Wednesday , September 20 2017

कस्तो छ मुलुकको आर्थिक तथा वित्तीय स्थिति ? हेर्नुहोस्, राष्ट्र बैंकको समीक्षा 

July 19, 2017

(आर्थिक वर्ष २०७४ को एघार महिनासम्मको तथ्याङ्कमा आधारित) 
समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य 
१. मौसम, सरकारी वित्त, राजनैतिक र वित्तीय सहितका चार क्षेत्रहरुमा हाल विकसित परिस्थितिले आगामी अवधिमा मुलुकको आर्थिक तथा वित्तीय स्थितिको निक्र्याैल गर्नेछ । 
२. पहिलो, हालसम्म मनसुनी वर्षा अपेक्षा गरेको भन्दा कम रहेको स्थिति छ । दक्षिण एशियाली जलबायु फोरमका अनुसार नेपालमा चालु मनसुन अवधिमा मिश्रित खालको वर्षा हुने सम्भावना रहेको छ । यस अनुसार देशको पूर्वी क्षेत्रमा औसत नजिक, मध्य क्षेत्रमा औसत तथा मध्य तथा सुदूर पश्चिम क्षेत्रमा औसत भन्दा कम वर्षा हुने देखिएको छ । तसर्थ, आगामी अवधिमा हुने वर्षाको प्रवृतिले कृषि उत्पादनमा मुख्य भूमिका खेल्ने देखिन्छ । 
३. दोस्रो, संबैधानिक व्यवस्था अनुसार तोकिएकै समयमा प्रस्तुत भएको आर्थिक वर्ष २०७४/७५ को बजेटको आकार अपेक्षाकृत बढेको छ । विस्तारित बजेटको आकारबाट आर्थिक वृद्धिको गतिलाई दिगो बनाउन मद्दत मिल्ने देखिन्छ । साथै, बजेटले स्थानीय तहको लागि यथेष्ठ वित्तीय स्रोतहरुको व्यवस्था गरेकाले मुलुकभरी नै आर्थिक गतिविधि चलायमान हुने देखिन्छ । 
४. तेस्रो, स्थानीय तहको पहिलो तथा दोस्रो चरणको निर्वाचन सम्पन्न भएकोले राष्ट्रव्यापी रुपमा आर्थिक गतिविधि चलायमान बनाउन उपलब्ध साधनहरुको समुचित उपयोग हुने आम जनमानसमा अपेक्षा रहेको छ । 
५. चौथो, पछिल्लो समयमा वित्तीय असन्तुलनमा सुधार र खास गरी तरलतामा देखिएको उल्लेख्य वृद्धिका कारण मध्यमकालीन ब्याजदर सन्तुलित अवस्थामा फर्किने देखिएको छ । यसका साथै विदेश जाने कामदारको संख्यामा कमी आएता पनि विप्रेषण आप्रवाह सुदृढ अवस्थामा रहेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले पनि वित्तीय अवस्था सहज हुँदै जाने देखिएको छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 
६. २०७४ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.८ प्रतिशत कायम भएको छ । २०७३ जेठ महिनामा सो मुद्रास्फीति ११.१ प्रतिशत रहेको थियो । गत वर्षको उच्च आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण नै मुद्रास्फीति सहज भएको हो । 

खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११.९ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १७.५ प्रतिशत, तरकारीको मूल्यमा १६.३ प्रतिशत र घ्यू तथा तेलको मूल्यमा १ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.८ प्रतिशतले वृद्धि भएको छ । 

गैर–खाद्य मुद्रास्फीति 
८. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति १०.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
९. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ४ प्रतिशत, तराईमा ३.१ प्रतिशत, हिमालमा १.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२ प्रतिशत, तराईमा ९.५ प्रतिशत, हिमालमा १०.२ प्रतिशत र काठमाडौं उपत्यकामा १३ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१०. २०७४ जेठ महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.५ प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ११.१ प्रतिशत र ५.८ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ५.३ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.१ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १०.२ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.९ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१२. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १८.९ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १४.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २१.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः १३.१ प्रतिशत, १६.९ प्रतिशत र १२.७ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 
१३. आर्थिक बर्ष २०७४ को एघार महिनासम्ममा कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भई रु. ६८ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २०.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैचा, अलँैची, तयारी पोशाक, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु आयात ३०.९ प्रतिशतले बढेर रु. ८९६ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ३९ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ । 
१५. भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार, भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१६. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी रु. ८२७ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१७. आर्थिक वर्ष २०७४ को एघार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ९ग्लष्त ख्बगिभ क्ष्लमभह० वार्षिक बिन्दुगत आधारमा १.१ प्रतिशतले बढेको र आयात मूल्य सूचकाङ्क ०.४ प्रतिशतले घटेकोले व्यापारको सर्तमा १.५ प्रतिशतले सुधार आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २३ प्रतिशतले बढेको थियो । कार्पेट, यार्सागुम्बा, अलैचींको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने कम्प्युटर मोनिटर, चामल, सुपारीको मूल्यमा कमी आएका कारण आयात मूल्य सूचकाङ्कमा कमी भएको हो । 

सेवा 
१८. समीक्षा अवधिमा कुल सेवा आय १६.१ प्रतिशत र कुल सेवा खर्च २०.३ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. ६ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ९ अर्ब ४५ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ४१.८ प्रतिशतले वृद्धि भई रु. ५५ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.२ प्रतिशतले घटेको थियो । 

विप्रेषण आप्रवाह 
१९. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले वृद्धि भई रु. ६३३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ११.६ प्रतिशतले वृद्धि भई रु. ७७५ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.१ प्रतिशतले बढेको थियो । 

चालू खाता एवम् शोधनान्तर 
२०. अघिल्लो बर्षको एघार महिनामा रु. १३० अर्ब ८ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण रु. १ अर्ब ७२ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको एघार महिनासम्ममा रु. १७१ अर्ब १५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ७४ अर्ब २६ करोडले बचतमा रहेको छ । 
२१. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. १२ अर्ब २३ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १२ अर्ब २७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. १२ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ८० करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२२. कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ३ प्रतिशतले वृद्धि भई २०७४ जेठ मसान्तमा रु. १०७० अर्ब २६ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७४ जेठ मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु. ९१५ अर्ब १२ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा १.९ प्रतिशतले वृद्धि भई रु. १५५ अर्ब १३ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.६ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२३. आर्थिक वर्ष २०७४ को एघार महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.२ प्रतिशत, ९५.६ प्रतिशत र ४२.७ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति 
२४. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४७.८८ रहेकोमा २०७४ जेठ मसान्तमा ५ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ४५.४७ कायम भएको छ । त्यसैगरी, २०७३ जेठ मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १२८७.१५ रहेकोमा २०७४ जेठ मसान्तमा ०.९ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२७५.५० पुगेको छ । 
२५. २०७३ असार मसान्तको तुलनामा २०७४ जेठ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ३.९ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.५ प्रतिशतले अवमूल्यन भएको थियो । २०७४ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०२.७७ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
२६. आर्थिक वर्ष २०७४ को एघार महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ५० अर्ब १३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ५९ अर्ब ९९ करोड रहेको थियो । 

सरकारी खर्च 
२७. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३ प्रतिशतले वृद्धि भई रु. ५५५ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४.४ प्रतिशतले बढेर रु. ३८८ अर्ब ३१ करोड पुगेको थियो । 
२८. समीक्षा अवधिमा चालू खर्च ४२.८ प्रतिशतले बढेर रु. ३९४ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २७६ अर्ब २३ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु. १०८ अर्ब ४३ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. ५५ अर्ब ७६ करोड भएको थियो । सरकारी राजस्व 
२९. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३३.१ प्रतिशतले वृद्धि भई रु. ५२७ अर्ब १४ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १४.७ प्रतिशतले वृद्धि भई रु. ३९६ अर्ब २ करोड पुगेको थियो । मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तःशुल्क लगायतका शीर्षकहरुमा राजस्व उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो । 

सरकारको नगद मौज्दात 
३०. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ जेठ मसान्तसम्ममा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. २६९ अर्ब ७ करोड नगद मौज्दात कायम रहेको छ ।  

मौद्रिक तथा वित्तीय स्थिति 
मुद्राप्रदाय 
३१. समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय १६.८ प्रतिशतले बढेको छ । 
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ७४ अर्ब २६ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १७१ अर्ब १५ करोडले बढेको थियो । 
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठ मसान्तमा उक्त मुद्रा १२.४ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ११.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठ मसान्तमा यस्तो कर्जा २०.९ प्रतिशतले बढेको छ । 
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७४ जेठ मसान्तमा २१.८ प्रतिशतले बढेको छ । 

निक्षेप सङ्कलन 
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.५ प्रतिशतले बढेको छ । २०७३ जेठ मसान्तमा यस्तो निक्षेप १८.५ प्रतिशतले बढेको थियो । 
३७. २०७४ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३५.८ प्रतिशत र ४३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ४३.८ प्रतिशत र ३०.२ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.८ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको २०.५ प्रतिशत र विकास बैंकहरुको १.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ०.६ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा २१.९ प्रतिशतले बढेको छ । २०७३ जेठ मसान्तमा यस्तो कर्जा २०.९ प्रतिशतले बढेको थियो । 
३९. समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १९.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १४.९ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा १७.७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले बढेको छ । 
४०. २०७४ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १४ प्रतिशत रहेको थियो । 
४१. २०७४ जेठ मसान्तमा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.७ प्रतिशत (रु. ४४ अर्ब ३७ करोड) छ । 
४२. समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशत (रु. ६२ करोड) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३६ प्रतिशतले बढेको थियो । 

पुनरकर्जा, उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जा 
४३. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. १३ अर्ब ५३ करोड र निर्यात कर्जा रु. ८३ करोड गरी कुल रु. १४ अर्ब ३५ करोड ९९ लाख पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण पुनरकर्जा रु. ६ अर्ब २२ करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब ३० करोड गरी जम्मा रु. ७ अर्ब ५२ करोड पुनरकर्जाको उपयोग भएको थियो । 
४४. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ जेठ मसान्तसम्म कुल रु. ८१ करोड ६५ लाख पुनरकर्जा स्वीकृत भएको छ । यसबाट ३८२ जना लाभान्वित हुने भएका छन् । 
४५. वाणिज्य बैंकहरूले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७४ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १७.५ प्रतिशत रहेको छ । 

तरलता व्यवस्थापन 
४६. आर्थिक वर्ष २०७४ को एघार महिनासम्ममा खुला बजार कारोबारमार्फत्रु. ६१ अर्ब तरलता प्रवाह भएको छ । यस अन्तर्गत रिपो बोलकबोल (ब्याजदर करिडोर अन्तर्गतको रु. ५ अर्ब ४० करोड सहित) मार्फत् कुल रु. ३३ अर्ब २१ करोड र सोझै खरीद बोलकबोलमार्फत रु. २७ अर्ब ७९ करोड तरलता प्रवाह भएको छ । साथै, समीक्षा अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले रु. ६२ अर्ब ३९ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । 
४७. आर्थिक वर्ष २०७४ को एघार महिनासम्मको अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ७४ करोड खुद खरिद गरी रु. ३९८ अर्ब ३३ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब खुद खरिद भई रु. ४२३ अर्ब ९० करोड खुद तरलता प्रवाह भएको थियो । 
४८. आर्थिक वर्ष २०७४ को एघार महिनासम्ममा खुलाबजार कारोबारमार्पmत् रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन गरिएको छ । यस अन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप बोलकबोलमार्पmत् रु. २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् रु. ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्पmत्रु. ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्पmत्क्रमशः रु. २९७ अर्ब ५० करोड, रु. २१० अर्ब ९५ करोड र रु.९ अर्ब १० करोड गरी जम्मा रु. ५१७ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको थियो । 
४९. समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ७२ करोड र यूरो १२ करोड बिक्री गरी रु. ४१० अर्ब ५७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड र यूरो ११ करोड बिक्री गरी रु. ३४२ अर्ब ८० करोड बराबरको भा.रु. खरिद भएको थियो । 

अन्तर–बैंक कारोबार 
५०. आर्थिक वर्ष २०७४ को एघार महिनासम्ममा वाणिज्य बैंकहरूले रु. १००६ अर्ब ६० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ३६० अर्ब ७८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ८६२ अर्ब १७ करोड र रु. ९४ अर्ब ८२ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५१. २०७३ जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.१२ प्रतिशत रहेकोमा २०७४ जेठमा १.०३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७३ जेठको ०.३६ प्रतिशतको तुलनामा २०७४ जेठमा २.४६ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७३ जेठको २.५५ प्रतिशतको तुलनामा २०७४ जेठमा ४.४८ प्रतिशत रहेको छ । 
५२. २०७४ जेठमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जेठमा यस्तो ब्याजदर अन्तर ५.९ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ जेठको ६.३ प्रतिशतको तुलनामा २०७४ जेठमा ९.४ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ असार २० गतेसम्म कुल १५५ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम भएका छन् । 

पूँजी बजार 
५४. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १.८ प्रतिशतले ह्रास आई २०७४ जेठ मसान्तमा १,५८४.५ विन्दुमा पुगेको छ । २०७३ जेठ मसान्तमा उक्त सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.९ प्रतिशतले वृद्धि भई १,६१४.२ विन्दु कायम भएको थियो । २०७३ असार मसान्तमा भने नेप्से सूचकाङ्क १७१८.२ विन्दु पुगेको थियो । 
५५. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ६.५ प्रतिशतले वृद्धि भई २०७४ जेठ मसान्तमा रु. १,८५३ अर्ब ७७ करोड पुगेको छ । बजार पूँजीकरण अघिल्लो वर्षको सोही अवधिमा ८१.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७१.३ प्रतिशत रहेको छ । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८५.३ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.३ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.३ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ६.४ प्रतिशत रहेको छ । 
५६. समीक्षा अवधिमा कुल सेयर कारोबार रकममा ५४.३ प्रतिशतले ह्रास आई रु. १३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कारोबार रकममा ६४२ प्रतिशतको उल्लेख्य वृद्धि भई रु. ३० अर्ब ०८ करोड पुगेको थियो । 
५७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ जेठ मसान्तसम्ममा २१२ रहेको छ । २०७३ जेठ मसान्तमा यस्तो संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १६९ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । 
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.४ प्रतिशतले वृद्धि भई २०७४ जेठ मसान्तमा रु. २८३ अर्ब १६ करोड पुगेको छ । आर्थिक वर्ष २०७४ को एघार महिनामा रु. ४ अर्ब ६७ करोड बराबरको साधारण सेयर, रु. १८ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर, रु. ३५ अर्ब ९ करोड बराबरको बोनस सेयर, रु. ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र रु. १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी कुल रु. १२१ अर्ब ८५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *