July 27th, 2017

एनएमबि बैंकको नाफा डेढ अर्बभन्दा बढी, ग्लोबल आईएमईको दुई अर्ब नाघ्यो

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षमा डेढ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा एनएमबिले एक अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब २६ करोड ९४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव ०३ प्रतिशत वृद्धि गरी ७३ अर्ब २२ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ०९ प्रतिशतले वृद्धि गरी ६१ अर्ब २१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २७ दशमलव ५७ प्रतिशतले बढेर दुई अर्ब ५६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५९ दशमलव ८७ प्रतिशतले बढेर एक अर्ब ९८ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १८ करोड ३५ लाख रुपैयाँ राखेको छ भने २२ करोड ३५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव १५ प्रतिशतले घटेर एक दशमलव ६६ प्रतिशत कायम भएको छ भने पुँजीकोष अनुपात दुई दशमलव ८७ प्रतिशतले बढेर १३ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ६८ गुणा, तरलता अनुपात २८ दशमलव १४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ६६ दशमलव ०७ रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमईको नाफा दुई अर्ब नाघ्यो
गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकको नाफा दुई अर्ब नाघेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७० अर्ब बढी नाफा कमाएको हो । अघिल्लो वर्ष पहिलोपटक अर्बपति क्लबमा प्रवेश गरेको बैंकको नाफा गत आर्थिक वर्षमा दुई अर्ब छ करोड रुपैयाँ पुगेको छ । 

सो अवधिमा बैंकले एक खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षकोभन्दा ७६ अर्ब रुपैयाँले बढी हो । त्यस्तै गत वर्ष बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुटइएको रकममध्ये ३९ करोड रुपैयाँ फिर्ता (राइटब्याक) गरेको छ । त्यसैगरी, विदेशी मुद्राको कारोबारबाट बैंकले २८ करोड रुपैयाँ आम्दानी गरेकोछ भने फि एण्ड कमिशनबाट ४१ करोड रुपैयाँ कमाएको छ ।

बैंकले संभावित जोखिमको व्यवस्थापन गर्न ३६ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ । बैंकले प्रवाह गरेको कूल कर्जामध्ये १.७५ प्रतिशत कर्जा मात्रै निस्क्रिय भएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको छ । आर्थिक बर्षको अन्त्यतिर बैंकले रिलायवल डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]