July 17th, 2017

सेयर नामसारी कसरी गर्ने ? (हेर्नुहोस सरल तरीका)

पछिल्लो समय जलविद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिन थाले पछि ग्रामिण भेगमा सेयरधनीको संख्या निरन्तर बढ्दो छ । परिवारका धेरै जनाको नाममा सेयर लिए पनि एकै जनाको नाममा एकमुष्ठ राख्ने अधिकांशको चाहना हुन्छ । तर, त्यसरी नामसारी गर्ने उपायबारे सर्वसाधारण अनविज्ञ छन् । 

कसरी गर्ने नामसारी ?
साधारणतया कानुन अनुसार अंश हक लाग्नेलाई दोस्रो बजारमा कारोबार नगरि सेयर नामसारी गरिदिन मिल्छ । एकाघर सेयर र मृत्यु नामसारी गरि दुई किसिमले सेयर हस्तान्तरण हुने गरेको छ । एकाघर भन्ने बित्तिकै तीन पुस्ता भित्र घरयासी नामसारी भन्ने बुझिन्छ । यसको लागि स्टक स्क्सचेन्जको कार्यलयमा लिने र दिने दुवै जना नागरिकताको प्रमाणपत्र र सेयरको कागजात सहित उपस्थित भइ फर्म भर्नु पर्छ । सम्बन्धित सेयर कम्पनीले १५ दिन देखी १ महिना भित्र नामसारी गरिदिन्छन् । नाबालकको नाममा नामसारी गर्दा जन्मदर्ताको प्रमाणपत्र ल्याई आमा वा बावुलाई संरक्षक राखेर सिफारिस गरिन्छ ।

मृत्यु नामसारीमा भने मृतकको दर्ता प्रमाणपत्र र सेयरको कागजपत्र सहित नेप्सेमा नजिकको हकवालाले निवेदन दिनु पर्छ । मृत्यु नामसारी गर्न आउँदा एक जना साक्षी समेत ल्याउनु पर्ने प्रावधान छ । त्यसपछि सेयर रहेको कम्पनी या उसको सेयर रजिष्ट्रारले ३५ दिने सूचना निकालेर हकदावी गर्ने अरु कोही भए निवेदन दिन आह्वान गर्छ । कोही हकदावी गर्ने व्यक्ति आएन भने नामसारीको प्रक्रिया अघि बढ्छ ।

जति धेरै सेयर उति कम शुल्क
घरायसी नामसारी गर्न कित्ताअनुसार एक देखी तीन प्रतिशतसम्म शुल्क लाग्छ । जति धेरै सेयर भयो उति नै कम शुल्क लाग्छ । १ देखि ५० कित्ता सम्म ३ प्रतिशत शूल्क लाग्छ भने ५१ देखि २०० कित्तासम्म नामसारी गर्नुपरेमा २ प्रतिशत शुल्क बुझाउनुपर्ने प्रावधान छ । त्यस्तै, २०१ देखि १००० कित्तासम्मका लागि १.५ प्रतिशत र १००० भन्दा धेरै कित्ता सेयर नामसारी गर्दा १ प्रतिशत शुल्क तिर्नुपर्छ । मृत्यु नामसारीमा भने ५०० कित्तासम्म ०.५ प्रतिशत र ५०१ देखि बढी कित्ता अनुसार ०.३ प्रतिशत सम्म शुल्क लाग्छ । मृत्यु नामसारीमा सम्बन्धित कम्पनीले सूचना निकालेको शुल्क बापत भने पाँच सय देखि एक हजार पाँच रुपैयाँ सम्म लाग्छ । दुबैमा कम्पनीको सेयर मूल्य जति लागे पनि पुँजीगत लाभकर तिर्नु पर्दैन । 

यदि एकभन्दा बढी व्यक्तिले हकदावी गरेमा उनीहरुको सहमति नभई कसैको पनि नाममा नामसारी गर्न मिल्दैन । अन्यथा एक दुई वा तीन जति जनामा पनि नामसारी गर्न सकिन्छ । सेयरधनीको मृत्यु भएमा नामसारी अनिवार्य हुन्छ । काठमाडौँ स्थित नेप्से कार्यालयबाट मात्रै सेयर नामसारी गराउन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]