Sunday , November 19 2017

सम्पत्ति शुद्धिकरण विभाग के गर्दैछ ? प्रवक्ता विनोद लामिछानेसँगको विशेष अन्तर्वार्ता

August 2, 2017

विनोद लामिछाने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक एवं प्रवक्ता हुन् । साविकमा राजश्व अनुसनधान विभाग अन्तर्गत एउटा महाशाखाको रुपमा रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले २०६८ असार २० देखि छुट्टै विभागको रुपमा स्थापना भएको हो । विभागले दुरदृष्टि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीमुक्त समाज निर्माण गर्न प्रभावकारी भूमिका खेल्ने गरेको छ । गैरकानूनी रुपमा आर्जन गरेको रकम अर्थात कालोधनको आयलाई त्यसको वास्तविक श्रोत लुकाएर शुद्ध बनाउने प्रयासलाई सम्पत्ति शुद्धिकरण भनिन्छ । यस्ता सम्पत्ति शुद्धिकरण सम्बन्धी अपराध रोकथाम गर्नका लागि नै यस विभागको स्थापना गरिएको हो । यस विभागको पछिल्लो काम कारवाही लगायतका बिषयमा विभागका प्रवक्ता समेत रहेका निर्देशक लामिछानेसँग बैंकिङ खबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पछिल्लो काम कारवाहीबारे संक्षेपमा बताइदिनोस न !
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अहिले अनुसन्धानका कामहरु गरिरहेको छ । यसको काम नै अनुसन्धान गर्ने र दोषी उपर अदालती कारवाही अगाढी बढाउने भएकाले सोहि अनुरुपका कामहरु गरिरहेको छ ।

गत आर्थिक बर्षमा कति जना विरुद्ध मुद्धा दर्ता गर्नुभयो, कतिले सजाय र कतिले सफाई पाए ?
गत आर्थिक बर्षमा आधा दर्जन जति मुद्धा अदालतमा दर्ता भएको होला । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आर्थिक बर्षको हिसाबले अनुसनधान गर्ने, मुद्धा चलाउने लगायतका काम कारबाहीहरु गर्दैन । समग्रमा भन्नुपर्दा अहिलेसम्म विभागले ३८ जना विरुद्ध मुद्धा दर्ता गरेको छ ।

सम्पत्ति शुद्धिकरणमा कस्ता प्रकृतिका मुद्धाहरु विभागले चलाएको छ ?
सम्पत्ति शुद्धिकरण विभागले अहिलेसम्म धेरैजसो सुन तस्कर तथा मुद्राको अपचलन सम्बन्धी मुद्धा चलाएको छ । यसबाहेक संगठीत अपराध गर्ने केहिलाई समेत विभागले मुद्धा चलाएको छ ।

सम्पत्ति शुद्धिकरणमा खास के–कस्ता कुराहरु पर्छन् ?
फौजदारी तथा गैरकानूनी कार्य गरेर सम्पत्ति आर्जन गर्ने अपराधहरु सम्पत्ति शुद्धिकरण अन्तर्गत पर्छन् । गैरकानूनी रुपमा आर्जन गरेको रकम नै कालोधन हो । कालो धनको आयलाई त्यसको वास्तविक श्रोत लुकाएर शुद्ध बनाउने प्रयासलाई सम्पत्ति शुद्धिकरण भनिन्छ । आतंककारी कार्य र आतंककारी क्रियाकलापमा वित्तीय लगानी, लागु औषध कारोवार, भ्रष्टाचार, अवैध हातहतियार कारोबार, चिट्ठा ठगी, पाइरेसी, अपहरण र फिरौती, हुण्डी कारोबार लगायत कुराहरु सम्पत्ति शुद्धिकरण सम्बद्ध कसुरहरु हुन् ।

चालु आर्थिक बर्षदेखि १० लाख माथिको कारोबारमा बन्देज गरिएको छ, यसले अकुत सम्पत्ति आर्जनमा कस्तो प्रभाव पार्ला ?
मुख्य कुरा वित्तीय क्षेत्रलाई पादरदर्शी बनाउन नेपाल राष्ट्र बैंकले १० लाख बढीको नगद कारोबारमा रोक लगाएको हो । यसले अपारदर्शी कारोबारलाई रोक लगाउँछ । बैंकिङ कारोबार गर्दा अपराधलाई निश्चय नै रोक्छ । १० लाख बढीको नगद कारोबारमा रोक लगाउनु यो राम्रो कुरा हो । यसले अकुत सम्पत्ति आर्जनमा अवश्य पनि प्रभाव पार्छ । यो व्यवस्थाले अकुत सम्पत्ति रोकथामका लागि सहयोग गर्छ ।

राष्ट्र बैंकले ल्याएको नीतिले भ्रष्टाचार रोकिन्छ ?
आर्थिक अपराध कम गर्नकै लागि ल्याएको नीतिले अपराध अवश्य पनि रोकिन्छ । अपराध रोकिएपछि भ्रष्टाचार त्यसै रोकिन्छ । एकैचोटि भ्रष्टाचार रोकिन्छ भन्ने त नहोला तर, क्रमिक रुपमा राष्ट्र बैंकले ल्याएको नीतिले भ्रष्टाचार रोकिन्छ ।

नेपालमा अहिले अवैधानिक सम्पत्ति कति जति होला ?
नेपालमा यति अवैधानिक सम्पत्ति छ भन्ने ठ्याक्कै डाटा त हुँदैन । हाम्रो अर्थतन्त्रको ४० प्रतिशत अनौपचारिक सेक्टर छ भन्ने छ । धेरै जसो देशहरुमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) को २/३ प्रतिशत अवैध सम्पत्ति हुन्छ भन्ने छ । तर हाम्रो देशमा चाहि ६÷७ प्रतिशत अवैध सम्पत्ति हुनसक्ने अनुमान छ ।

चेतनाको कमीले पनि सम्पत्ति शुद्धिकरणका अपराधहरु हुने गरेका छन् भनिन्छ, के लाग्छ तपाईँलाई ?
वास्तवमा ठीक भन्नुभयो । सम्पत्ति शुद्धिकरणका अपराधहरु कतिपय चेतनाको कमीले पनि हुने गरेका छन् । उदाहरणको लागि अहिले १० भन्दा बढीको नगद कारोबार बन्द गरिएको छ । यसबारे कतिपयले थाहा नपाएका हुन सक्छन् । ती थाहा नपाएकाले त्यस्तो कारोबार गर्न सक्छन् । कानून विपरित गरेपछि थाहा नपाएर गरेको हो भनेर कानूनले छाड्ने कुरा हुँदैन । यसर्थ यस्तो कुरा बुझाउन चेतनाको एकदमै आवश्यक छ । हामीले यस्ता प्रकारका चेतना फैलाउने कामहरु पनि गरेका छौं । पत्रपत्रिका, एफएम तथा टेलिभिजनबाट सूचनामूलक सामाग्री प्रकाशन÷प्रशारण गरिरहेका छौँ ।

सम्पत्ति शुद्धिकरणका अपराधहरु निर्मूल पार्नका लागि कस्ता प्रकारका योजनाहरु ल्याउनुपर्ला ?नेपाल सरकारका कानून कार्यान्वयन गर्ने निकायहरु, सूचक संस्थाहरु, वित्तीय जानकारी इकाईहरु लगायतका सवै एजेन्सीहरुले प्रचार प्रसार गर्नु पर्छ । सम्पत्ति शुद्धिकरण अपराध गर्न नहुने सन्देश समाजमा जाने गरी प्रचार प्रसार गर्नुपर्छ । यस्ता प्रकारको प्रचारप्रसार गर्ने कार्य यस विभागको मात्रै नभएर सबैको जिम्बेवारी हो । अन्य निकायहरुले पनि यसबारे चेतना फैलाउनु आवश्यक छ ।

एउटा सामान्य नागरिककले सम्पत्ति शुद्धिकरणलाई कसरी बुझ्ने ?
सामान्य मानिसले कानूनले निषेध गरेको काम गर्दै नगर्ने । कानूनले निषेध गरेको काम नगर्ने हो भने कुनै पनि मानिस सम्पत्ति शुद्धिकरणमा मात्रै नभएर कुनै अपराधमा फस्दैन ।

सम्पत्ति स्वघोषित गर्ने भन्ने कुरा उठेको थियो नि, त्यो कहाँ पुग्यो ?
केहि समयअघि सम्पत्ति स्वघोषित गर्ने भन्ने कुरा उठेको थियो । यो सम्पत्ति शुद्धिकरणको कोर इस्यू नबुझि उठाइएको कुरा हो । सम्पत्ति घोषणा र सम्पत्ति शुद्धिकरणबीच त्यति प्रत्यक्ष सम्बन्ध त छैन । मान्छेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्पत्ति जाच विभाग भन्ने बुझेका छन्, त्यो होइन । हामी सम्पत्तिलाई ग्रहण गर्ने प्रक्रिया गैरकानूनी हो कि होइन ? भन्ने अनुसन्धान गर्ने विभाग हो । सम्पत्ति स्वघोषित गर्दा सम्पत्ति शुद्धिकरणमा खासै प्रभाव पार्दैन ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *