July 21st, 2017

किसानलाई ७५ प्रतिशत प्रिमियम अनुदान, बजार मूल्यमै तरकारीको बीमा

ममता थापा

सरकारले ४० भन्दा बढी प्रजातिका तरकारीको बजार मूल्यमै बीमा गर्ने तयारी थालेको छ । यसअघि तरकारीको लागतमा मात्र बीमालेख जारी हुँदै आएको थियो । अब भने उत्पादनको अनुमानित बजार मूल्यमै लेख जारी गर्ने तयारी गरिएको हो । आलु, च्याउलगायत तरकारीको लागतमा मात्र बीमा गर्दा फाइदा नभएको गुनासो कृषकले गर्दै आएका थिए । सोही कारण बीमालेखमा पनि ७५ प्रतिशत अनुदान दिने गरी सरकारले योजना ल्याउन लागेको हो । उक्त योजना अन्तिम चरणमा पुगिसकेको र साउनको दोस्रो सातातिर सार्वजनिक गर्ने तयारी भइरहेको बीमा समितिले जानकारी दिएको छ ।  

यसअघि अधिकांश तरकारीको मल, बीउ, औषधि र श्रमिक खर्च लगायतको लागतका आधारमा बीमा गर्ने व्यवस्था भए पनि चैते धानको भने उत्पादनको मूल्यमा नै बीमा गरिँदै आएको थियो । अब तरकारीको बीमालेख योजना पनि चैतेधानकै अवधारणाअनुसार हुने समितिको कृषिबीमा शाखाका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए । उनका अनुसार चैतेधानका लागि ३५ ओटा जिल्लालाई निर्धारण गरिएको छ, तरकारीको भने देशव्यापी हुनसक्छ । सबैजसो तरकारी मुलुकका अधिकांश भूभागमा खेती हुने भएकाले जिल्ला छुट्याउन नसकिएको उनको भनाइ छ । ‘कुन जिल्लामा कुन बीमा कम्पनीले बीमालेख जारी गर्ने भन्ने पनि तोकिएको छैन,’ उनले भने ।

बाली बीमा गर्ने कम्पनीहरूले धान, आलु, फलफूल, च्याउलगायतको बीमा गर्दै आएका छन् । समितिका अनुसार अब गोलभेंडा, आलु, भान्टा, काउली, बन्दागोबी, खुर्सानीलगायत तरकारीको पनि बीमा गर्न लागिएको हो । कृषकलाई प्रोत्साहन र कृषि पेशा प्रवद्र्धन गर्न सरकारले बाली तथा पशुपक्षी बीमामा ७५ प्रतिशतको प्रिमियम अनुदान दिने गरेको छ । यसअघि किसानले तरकारी लगाएदेखि भित्र्याउने बेलासम्मको कुल लागतको मात्र बीमालेख गर्न पाउँथे । अब उत्पादनको पूर्वनिर्धारित बजार मूल्यमा बीमालेख हुनेछ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]