Saturday , September 23 2017

नेपालमा लघुउद्यम कार्यक्रम : समस्या र समाधानका उपायहरु

August 9, 2017

ध्रुवराज पौडेल – नेपालमा साना तथा लघुउद्यम (Small and Micro Enterprise, SME) व्यवसायको इतिहास धेरै पूरानो छैन । यस व्यवसायको विकासका लागि वि.सं. १९९६ मा नेपाली कपडा र घरेलु ईलम प्रचार अड्डाको रुपमा सुरु भई वि.सं. २०३० सालमा घरेलु तथा साना उद्योग विभागको रुपमा एउटा छुट्टै विभाग स्थापना हुनु साना तथा लघु उद्यमका क्षेत्रमा एउटा पहलकदमी नै मान्नुपर्छ । यस्तैगरी, वि.सं. २०४९ बाट घरेलु तथा साना उद्योग विकास समितिको स्थापना गरी देशका ४८ वटा जिल्लामा उद्योग प्रवद्र्धनात्मक कार्यका अलावा उद्योग प्रशासनसम्बन्धी कार्यहरु गर्ने गरी जिम्मेवारी सुम्पिएको छ । 

नेपालको कानुन अनुसार दुई लाख रुपैयाँसम्मको पुँजीमा सञ्चालन भएका र आफूसहित नौ जना कामदारबाट सञ्चालित उद्योगलाई लघुउद्योगमा राखिएको छ । साना र घरेलु उद्योग भन्नाले तीन करोडसम्म स्थीर पुँजी भएको उद्योग भन्ने जनाउँछ । हाल घरेलु तथा साना उद्योग विभागले यस्ता उद्योगहरु दर्ता गर्ने, साना उद्यमीलाई तालिम दिने, उद्योगका लागि स्किम बनाइदिने र राज्यस्तरबाट उद्योग स्थापना गर्न चाहिने सहयोग गरिरहेको छ । तीन करोड रुपैयाँभन्दा बढीको स्थीर जेथा हुने उद्योगलाई नेपालको कानुनले मझौला र ठूलो उद्योग मान्दछ र यसलाई उद्योग विभागले हेर्छ ।

नेपालका साना तथा लघुउद्यमहरुमा मुख्यतया खाद्य सामाग्री निर्माण र प्रशोधन सम्बन्धि कार्यहरु पर्दछन् । त्यस्तै घरायशी प्रयोजनका लागि आवश्यक सामाग्रीहरु र कपडा उत्पादनका उद्योगहरु पनि यस अन्तर्गत् छन्, जो केहि हदसम्म विदेशमा पैठारी समेत हुने गर्दछ । धान कुट्ने, तेल पेल्ने, मैदा मिल, दूधजन्य उद्योगहरु, पेय पदार्थका उद्योगहरु, नुडल्स र विस्कुट बनाउने उद्योगहरु, चकलेट्स र क्यान्डी बनाउने उद्योगहरु, मिनरल वाटर, सिजनमा बढि भएका तरकारीहरु सुकाएर या अमिल्याएर बेमौसममा उपभोग गर्न योग्य बनाउने उद्योगहरु पनि यस अन्तर्गत् राखिन्छ । रेशम र पश्मिानाका कपडाहरु, गरगहना, गडिबुटी, मह, सुन्तला, अलैंची, दाल, चिया र कफि जस्ता उत्पादनहरुले पनि साना तथा लघुउद्यमका क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन् ।

साना तथा लघुउद्यमका क्षेत्रमा बढि प्रयोग हुने अर्काे पाटो भनेको वन तथा वन्यश्रोतमा आधारित उद्योगहरु हुन् । काठका सामाग्रीहरु जस्तै गृह निर्माणका सामाग्रीहरु, हाते कागत, हस्तकलाका सामाग्रीहरु निर्माण गर्ने अधिकांश उद्योगहरु पनि साना तथा लघुउद्योग अन्तर्गत नै उत्पादन गरिएका छन् । त्यस्तै जनावरका उन, हड्डी र छालाबाट बनाईने विभिन्न किसिमका सामाग्रीहरु, चराका प्वाँखहरुको प्रयोगबाट बनाईने सामाग्रीहरु पनि यस अन्र्तगत् पर्दछन् । त्यस्तै धातुका सामाग्रीहरु, रबरबाट बन्ने सामानहरु, रंगरोगनका सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु पनि साना तथा लघुउद्योगको दायरा भित्रै उत्पादन गर्न सकिन्छ ।

सामान्यतया विश्व सन्दर्भमा हेर्दा साना व्यवसाय भन्नाले राज्यको सम्बन्धित निकायमा दर्ता भएका वा नभएका ससाना व्यवसायहरु जसमा ५ जना भन्दा कम कामदारहरु छन् र ३५००० डलर भन्दा कम बीउ पूँजी भएका उद्योगहरु भन्ने जनाउँदछ । भारतमा लघुउद्यम भन्नाले रु.२५ लाख भारतीय रुपैयामा नबढ्ने गरि मेशिन र उपकरणहरुमा लगानी भएका उद्यमहरु भन्ने बुझाउँछ । त्यस्तै साना उद्यम भन्नाले २५ लाख देखि ५ करोड भारु. सम्मका मेशिन तथा उपकरणहरु जडान भएका उद्योग र मझौला उद्योग भन्नाले ५ करोड देखि १० करोड भारु. सम्मका मेशिन तथा उपकरणहरु भएका उद्योग भन्ने बुझिन्छ ।

भारतिय औद्योगिक अर्थतन्त्रमा साना तथा लघुउद्योगको धेरै ठूलो महत्व छ । भारतमा निर्माण हुने कूल वस्तुहरुको ४५ प्रतिशत अंश साना तथा लघुउद्यमबाट उत्पादित वस्तुहरुको मात्र रहेको छ भने कूल निर्यातको ४० प्रतिशत अंश यसै क्षेत्रको हुनेगर्दछ । साना तथा लघुउद्यमको सबैभन्दा राम्रो पक्ष त के हो भने यसमा कम पूँजीको लगानीमा धेरै भन्दा धेरै मान्छेहरुलाई रोजगार गराउन सकिन्छ । प्राप्त तथ्याङ्क अनुसार करिब पाँच करोड ९७ लाख भारतीयहरु २ करोड ६१ लाख साना तथा लघुउद्योमा कार्यरत छन् ।

अष्ट्रेलियामा साना व्यवसाय भन्नाले २० जना भन्दा कम कामदार भएका र एउटै मान्छेले संचालन गरेको व्यवसाय भन्ने बुझिन्छ । युरोपियन युनियनका हकमा १० जना भन्दा कम कामदार भएका, २० लाख भन्दा कम व्यालेन्स शीट भएको, २० लाख भन्दा कम नै वार्षिक टर्न ओभर हुने व्यवसाय जो विगत १० वर्षदेखि यो मापदण्ड पूरा गर्न समक्ष छ, जसलाई साना व्यवसायमा गणना गरिन्छ । अमेरिकामा ५ जना भन्दा कम कामदार भएको, ३५००० डलर भन्दा कम कर्जा आवश्यक हुने व्यवसायलाई यसमा राखिएको थियो । तर सेप्टेम्बर २७, २०१० मा राष्ट्रपति बाराक ओबामाले साना व्यवसाय रोजगार ऐनमा दस्तखत गरेपछि लघुकर्जाको सिमा ३५ हजारबाट बढाएर ५० हजार डलर कायम गरिएको छ । एउटा साना व्यवसायीले विभिन्न उद्देश्यहरुमा पनि कर्जा लिन सक्छ तर यसको सिमा भने ५० हजार डलर नै रहने प्रावधान छ । यस्तो कर्जा उपयोग गर्दा व्यवसायलाई चाहिने संचालन पूँजी र उपकरणहरु किन्नमा मात्र उपयोग गर्नुपर्छ । यो कर्जा लिएर पुरानो ऋण तिर्न वा घरजग्गा खरिद गर्न वा अन्य गैह्र नाफामूलक कार्यमा खर्च गर्न पाइँदैन ।

सन् १९९० को दशकमा अमेरिकाको लघुव्यवसाय क्षेत्र तिब्र गतिले विकसित भएको देखिन्छ । सुरुमा केहि विकासोन्मूख देशका मोडलबाट शुरु भएको लघुव्यवसाय सेवा प्रदायक संस्थाहरुको पातलो उपस्थिती अहिले सबै राज्यहरुमा दरिलो रुपमा कायम हुन गएको छ । सन् १९९२ मा यस्ता संस्थाहरुको संख्या एक सय आठ थियो भने सन् २०१० मा यो संख्या बढेर आठ सय पुगेको थियो । आज अमेरिका जस्तो विकसित देशमा पहिले कहिल्यै नसोचेको क्षेत्र, संख्या, दूरी र मात्रामा साना व्यवसायहरु संचालनमा रहेका छन् । प्रविधिको उच्चतम विकासले गर्दा साना व्यवसायहरुले अमेरिकाको अर्थतन्त्रमा अर्थपूर्ण उपस्थिती राख्दछन् । 

बेलायतमा जम्मा ४.५ मिलियन साना व्यवसायहरु छन्, जसमा नौ जनासम्म कामदार हुन्छन् । यो संख्या देशको कुल व्यवसायको ९५ प्रतिशत हुन आउँछ । यहाँ प्रति व्यवसाय दुई सय ५० भन्दा बढी कामदार भएका व्यवसायहरुको संख्या छ सय मात्रै रहेको छ, जसलाई ठूला उद्योग भनेर चिनिन्छ । प्रति सात जना बयस्क ब्रिटिस कामदारमध्ये एक जना ब्रिटिसको आफ्नै व्यवसाय छ । Ernst and Young र London School of Economics ले बेलायतका पाँच सय सफल व्यवसायीहरुमा गरेको अध्ययनले के देखायो भने ८८ प्रतिशत व्यवसायीहरुले आफ्नो उमेर ४४ वर्ष नहुँदै व्यवसाय सुरु गरिसकेका थिए । त्यसमध्ये २० प्रतिशतले त आफू २४ वर्ष नपुग्दै आफ्नो व्यवसाय सुरु गरिसकेका थिए । अझै चाखलाग्दो कुार त के छ भने ५५ प्रतिशत व्यवसायीसँग विश्वविद्यालयको डिग्री छ, तर उनीहरु व्यवसाय सफल हुनुमा यसको खासै महत्व देख्दैनन् र माइक्रोसफ्टका मालिक विल गेट्सलाई आफ्नो आदर्श पुरुष ठान्दछन् । 

विकासशील देशहरुको सन्दर्भमा साना व्यवसाय भन्नाले ती सक्पूर्ण क्षेत्र पर्दछन्, जहाँ मान्छे इच्छाले भन्दा पनि बाध्यताले जीवन निर्वाहका लागि केही गरेका हुन्छन् । औपचारिक रुपमा जागीरको अभाव र गरिबीले जसोतसो साना व्यवसायलाई बचाइराखेको छ । धेरैजसो लघुकर्जाग्राहीहरु आफ्नो भित्री इच्छाले व्यवसायी बनेका हुँदैनन् । यदि कुनै फ्याक्ट्रीको जागीर पाए ठिकैको तलबमा उनीहरु काम गर्न राजी हुन्छन् । 

नेपालमा एसएमईका समस्याहरु
नेपालका ६० प्रतिशत साना तथा लघुउद्योगहरु बन्दप्रायः रहेका र बाँकी ४० प्रतिशत पनि कच्चा पद्धार्थको कमि, सीपालु जनशक्तिको अभाव, ऋणको उच्च व्याजदर, मजदुर समस्या र अन्य विभिन्न कारणले रुग्ण छन् । दर्ता गरिएका साढे दुई लाखको हाराहारीका उद्योगहरुमध्ये एक लाखको हाराहारीमा मात्रै संचालनमा रहेका छन् । नेपालमा यो क्षेत्रमा १७ करोडको हाराहारीमा लगानी भएको र करिब १९ लाख १० हजार नेपालीहरुले रोजगारी पाइरहेको अवस्था छ । यदि नेपालका साना उद्योगहरुलाई राज्यले प्रवद्र्धन र प्रोत्साहन गरी बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउन सकिएन भने हाम्रा साना र घरेलु उद्योगहरु लापोन्मुख दिशातर्फ लाग्ने निश्चितप्रायः छ । 

परम्परागत व्यवस्थापन, अविकसित व्यवसायिक संस्कृति, पूराना उत्पादन प्रविधि र कमजोर बजारीकरण नेपालमा साना व्यवसाय फस्टाउन नसक्नुका मूलभुत कारणहरु हुन् । यसका साथै उत्पादित वस्तुको गुणस्तर वृद्धि गर्न नसक्नु र प्रविधिको स्तर कमजोर हुनाले विश्व बजारमा नेपाली सामानहरुको प्रतिष्पर्धात्मक क्षमता बढ्न सकेको देखिँदैन । देशको सन्तुलित विकासका दृष्टिकोणले मात्र हैन, समाजमा शान्ति र अमनचयन कायम गर्न पनि साना व्यवसायीहरुलाई उत्प्रेरित गर्न जरुरी छ । देशमा बढ्दो शिक्षित यूवा बेरोजगारीको दीर्घमालीन प्रभावलाई बेलैमा यकिन गरी सो अनुकुल राज्यको नीति निर्माण गर्नु आजको पहिलो आवश्यकता हो । यसका लागि राज्य र निजी क्षेत्रको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय क्षेत्रमै तुलनात्मक लाभका वस्तु तथा सेवाहरु यकिन गरी सोको प्रवद्र्धन गर्ने कार्यक्रमहरु ल्याउनु आवश्यक छ । सरकारी स्तरबाट गरिनुपर्ने अन्य कार्यहरुमा स्थलगत रुपमै उद्यमीहरुलाई व्यापारिक तालिमहरु दिने, ठूला फर्महरुसँग व्यापारिक सम्बन्ध स्थापित गर्न सहयोग गर्ने, वस्तु निर्यातमा सहजकर्ताको भूमिका निर्वाह गर्ने र आवश्यक परे सरकारी अनुदानको समेत व्यवस्था गरी वस्तु तथा सेवालाई विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन सहयोग गर्ने रहेका छन् । 

नेपाल विश्व व्यापार संघमा प्रवेश गरिसकेपछि अन्य वस्तुलाई जस्तै साना र घरेलु उद्योगबाट उत्पादित वस्तुहरुलाई पनि अवसर र चुनौति दुवै थपिएको छ । विश्व बजारमा हाम्रा वस्तुहरुको विना रोकटोक प्रवेशबाट व्यापारमा राम्रो कमाई गर्ने अवसर त छ, तर उच्च प्रविधिको उपयोग गरी उत्पादन गरिएका उस्तै वस्तुहरुमा नेपाली वस्तु रोजाईमा पर्न त्यति सजिलो छैन । मास स्केलमा उत्पादन गरिएका विदेशी वस्तुसँग नेपाली वस्तुहरुले प्रतिष्पर्धा गर्दा मूल्यको समस्या सबैभन्दा बढी देखिन्छ । उनीहरुको विक्रीमूल्यमा हाम्रा वस्तुहरुको उत्पादन लागत पनि नउठ्ने अवस्था एकातिर छ भने अर्कोतिर वस्तुको गुणस्तर पनि प्रतिष्पर्धा गर्न योग्य नभइरहेको अवस्था छ । तसर्थ, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने नेपाली वस्तु तथा सेवाहरुको पहिचान महत्वपूर्ण कुरा हो ।

समस्या सामाधानका उपायहरु
नेपालमा साना तथा लघुउद्यमका क्षेत्रमा आशातित विकासका लागि बुँदागत रुपमा निम्न कुराहरुलाई ध्यान दिनुपर्ने देखिन्छ :
१. साना तथा लघुउद्यमका क्षेत्रमा काम गर्ने उद्यमीहरुको प्राविधिक ज्ञानको दायरा फराकिलो बनाउनु अत्यन्त जरुरी छ । देश विश्व व्यापार संघको सदस्य भइसकेको वर्तमान अवस्थामा वस्तु तथा सेवा उत्पादनको प्राविधिक ज्ञानविना गुणस्तरीय वस्तु उत्पादन हुन सक्दैन र सो उत्पादनले विश्व बजारमा प्रतिष्पर्धा गर्न पनि सक्दैन । 
२. सरकार र यस क्षेत्रमा काम गर्ने संस्थाहरुले मिलेर साना उद्यमीहरुलाई प्रोत्साहन र सम्वद्र्धन गर्नु नितान्त जरुरी छ । देशमा छरिएर रहेका उद्यमी र उद्योगहरुलाई एकत्रित गर्ने, एउटै वा उस्तै वस्तु तथा सेवाहरुको उत्पादन गर्ने उद्यमीहरुलाई परस्पर परिचित गराई उनीहरुलाई गुणस्तरीय वस्तु उत्पादन गर्न सहयोग गर्नुपर्छ । यसबाट साना व्यवसायीहरुमा आत्मविश्वासको विकास हुन गई व्यवसाय संचालनप्रति सकारात्मक भावना विकसित हुन जान्छ । 
३. बी मूल्य पर्ने र धेरै कामदारहरु खपत हुने उद्यमहरु जस्तै, वागवानी, अन्नबाली र बनजन्य उत्पादनहरु, सूचना प्रविधिको क्षेत्र शैक्षिक क्षेत्र, आधुनिक खेती प्रणालीमा आधारित वस्तु तथा सेवाका क्षेत्रहरु नेपालमा राम्रो सम्भावना बोकेका क्षेत्रहरु हुन् । यी क्षेत्रमा उत्पादनहरुलाई कच्चा पद्धार्थका रुपमै बाहिर पठाउने र प्रशोधनपश्चात् महँगो मूल्यमा हामी नेपालीहरुले किनेर उपभोग गर्नुपर्ने विडम्बनालाई समयमै पहिचान गरी प्रशोधिक वस्तु बाहिर पठाउने खालको रणनीति अख्तियार गर्नु जरुरी छ । यसबाट स्वदेशमै रोजगार सिर्जना हुने र विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्नेछ । 
४. नेपाली उद्यमीहरुमा बजारसम्बन्धि सूचनाको अभाव छ । सूचना प्राप्त भएपनि केन्द्र र बढीमा क्षेत्रसम्म मात्र सीमित देखिन्छ । तसर्थ, बढी मूल्य पर्ने वस्तु र सेवा उत्पादन गर्ने वास्तविक उद्यमीसम्म व्यवसाय र बजार सम्बन्धि सूचना पुर्याउन राज्यस्तरबाट आवश्यक पहलकदमीको जरुरत छ । 
५. साना तथा लघुउद्यमको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुको निकै ठूलो भूमिका हुन्छ । वस्तु तथा सेवाको उत्पादनका लागि संचालन पुँजीको व्यवस्था, वस्तुको निर्यातमा वित्त सेवा र वस्तु परिवहन अगावै र परिवहन पछिको वित्त सेवा व्यवसायीका लागि आवश्यक बैंकिङ सेवा हुन् । त्यस्तै, प्रतीतपत्र र जमानी जस्ता बैंकिङ उपकरणहरुको माध्यमबाट साना व्यवसायीहरु पनि लाभान्वित हुन सक्छन् । तसर्थ, राज्यले कम व्याजदरमा, सुलभ रुपमा कर्जा सेवा उपलब्ध गराउन देशका दुरदराजसम्म पनि बैंकिङ सेवा उपलब्ध गराई सहयोग गर्नुपर्छ । यस सरुम्बन्धमा वर्तमान सरकारको वित्तीय नीति व्यवसायीको पक्षमै रहेको देखिन्छ । 

अन्त्यमा, नेपालको भूअवस्थितिले पनि ठूला उद्योग स्थापना गरी छिमेकी राष्ट्र भारत र चीनसँग प्रतिष्पर्धा गर्न निकै मुस्किल छ । नेपालले आफ्नै देशको विशिष्ट अर्थ राख्ने, सांस्कृतिक महत्वका वस्तुहरुको उत्पादन र बजारीकरणमा विशेष धयान पुर्याउनुपर्छ । नेपाली हस्तकलाका सामग्रीहरु र केही विशेष खाले कपडाहरुको बजार विश्वमै चर्चित छ । नेपाली जडिबुटी, ग्रामीण पर्यटन, हिमाल आरोहणको विश्वस्तरीय तालिम र अध्ययन यस्ता क्षेत्र हुन्, जहाँ विश्वका अरु देशले चाहेर पनि हाम्रो प्रतिष्पर्धा गर्न सक्दैन । यस्ता क्षेत्रहरुको पहिचान गरी नेपाली युवायुवतीहरुलाई देशमै कम पुँजीमा रोजगारी सिर्जन ागर्न सकिने व्यवस्था मिलाउनु आजको अपरिहार्य आवश्यकता पनि हो ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *