July 17th, 2017

चेपाङ गाउँको घरघरमै बैंक

पूर्वी चितवनको कालिका नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैङ्क स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना अघि सारेको छ । आगामी वर्षका लागि रू. ३७ करोड ५८ लाख ५० हजारको बजेट प्रस्तुत गरेको नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैङ्क प्रणालीबाट सहज रूपमा सो रकम उपलब्ध गराउने योजना ल्याएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए ।

ज्येष्ठ नागरिक, असहाय, वृद्धलाई दिइने भत्ता वितरण जुटपानी र पदमपुर क्षेत्रलगायत बैङ्कको पहुँच भएको ठाउँमा बैङ्कबाटै रकम उपलब्ध गराइने तर शक्तिखोर तथा सिद्धिमा बैङ्कको पहुँच नभएको चेपाङ गाउँमा भने घुम्ती बैङ्क सञ्चालन गरिने उनको भनाइ छ । यस नगरभित्र कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिई कार्य थालनी गरिने नगरपालिकाले बताएको छ । आधुनिक कृषि प्रणालीमार्फत खेती गर्न किसानलाई प्रेरित गर्ने खालका कार्यक्रम ल्याइने श्रेष्ठले बताए ।

चितवनको जुटपानी, शक्तिखोर, सिद्धि र पदमपुर गाविस मिलाई कालिका नगरपालिका स्थापना भएको हो । नगरपालिकाले आगामी वर्ष आम्दानीतर्फ वित्तीय हस्तान्तरणबाट रू. ३४ करोड ८८ लाख ५० हजार र आन्तरिकतर्फ एकीकृत सम्पत्ति कर तथा अन्य कर दस्तुरबाट आम्दानी हुने अनुमानसहित बजेट प्रस्तुत गरेको छ ।

पर्यटकीय सम्भावना बोकेको चित्राम झरना, सिन्थी झरना, पोखरी र खोलालाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने नगरपालिकाको योजना छ । युवा, वृद्ध, महिला, बालबालिका तथा सबै जात जातिलाई समेट्दै बहुजातीय सङ्ग्रहालय बनाइने कार्यक्रममा उल्लेख छ ।

बढ्दै गएको जग्गा प्लटिङलाई तत्काल रोक लगाई मापदण्ड तयार गरी लागू भएपछि मात्र जग्गा प्लटिङ गर्न पाइने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले बताए । यसै नगरपालिकाको शक्तिखोर क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्रको व्यवस्थापन र निर्माणमा समन्वयका लागि नगरपालिका लागिपरेको जनाइएको छ । टाँडी–जुटपानी हुँदै शक्तिखोरबाट हुग्दी सडक निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगर उपप्रमुख कमला भट्टराईले बताएका छन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]