August 14th, 2017

आठ बैंक : जहाँ छिर्न सकेन ट्रेड यूनियन

बैंकिङ खबर / बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्मचारी युनियन मौलाउँदै गएका छन् । कर्मचारीको हकहितका लागि भन्दै बैंकमा यस्ता किसिमका युनियनहरु गठन हुन थालेका छन् । २८ वाणिज्य बैंकहरुमध्ये हालसम्म २० वटा वाणिज्य बैंकहरुमा कर्मचारी युनियन गठन भएका छन् । हाल ८ वटा वाणिज्य बैंकमा भने कर्मचारी युनियनहरु छैनन् । कर्मचारी युनियन नभएका कतिपय बैंकहरुमा युनियन गठनका लागि प्रक्रिया चले पनि व्यवस्थापनका ठूला कर्मचारी तथा बैंक सञ्चालकको दवावमा गठन हुन सकेको छैन । 

अधिकांशमा युनियन गठन भइसकेपनि अझै ८ वटा बैंकहरुमा युनियन गठन भएका छैनन् । हालसम्म कर्मचारी युनियन गठन नभएका बैंकहरुम सनराइज बैंक, एनएमबी बैंक, सेन्चुरी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स इन्टनेशनल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र  सानिमा बैंक छन् । 

केहि समय अघि ग्लोबल आईएमई बैंकमा कर्मचारी युनियन गठन प्रक्रिया चले पनि ठूला सीईओ तथा सञ्चालकहरुको दवावमा युनियन गठनले अनितम रुप दिन सकेको थिएन । सीईओ तथा सञ्चालकको दवावमा कर्मचारी युनियन गठन अबरुद्ध भएको यस बैंकमा अहिले पनि भित्र भित्रै गठन प्रक्रिया शुरु भएको ग्लोबल आईएमई श्रोतले बताएको छ । श्रोतका अनुसार युनियन गठनका लागि केहि कर्मचारीहरु लागि परेका भए पनि सञ्चालक र सीईओको कारण खुल्न सकेका छैनन । 

प्राइभेट सेक्टरका बैंकहरु सनराइज, एनएमबी तथा सेन्चुरी बैंकमा अहिलेसम्म युनयन गठन भएको छैन । एनएमबी बैंकका प्रमुख सूचना अधिकारी शुदेश उपाध्यायले बैंकिङ खबरलाई दिएको जानकारी अनुसार एनएमबी बैंकमा कर्मचारी युनियनको कुरा समेत उठेको छैन । सेञ्चुरी कमर्शीयल बैंकमा पनि हालसम्म यो प्रक्रिया नै शुरु नभएको बैंकले जनाएको छ । यस बैंकका प्रमुख सूचना अधिकारी शेखराज वस्ताकोटीले बैंकिङ खबरसँगको कुराकानीमा युनियनको आवश्यकता नै नपर्ने बताए । उनको भनाईले कतै सेञ्चुरीमा पनि सञ्चालक तथा सीईओको दवावमा युनियन गठन हुन नसकेको त होइन ? भन्ने प्रश्न चिन्ह खडा भएको छ । 

उद्देश्य एकातिर, काम अर्कैतिर
विशेषतः कर्मचारी हकहितको लागि भन्दै कर्मचारी युनियनहरु गठन भएका हुन् । तर राजनीतिक रुपमा बढी सक्रिय हुँदा यूनियनहरुले पछिल्लो समयमा बैंक व्यबस्थापन पक्षलाई नै आफ्नो हातमा लिन खोज्ने गरेका छन् । तथापी, बैंक तथा वित्तीय क्षेत्रलाई पारदर्शी बनाउन युनियनको भूमिका आवश्यक पर्ने कर्मचारीहरुको भनाई छ । कृषि विकास बैंकका माओवादी निकट कर्मचारी युनियनका अध्यक्ष प्रेमप्रसाद खनाल कर्मचारी युनियन गठन गर्न पाउनु कर्मचारीको अधिकार भएको बताउँछन् । उनी भन्छन् – ‘ट्रेड युनियन गठन गर्न पाउनुपर्छ । यो कर्मचारीको आवश्यकता मात्रै नभएर अधिकार पनि हो ।’

गत केही समय अघि कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा माछापुछ्रे बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरेको थियो । कर्मचारीको नैसर्गिक अधिकारलाई बैंकले दबाउन खोजेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर बैंकको काम छाडेर आन्दोलन गरेका थिए । अन्ततः बैंक व्यवस्थापन कर्मचारी युनियन गठन गर्न सहमत भएपछि बैंकिङ कारोबार संचालनमा आयो । त्यस्तै कृषि विकास बैंकमा पनि एकताका कर्मचारी आन्दोलन चर्किएको थियो । तर उक्त बैंकमा आन्दोलन चर्किनुको कारण भने माछापुच्छ्रे बैंकभन्दा फरक थियो । त्यहाँको युनियनले भने सेवा तथा सुविधा सहितका विभिन्न माग राखेर गत भदौमा आन्दोलन चर्काएका थिए । पछि व्यवस्थापनले सेवा सुविधामा केही बृद्धि गरेपछि त्यो आन्दोलन रोकियो ।

सेवा सुविधा र कर्मचारीका हकहीतका लागि मात्रै नभएर बैंकका कर्मचारी युनियनहरुले बैंक व्यवस्थापनमा दवाव दिने कार्यमा पनि भूमिका खेल्ने गरेको देखिन्छ । कतीपय बैंकहरुमा भने युनियनले बैंकभित्रको अपारदर्शीलाई पनि बाहिर ल्याउने गरेका छन् । हिमालयन बैंकमा तत्कालीन समयमा भएको अनियमितता पनि त्यहाँ भित्र रहेको कर्मचारी युनियनकै कारण बाहिर आएको थियो । हिमालयन बैंकका तत्कालीन कार्ड सेक्सन प्रमुख अनिलभक्त सुवाल डंगोलले गरेको अनियमितता कर्मचारीले नै पर्दाफास गरेका थिए । त्यस्तै नेपाल बंगलादेश बैंकमा एनबी समूहले गरेको घोटाला प्रकरण पनि कर्मचारी युनियनकै कारण बाहिर आएको थियो । हाल नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतमा पनि ट्रेड युनियनहरु निकै  सक्रिय छन् ।

कुन–कुन बैंकमा युनियन छन् ? 
सरकारी स्वामित्वका बैंकहरु सबैमा कर्मचारी युनियनहरु छन् । सरकारी स्वामित्वका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा धेरै अघि देखि कर्मचारी युनियनहरु सक्रिय छन् । उता प्राइभेट सेक्टरका अधिकांश बैंकहरुमा पनि युनियन सक्रिय छन् । नेपालको पहिलो प्राइभेट सेक्टरको बैंक नविल बैंकमा झन युनियनको राम्रो प्रभाव परेको देखिन्छ । यस बैंकमा व्यवस्थापन समूहले गरेको विभिन्न कमिकमजोरीलाई युनियनले खबरदारी गर्ने गरेको छ । नविल बाहेक माछापुच्छ्रे बैंक, हिमालयन बैंक, प्रभु बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक,  एनआईसी एसिया बैंक, नेपाल एसबिआई बैंक, मेगा बैंक, लक्ष्मी बैंक, जनता बैंक, कुमारी बैंक, सिभिल बैंक र प्राइम कमर्शियल बैंकमा कर्मचारी युनियनहरु सक्रिय छन् । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]