदेश गएका छन् । तर, नेपालबाट छिमेकी देश भारत जो नागरिकता लिएर गएका छन् उनीहरुको कुनै डाटा नै छैन । नेपाल र भारतको व्यापार घाटा लगायत राष्ट्र बैंकलाई सबैभन्दा धेरै चाहिने आइएनआर नै देखिन्छ । आइएनआर तिरेर डलर साटिरहेको अवस्था छ । साढे २ लाख नेपाली भारतमा छन् । कोहि रोजगारीमा गएका छन् भने कोहि पढाईको शिलशिलामा गएका छन् । उनीहरुले पनि रेमिट्यान्स पठाइरहेका छन् । अमेरिका, जापान तथा खाडी मूलुक मात्रै होइन, छिमेकी देश भारतबाट पनि रेमिट्यान्स भित्रिएको छ । 

सुन र जुत्ता किनेर सकियो रेमिट्यान्स, बचत भएन
जीडीपी हेर्ने हो भने पनि अहिले कृषि पछि सबैभन्दा बढी योगदान रेमिट्यान्सको नै छ । रेमिट्यान्सलाई अझ तुरुन्तै खर्च नगरेर बचत गर्ने हो भने पनि अझ अर्थतन्त्रलाई सहयोग गर्ने थियो । राष्ट्र बैंकले त्यहि सेभिङलाई बचतपत्रको हिसाबले प्रयोग गर्न सक्छ । तर, यहाँ त बाबुले बिदेशबाट पठाएको रकम छोराले जुत्ता किनीहाल्ने अनि आमाले सानो भए पनि सुन किनिहाल्ने सोच हुन्छ । गोखार्ली सेना भनेर जति बेलादेखि नेपाली बिदेश जान थाले त्यो बेलादेखिको रेमिट्यान्स बचत गरेको भए नेपालको अर्थतन्त्र धेरै माथि पुगिसक्ने थियो । रेमिट्यान्सलाई बढी अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरिन्छ । त्यसले अर्थतन्त्रलाई उकास्न सक्दैन । शिक्षामा पनि हामीले उचित लगानी गर्न सकेनौं । 

फर्मल र इन्फर्मल रेमिट्यान्स
रेमिट्यान्समा फर्मल र इन्फर्मल दुई वटा माध्यम हुन्छन् । फर्मल रेमिट्यान्स, जो विदेशमा दर्ता भएका हुन्छन् । ती रेमिट्यान्समा नेपालीले कमाएको पैसा जम्मा गर्छन् र त्यो रकम नेपालका विभिन्न रेमिट्यान्स एजेन्टहरुले दिन्छन् । उदाहरणका लागि प्रभु मनि ट्रान्सफर, आइएमई, हिमाल लगायत रेमिट्यान्सका फर्मल माध्यमहरु हुन् । पैसा निकाल्न जाँदा आफ्नो परिचयपत्र र पठाएको पिन नम्बर लिएर गएर पैसा निकाल्न सक्छन् । अर्को कुरा हाम्रो रेमिट्यान्स कार्ड पनि हुन्छ । त्यो चाहि हामीले विदेशमा बस्नेलाई पनि दिन्छौँ र यहाँको ग्राहकलाई पनि दिन्छौं । त्यो कार्डमा टपअप गर्न सकिन्छ । विदेशबाट पठाउनेले जुन विदेशी रकम पठाएको हुन्छ त्यो रकम नेपाली रुपैयाँमा परिवर्तन भइसकेको हुन्छ । वहाँहरु विदेशमै बसेपनि नेपाली करेन्सीको पैसा चलाउन सक्नुहुन्छ । नेपालमा थुप्रै ‘गेट वे’हरु पनि छन् । त्यसमा हाम्रो प्रभु इ गेट वे भन्ने छ । त्यसबाट विजुलीको विल, बसको टिकट, इन्स्योरेन्सको पेमेन्ट लगायतका समूर्ण काम त्यसबाट गर्न सकिन्छ । 

हामीले अन्य अतिरिक्त सेवाहरु पनि ल्याइरहेका छौँ । अझै ल्याउने प्रयत्नमा समेत छौँ । खातामा भएको पैसा रुपैयाँ कार्डबाट कारोबार गर्न मिल्ने प्रविधिहरु पनि बनाइरहेका छौँ । हाम्रो ७ हजार भन्दा बढी एजेण्ट छन् । हाम्रो अर्को डिएक्स मेसिन छ । त्यो मेसिनबाट हामीले क्यास कलेक्शन गछौं र रिचार्ज गरिदिन्छौं । यस्ता डिजिटल प्रविधिलाई हामी सहज तरिकाले प्रयोग गर्न सक्छौ । नेपालमा इ–सेवा पनि छ । यसरी, क्यासलाई कसरी क्यासलेस बनाउँदै जाने भन्नेतर्फ अब ध्यान दिनु जरुरी छ । यसका लागि हामीसँग बिभिन्न माध्यमबाट क्यास आएको छ भने त्यसलाई बैंकमा डिपोजिट गर्नुपर्यो । बैंक नजिक छैन भने एजेण्ट नेटवर्कमा गएर मेरो खातामा जम्मा गरिदिनु भन्नुपर्यो । 

बैंकहरु शहरी क्षेत्रमा बढी केन्द्रित छन् । हामीले गाउँलाई पनि फोकस गरिरहेका छौँ । आगामी दिनमा पान पसलमा पनि कार्डको प्रयोग होस् । नेपालमा पूर्ण डिजिटल प्रविधि लागू होस् । नेपाल राष्ट्र बैंकले नोट छाप्नु पर्ने बोझ बोक्नु नपरोस् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *